साझा संवाद

संघीय बजेटमा कर्णालीले प्राथमिकता पाउँछ

राष्ट्रियसभा सदस्य नन्दा चपाईं भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री हुन् । नेकपा (एकीकृत समाजवादी) की सांसद चपाईं मन्त्री बनेलगत्तै गृहजिल्ला अवलोकनमा आएकी छिन् । जिल्लाको समस्या बोकेर काठमाडौं फर्कने र समस्या समाधानका लागि पहल गर्ने उनी बताउँछिन् । यसै सन्दर्भमा सहकर्मी रजनी योगीले चपाईंसँग गरेको संक्षिप्त कुराकानी:

 

  • राज्यमन्त्रीको रूपमा तपाईंको भूमिका र जिम्मेवारी के हुन्छ ?

मन्त्रालयमार्फत् गरिने जनपक्षीय काममा मेरो भूमिका रहन्छ । ती कामहरूका बारेमा कसरी अगाडि बढ्ने भन्ने बारेमा हाम्रो छलफल हुँदैछ । जनताको बिचमा प्रत्यक्ष देखिने विकासका कामहरूमा सडक निर्माण, विद्युत र विभिन्न भौतिक संरचना निर्माणका कामहरू छन् । ती काम गर्न सक्ने स्थानमा म अहिले पुगेको छु । देशकै राज्यमन्त्री भएको हैसियतले देशकै समस्या समाधान हुने खालका काम गर्ने मेरो जिम्मेवारी छ । पहिलो त आफू जन्मेको ठाउँको अवलोकन गर्छु, प्रदेशको अवलोकन गर्छु, प्रदेशमा के–कस्ता समस्या छन्, त्यसको पहिचान गरेर काम अघि बढाउँछु । देश विकासको पहिलो आधार भनेको सडक नै हो, दोस्रो कुरा शिक्षा, स्वास्थ्यलगायत छन् । पूर्वाधारका क्षेत्रमा आफ्नो जिम्मेवारीमा रहेर मैले यी काम गर्नेछु । कतिसम्म जनताको पक्षमा काम गर्न सकिन्छ त्यहीँ ढङ्गले अगाडि जाने योजना छ । पूर्वाधारका क्षेत्रमा रातदिन नभनी काम गर्ने प्रतिबद्धताका साथ लागेको छु । कहाँसम्म पुगिन्छ, केही समय काम गरिसकेपछि भनौला ।

 

  • विकासमा पछि परेको क्षेत्रबाट प्रतिनिधित्व गर्दै मन्त्री हुनुभएको छ, सुर्खेत र त्यसमा पनि पश्चिम सुर्खेतले के लाभ पाउँछन् ?

पश्चिम सुर्खेतका नागरिकले धेरै लाभ पाउनेछन्, राज्य भएको अनुभूति गर्नेछन् । त्यहाँका जनताले जुन आशाले मलाई जिम्मेवारी दिनुभएको छ म त्यो पूरा गर्नेछु । नागरिकले अहिले भोगिरहेका समस्या समाधान गर्ने प्रतिबद्धता म व्यक्त गर्न चाहान्छु । पूर्वाधार विकासमा मेरो ध्यान रहनेछ । म जन्मेको, हुर्केको, खेलेको ठाउँ, जहाँ सबैभन्दा कम विकास भएको छ । सडककै कुरा गर्नुपर्दा धेरै पटक विभिन्न पार्टीले चुनावी प्रतिबद्धता गरे तर त्यो बाचा पूरा गर्न सकेनन् । म मेरो क्षेत्रमा बाह्रै महिना गाडि गुड्ने बनाउनेछु । केन्द्रमा बजेटको पनि तयारी गर्ने बेला छ । यहाँको समस्यालाई केन्द्रमा लिएर जाने छु । पश्चिम सुर्खेत क्षेत्रको समस्या समाधान गरेरै छाड्नेछु । यो मेरो वाचा हो, प्रतिबद्धता भयो ।

 

  • संघीय सरकारबाट कर्णाली सधैं उपेक्षामा पर्ने गरेको छ, यसपटकको बजेट र योजनामा कर्णालीले प्राथमिकता पाउला ?

