समृद्धिको आधार

देशमा पुनः प्रादेशिक सीमांकनको बहस चलिरहेको छ । सरकारले प्रदेश नम्बर ५ लाई विभाजन गरेको छ । यो प्रदेशका पहाडी र तराईका जिल्लाहरू अलग गर्ने प्रस्ताव संसदमा दर्ता भएको छ । यही विषयले देशको राजनीति तातेको छ । संसदमा दलहरूबीच रस्साकस्सी भइरहेको छ । अर्कोतर्फ प्रदेश विभाजन गरिएको विरोधमा सो क्षेत्रका जनता आन्दोलनमा छन् । प्रदेश पुनः सीमांकनकै विषयलाई लिएर देशको राजनीति तातेको बेला आन्दोलनकै बलमा स्थापित भएको प्रदेश नम्बर ६ भने समृद्धिको खाका कोर्न थालेको छ । सरकार, संसद र दलका शीर्ष नेताहरू पुनः सीमांकनको विषयमा केन्द्रित भइरहँदा ६ नम्बर प्रदेश भने आर्थिक रूपमा समृद्ध बन्ने उपायको खोजीमा जुटेको छ । वास्तवमा प्रदेश ६ का लागि यो सुखद् पक्ष हो । तर पनि आर्थिक रूपमा कमजोर मानिएको र तराइको नाका नभएको यो प्रदेशका लागि समृद्ध बन्ने सपना आफैमा कठिन छ । यो सपनालाई साकार पार्न सहज पनि छैन । तर पनि यो प्रदेशमा धेरै सम्भावनाहरू पनि छन् । जसको सदुपयोग गर्नसकेमा देशकै नमूना प्रदेश बन्नेमा कुनै शंका छैन ।

वास्तवमा यो प्रदेशको समृद्धिका लागि धेरै सम्भावनाहरू छन् । तर पर्यटनको विकास नै समृद्धिको एकमात्र हतियार भएकोमा यहाँका राजनीतिक दल, सरकारी र निजी क्षेत्रको निश्कर्ष छ । प्रदेश अन्तर्गत मुगुको रारा, डोल्पाको फोक्सुण्डो, सुर्खेतको बुलबुले र सल्यानका कुपिण्डे तालले लाखौं पर्यटक लोभ्याउने छन् । यी तालहरूको सुन्दरता बेचेर नै प्रदेशको अर्थतन्त्रलाई थेग्न सकिने सम्भावना छ । यस वर्ष यी तालहरूको अवलोनका लागि पुगेका पर्यटकहरूको घुइँचोलाई हेर्दा पनि यो सम्भावनालाई पुष्टी गरेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण तालहरू देखाएर ठूलो मात्रामा पर्यटक र आम्दानी भित्राउन सक्ने सम्भावना छ । त्यसका लागि लगानी र प्रचार गर्न आवश्यक छ । सुर्खेतमा रहेको ऐतिहासिक काँक्रेविहार, दैलेखको पञ्चदेवल र ज्वाला क्षेत्र तथा मानसरोवरमा पनि पर्यटनको सम्भावना उल्लेख्य छ । यी क्षेत्रको विकास र प्रचार भएमा धार्मिक पर्यटन फस्टाउने छ । पर्यटक आकर्षण गर्नका लागि यहाँ धेरै दुःख गर्नुपर्ने अवस्था छैन । प्राकृतिक रूपमा रहेका सम्पदाहरूमा लगानी गर्दै प्रचारमा ल्याउन सकेमा मात्र बाहिरबाट लाखौं पर्यटक भित्रिने छन् । अर्कोतर्फ कर्णालीको परम्परागत संस्कृति र जुम्लामा रहेको नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रले पनि पर्यटनको सम्भावना बोकेको छ ।

यस्तै यहाँ जल पर्यटनको पनि अध्याधिक सम्भावना छ । दुई ठूला नदी भेरी र कर्णालीमा जलयात्रा सञ्चालन गर्नसकेमा विदेशी पर्यटकहरूलाई पनि ल्योभ्याउन सक्ने अवस्था छ । समग्रमा यो प्रदेशमा धार्मिक तथा जल पर्यटनको खानी नै छ । यसलाई उपभोग गर्न सकेमा प्रदेशको अर्थतन्त्रलाई नै आत्मनिर्भर बनाउन सकिने अवस्था छ । त्यसका लागि यहाँका राजनीतिक दलहरूको पनि प्रतिबद्धता आवश्यक छ । लगानीमैत्री वातावरण निर्माणमा जुट्नुपर्ने अवस्था छ । पर्यटन नै यो प्रदेशको कायापलट गर्ने मुख्य औजार हो । आर्थिक मापनमा कमजोर मानिएको यो प्रदेशको आर्थिक भविष्य यहाँको पर्यटनले थेग्नेछ । तर त्यसका लागि राज्यबाट लगानी जरुरी छ । पर्यटनमा लगानी भएको खण्डमा बाहिरबाट रकम भित्रिनेछ । यहाँ रोजगारी सिर्जना हुनेछ । आर्थिक रूपमा यो प्रदेश देशकै सक्षम प्रदेश हुनेछ । समग्रमा प्रदेश ६ को अर्थतन्त्र थेग्नका लागि यहाँको पर्यटनको सम्भावना भएको क्षेत्रमा लगानी अनिवार्य छ ।

प्रकाशित मितिः   ३ माघ २०७३, सोमबार ११:२४