भूकम्प प्रतिरोधी घर बनाउने बढे

सुर्खेतमा पछिल्लो समय भूकम्प प्रतिरोधी घरहरू बनाउने क्रम बढेको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले देशभर ठूलो क्षति पु¥याएपछि सम्भावित भूकम्पको सुरक्षाको लागि पछिल्लो समय भूकम्प प्रतिरोधी घर बनाउनेको संख्यामा वृद्धि भएको हो ।

वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रतिरोधी घर बनाउने नयाँ मापदण्ड बनाएसँगै भूकम्प प्रतिरोधी घर बनाउनेको संख्या बढेको हो । वीरेन्द्रनगर नगरपालिकाले दिएको जानकारी अनुसार सरकारी तथा निजी गरी यो आर्थिक वर्षमा भूकम्प प्रतिरोधी घरहरूको संख्या दुई सय तीन पुगेको छ भने एक सय वटा नक्सा पास भएका छन् । सुर्खेतमा अहिले साना ठूला गरी करिब २० हजारको संख्यामा घरहरू रहेका छन् । तीमध्ये अधिकांश घरहरू भने भूकम्प प्रतिरोधी नभएको जनाइएको छ ।

नगरपालिकाको नापी विभागका सव–इन्जिनियर किशोर कँडेलका अनुसार सुर्खेतमा पछिल्लो समय भूकम्प प्रतिरोधी घर बनाउनेको संख्या बढेको छ । सुर्खेतमा निर्माण भएका नयाँ कार्यालय सबै भूकम्प प्रतिरोधी भएको भन्दै उनले पहिले बनेका घरहरू भने नयाँ मापदण्ड अनुसार भूकम्प प्रतिरोधी नभएको बताए । पछिल्लो मापदण्ड अनुसार सुर्खेतका अधिकांश पूराना घरहरू भूकम्प प्रतिरोधी नभएको पाइएको छ ।

सुर्खेतमा पछिल्लो समय बनाइएको सरकारी कार्यालयहरूमध्ये उच्च अदालत, जिल्ला प्रहरी कार्यालय लगायतका केही संरचनाहरू भूकम्प प्रतिरोधी बनेका छन् । पछिल्लो समय बनेका घरहरू पिलर सिस्टममा बनाइएका छन् जसलाई भूकम्प प्रतिरोधी मानिन्छ । भने लोड व्यारिङ सिस्टममा भएका घरहरूलाई भूकम्प प्रतिरोधी नभएको मानिन्छ ।

पूर्वी नेपालमा ६ सय ७९ वर्ष अन्तरालमा भुइँचालो गएको देखिन्छ भने पश्चिम नेपालमा ठूलो भुइँचालो नगएको पाँच सय वर्ष नाघिसक्यो । मध्य क्षेत्रमा भने ६ देखि ७ म्याग्निच्यूट हाराहारीका भुइँचालो प्रत्येक ५० सय वर्ष अन्तरालमा गइरहेका छन् । काठमाडौंमुनी अड्किएको शक्ति पनि ५०–१०० वर्ष समय लगाएर विस्तारै फुक्दै जाने सम्भावना रहेको विगतको भुइँचालो इतिहासले देखाउँछ । यसले गर्दा नेपाल भूकम्पबाट अझै असुरक्षित मानिन्छ ।

त्यसैले भूकम्पबाट सुरक्षित रहनका लागि सरकारले नै भूकम्प प्रतिरोधी घर निर्माणका लागि प्रेरित गर्दै आएको छ । वीरेन्द्रनगर नगरपालिकाले अब बन्ने नयाँ घरका लागि अनिवार्य रूपमा भूकम्प प्रतिरोधी बनाउनका लागि मात्रै नक्सा पास गर्ने गरेको छ ।

प्रकाशित मितिः   ३ माघ २०७३, सोमबार ११:१८