यसपटक अवश्य प्राथमिकता पाउनेछ । पाउनुपर्छ । पाँच वर्षको मेरो सदनको अनुभव जो छ, यो अनुभवले मैले त्यहाँ विकास निर्माणको कुरा हेरिरहँदा सबैभन्दा कम बजेट परेको कर्णाली हो । कर्णालीलाई अन्य प्रदेशको तुलना गर्न मिल्दैन । यहाँ विशेष बजेट र योजना आवश्यक पर्छ । यस विषयमा म डटेर लाग्ने छु । यतिबेला बजेट बनाउने काम भइरहेको छ । कर्णाली भौगोलिक अवस्था र केन्द्र सरकारको नजरमा टाढा रहेकै कारण विकास हुन सकेको छैन । हरेक योजना र बजेट प्राथमिकतामा राखेर हामी अघि बढ्छाँै । कर्णालीमा भएका संरचनाको सदुपयोग हुन नसक्दा पनि कर्णाली परेको छ । म त के भन्छु भने कर्णालीको विकास हुन भौतिक प्रगति आवश्यक छ । यतिबेला कर्णाली प्राथमिकतामा नपरे कहिले पर्ला ? यो पटक कर्णालीका लागि ठूलो अवसर छ । मैले सम्हालेको मन्त्रालयका जिम्मेवारी सबै पूरा गर्ने बाटोमा म अघि बढिसकेको छु । यो अवस्थामा कर्णाली प्राथमिकतामा पर्छ, कर्णालीले केही ग¥यो भन्ने छाप पर्नेछ ।

 

  • कर्णालीलाई समृद्ध बनाउन पूर्वाधार विकासमा के काम गर्नुपर्छ ?

सर्वप्रथम जनतालाई प्रत्यक्ष लाभ हुने भनेको सडक सञ्जाल नै हो । पहिलो कुरा त्यो नै हो । हामीले त्यहाँबाट सुरु गर्नुपर्छ । त्यसबाहेक अरु पनि धेरै छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र महिला सशक्तिकरणलाई पनि ध्यान दिनुपर्ने हुन्छ । कर्णालीलाई समृद्ध बनाउनका लागि एउटा के छ भने विदेश जाने युवाहरूलाई रोक्ने काम हामीले यहाँ गर्न सक्नुपर्छ । राज्यले आधारभूत आवश्यकताको परिपूर्ति गनुप¥यो । त्यसपछि सडक, विद्युत, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि पूर्वाधारका काम गर्नुपर्छ । केहि विज्ञको सुझावका आधारमा समेत सरकार अघि बढ्नेछ ।

 

  • मुलुकको समृद्धिका लागि खास चुनौति के हुन् ?

सबैभन्दा पहिले त हाम्रो देशमा विकास निर्माणका कामको कमी छ । यो ठूलो चुनौति छ । देशमा उर्जाशील श्रम गर्न सक्ने, क्षमतावान युवाहरू विदेसिदा देशको समृद्धिको कल्पना गर्न सकिन्न । देशको उर्जाशील जनशक्ति नै देशमा नहुँदा सोचेअनुसार काम गर्न सकिँदैन । देशमा बालबालिका र वृद्धवृद्धा मात्र हुदाँ कसरी समृद्धि आउन सक्ला ? देशलाई समृद्ध बनाउन युवाशक्ति देशमै रोक्न सक्नुपर्छ । जनताको आशा र विश्वासका साथ विकास निर्माणमा जुट्नुपर्ने अहिलेको आवश्यकता हो । खेतियोग्य जमिन बाँझो छ । विकास निर्माणका गतिविधि अस्थव्यस्थ यस्तो चुनौतिपूर्ण अवस्था अहिले बनेको छ । त्यसलाई छिचोलेर अघि बढ्नु छ ।

 

  • वर्तमान सरकारले देशलाई समृद्धिको बाटोमा हिँडाउन सक्छ ?

देशलाई समृद्धिको बाटोमा हिँडाउने अठोट बोकेर हामी अघि बढेका छौँ । देश समृद्धिको बाटोमा हिँड्छ जनता ढुक्क भए हुन्छ । यदि सरकार सही बाटोमा हिँड्न नसके जनताले छुट दिँदैनन् । देश प्रगतिको बाटोमा लम्किन्छ । यो देशलाई समृद्धिको बाटोमा पु¥याउनकै निमित्त हामी लागेको हो नि ! सरकार गठन गरेर अघि जानु भनेको त यो देशकै लागि केही गर्न हो नि, त्यसैले देश प्रगतिको मार्गमा छ ।

प्रकाशित मितिः   १० बैशाख २०८०, आईतवार ०५:०५