जलवायु परिवर्तनको चपेटामा कर्णाली
सुर्खेत: कर्णाली प्रदेश जलवायु परिवर्तनको चपेटामा छ । कृषि, जलस्रोत, वनस्पतिमा जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव देखिएको छ । कृषि र वनस्पतिमा मात्र नभइ प्रदेशका नागरिकको जीवनयापनमा समेत असर देखिन थालेको विज्ञहरू बताउँछन् ।
अनुसन्धानकर्ता भुपेन्द्र शाहीले पछिल्लो समय हिमाली क्षेत्रका नदिनाला सुक्दै जानु, हिउँ पर्ने क्रम पनि कम हुनु, खेतिबालीमा रोगकिराको प्रकोप बढ्नु जलवायु परिवर्तनको असर भएको बताए । उनले भने, ‘हिमालको हिउँ पग्लने क्रम बढ्दैछ, हिउँ पर्ने क्रम रोकिएको छ । सानातिना नदिनाला सुक्दै गइरहेका छन् । बढ्दो तापक्रमले परिवर्तन ल्याएको छ । यसमा कर्णाली जलाधारमा पनि प्रत्यक्ष प्रभाव देखिन्छ ।’
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले जलवायु परिवर्तनले पार्ने असरहरूमा कर्णाली अग्रपंक्तिमा रहेको बताए । ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा छ’ उनले भने, ‘त्यसमा कर्णाली झनै विशेष छ । हिमाली जिल्लाहरूमा हिमताल बढेका छन् । जसले गर्दा बाढी आउने सम्भावना बढी छ ।’ पछिल्लो समय मनसुन परिवर्तनसँगै पानीको मात्रा घटबढ भइरहेको उनले बताए । ५/६ दिनमा पर्ने पानी एकैदिनमा पर्ने र त्यसले ठूलो क्षति गर्ने गरेको उनले जानकारी दिए । जलवायु परिवर्तनमा देखिएको असर न्यूनीकरणका उपायका बारेमा अनुसन्धान आवश्यक रहेको शर्माको भनाइ छ । जलवायु परिवर्तनको असर शिक्षा, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा देखिएको उनले बताए ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव गोपीकृष्ण खनालले आउँदो बजेटमा जलवायु परिवर्तन न्यूनीकरणका कार्यक्रमका लागि बजेट थप गरिने बताए । कर्णाली जलवायु परिवर्तनको जोखिममा रहेको भन्दै यसको न्यूनीकरण कम गर्न कार्यक्रम ल्याउन आवश्यक रहेको जनाए । उनले भने, ‘जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा असर पारेको छ । यसको न्यूनीकरण गर्न स्थानीय सरकारसँग मिलेर काम अघि बढाउछौँ ।’
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा बढी परेको बताए । ‘सरकारले विनाअध्ययन हचुवाका भरमा लगानी गर्दा उत्पादनमा ह्रास आइरहेको छ’ उनले भने, ‘यहाँ जलवायु परिवर्तनले सबैभन्दा बढी कृषि क्षेत्रमा असर पारेको देखिन्छ ।’ जलवायु परिवर्तनले उत्पादनमा ह्रास, रोजगारी गुम्नु, बाढी पहिरो, अतिवृष्टि, अनावृष्टि, खडेरी र भोकमरी लगायतका समस्या देखापरिरहेको उनले बताए ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका वरिष्ठ डिभिजन इन्जिनियर रमेश सुवेदीले जलवायु परिवर्तनका असर र यसका असरलाई कम गर्न समुदायमा सचेतनाका कार्यक्रम आवश्यक रहेको बताए । ठाउँठाउँमा भइरहेका पूर्वाधार विकासले झनै जोखिम बढेको उनी बताउँछन् । मानविय क्रियाकलापले गर्दा ठूलो क्षति भइरहेको उनको भनाइ छ ।
पछिल्ला वर्षहरूमा कृषि उत्पादनमा ह्रास आएको छ । नयाँ खालका रोगहरू देखा पर्न लागेका छन् । यसले कर्णाली प्रदेशको कृषि उत्पादन घट्दै गएको छ । जलवायु परिवर्तनको असर कृषि पर्दा उत्पादन घट्दै गएको पाइएको हो । प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाया कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परिरहेको बताउँछन् । बाढी–पहिरोले खेतियोग्य जमिन बगाएको छ । फलफूलमा विभिन्न किसिमका रोगकिराको प्रकोपले गर्दा उत्पादन घटेको छ । रोकाया भन्छन्, ‘फल्ने समयभन्दा अगाडि नै फलफूल फूल्ने, दाना लाग्ने भइरहेको छ । जसले गर्दा उत्पादन र गुणस्तर कम हुन्छ ।’ अहिले आँपका फलमा विभिन्न किसिमका समस्या देखिएका छन् । उनका अनुसार बोटमा लटरम्म आँप फलेको भएपनि कृषकहरूले बिक्री गर्ने समयमा दानाहरू तौल कम र कम स्वादिष्ट हुने गरेको छ । उनले भने, ‘सिजनअनुसार गहुँ बालीमा गुलावी गभारो, मकैमा फौजी, धानको डाँठमा सेतो भएर सुक्ने, गोलभेडाको दानाभित्र कालो भएर कुइनेजस्ता विविध बाली तथा फलफूलहरूमा समस्याहरू बढिरहेका छन् ।’
हिमाली क्षेत्रहरूमा हिमतालहरू फुट्ने र खेतियोग्य जमिनमा क्षति पुगेको छ । जलवायु परिवर्तनको असरले गर्दा कृषि बाली र पशुपक्षीमा समेत विभिन्न किसिमका रोग फैलिएका छन् । उनले भने, ‘जलवायुको चपेटामा कृषि क्षेत्र परिरहेको छ । समयमा वर्षा नहुने, भइहाले ठूलै क्षति गर्ने, तापक्रम बढ्दा कृषि क्षेत्रका विभिन्न प्रजातिका रोगहरू देखिरहेको छ ।’
मानव सुरक्षाका लागि जलवायुसम्बन्धी गर्न सकिने स्थानीय कार्यहरूको विषयमा वीरेन्द्रनगरमा छलफल गरिएको छ । सरोकारवालाहरूबीच गरिएको छलफलमा जलवायु परिवर्तनका असरबारे समुदायस्तरमा सचेतना कार्यक्रम गर्न सुझाव दिइएको छ । स्थानीयस्तरको अनुकलन तथा सम्वोधनका लागि स्थानीय अनुकलन योजना बनाउनुपर्नेमा जोड दिइएको हो । अनुकलनमैत्री नीति तथा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइएको छ । कृषि उत्पादनमा ह्रास, रोजगारी गुम्नु, बाढी पहिरो, खडेरी, भोगमरी, पानीका मूल सुक्नु, खानेपानीको अभाव, लामखुट्टे हिमालमा पनि देखिनु, कृषि प्रर्णालीमा असर देखिएको सरोकारवालाले बताएका छन् ।
प्रकाशित मितिः २० बैशाख २०८०, बुधबार ०५:०५
साझा बिसौनी ।