सामुदायिक विद्यालयमा समस्याका चाङ

जिल्ला शिक्षा कार्यालय सुर्खेतले गत मंसिर २९ गते वीरेन्द्रनगरका १५ वटा सामुदायिक विद्यालयमा छड्के अनुगमन ग¥यो । त्यसको करिब एक महिनापछि पुस २० गते वीरेन्द्रनगरकै थप १९ वटा विद्यालयमा पनि अनुगमन गरियो । दुवै पटकका अनुगमनपछि शिक्षा कार्यालयले तयार पारेको प्रतिवेदन हेर्ने हो भने यहाँका सामुदायिक विद्यालयको अवस्था दर्दनाक छ ।

जिल्ला सदरमुकाम वीरेन्द्रनगरकै सामुदायिक विद्यालयमा समस्याका चाङ छन् । जसमा भौतिक पूर्वाधारको अभावदेखि शिक्षकको अभावसम्म छन् । विद्यालयको शैक्षिक अवस्था, आर्थिक अवस्था तथा भौतिक अवस्था लगायतको अनुगमन गर्दा समस्याका चाङ फेला परेका हुन् । विद्यालयहरूमा सुधार गर्नुपर्ने कुरा धेरै भएको जिल्ला शिक्षा कार्यालयले ठहर गरेको छ ।

यहाँका विद्यालयहरूमा पर्याप्त भौतिक पूर्वाधार नै छैनन् । कतिपय विद्यालयमा फर्निचरकै अभाव देखिएको छ भने कतिपयमा खानेपानी र शौचालय समेत व्यवस्थित छैनन् । भवनहरू जीर्ण अवस्थामा छन् । केही विद्यालयका आवश्यक भवन र कक्षा कोठा नै छैनन् । सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बजेट अभावका कारण पर्याप्त भवन निर्माण गर्न नसकिएको बताए । उनले सुर्खेतमा विद्यालयको संख्या बढी भए पनि अन्य जिल्लाहरूलाई जस्तै दामासाही रूपमा कम बजेट आउने हुनाले समस्या भएको जनाए । सुर्खेतमा हाल पाँच सय १५ वटा सामुदायिक विद्यालय छन् ।

मसिनो गरी केलाउँदै जाने हो भने यहाँका सामुदायिक विद्यालयहरूमा यस्ता समस्या थुप्रै छन् । तर जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह सबैभन्दा प्रमुख समस्या काजले निम्त्याएको बताउँछन् । सदरमुकाम बाहिरका विद्यालयमा दरबन्दी भए पनि सदरमुकाममा कार्यरत शिक्षकहरूको संख्या ठूलो रहेको भन्दै उनले यसको अन्त्य गर्नुपर्ने बताए ।

विद्यालयहरूले एकातर्फ जनशक्ति र भौतिक पूर्वाधारको अभाव झेलिरहेका छन् भने शिक्षकहरूकै लापरबाहीले पनि सामुदायिक विद्यालयको गुणस्तर खस्किदैं गएको बताइन्छ । शिक्षकहरू नियमित विद्यालय नै उपस्थित नहुने गरेको पाइएको छ । जिल्ला शिक्षाले गरेको पहिलो अनुगमनका क्रममा १५ विद्यालयका ३४ जना शिक्षक अनुपस्थित थिए भने दोस्रो अनुगमनमा १९ विद्यालयका ५० जना शिक्षक अनुपस्थित थिए । यसले केही शिक्षकहरूले आफ्नो जिम्मेवारीप्रति नै लापरबाही गरेको जिशिअ शाहले बताए । उनले ती शिक्षकहरूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिए ।

विद्यालयको सरसफाइको अवस्था पनि सन्तोषजनक नरहेको कार्यालयले जनाएको छ । त्यसैगरी शैक्षिक सामग्रीको पनि अभाव देखिएको छ । यसले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा समस्या आउने कार्यालयको ठम्याइ छ । धेरै विद्यालयहरूले विद्यालयको सामाजिक परीक्षण र लेखापरीक्षण गर्न बाँकी रहेको, अधिक विद्यालयमा एकोहोरो लेखा प्रणाली र छात्रवृत्ति वितरण समेत नभएको पाइएको छ । विद्यालयको शैक्षणिक योजनामा कमी, शिक्षण सुधार योजना नबनेको, पाठ्यक्रम र सामग्रीको न्यून प्रयोग गर्ने गरिएको, प्रधानाध्यापकहरूबाट अवलोकन न्यून हुने गरेको, विद्यालय सुधार योजना अद्यावधिकमा कमी, कार्यान्वयनमा कमी भएको पाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

यस्तै नतिजा विश्लेषण कमी, अधिकांश शिक्षण विधि परम्परागत रहेको पाइएको छ । प्रशासनिक अभिलेखीकरणमा कमजोरी, बैठकमा शैक्षिक एजेण्डा उठाइएको, शिक्षकको कार्य विभाजन ठीकै, सह–क्रियाकलाप अपर्याप्त रहेको पाइएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले जानकारी दिए । त्यसैगरी विद्यालयहरूमा शौचालय प्रयोग र सरसफाइमा कमी, खेलमैदानको अभाव, सिकाइ उपलब्धि नबढेको, शुद्ध पिउने पानीको समस्या, प्राविमा विद्यार्थी संख्या कमी, स्टाफ समन्वयमा कमी, अभिभावकको चासोमा कमी, अभिलेखीकरणमा समस्या, दरबन्दीमा रहेका शिक्षकहरूबाट अंग्रेजी माध्यममा पठनपाठनमा समस्या रहेको पाइएको छ ।

यस्ता समस्याहरूले गर्दा सामुदायिक विद्यालयको गुणस्तरमा लगानी अनुसार वृद्धि हुन नसकेको जनाइएको छ । यद्यपि समस्या समाधानका लागि सक्दो प्रयास भइरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ३ माघ २०७३, सोमबार ११:२७