विद्यार्थी भर्ना अभियान
नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । अहिले विद्यालयहरूले विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेका छन् । यस वर्ष ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ देशभरका विद्यालयहरूमा एकैसाथ भर्ना अभियान सुरु गरिएको हो । वैशाख ३ देखि सुरु भएको अभियान १६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । यद्यपि, विद्यार्थी भर्ना भने वैशाख महिनाभर गरिने छ । विद्यालय सेवा क्षेत्रभित्रका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन भर्ना अभियान सञ्चालन गरिएको हो । विभिन्न विद्यालय तथा स्थानीय पालिकाहरूले घरदैलो र भेलामार्फत पनि अभियानलाई तीव्रता दिएका छन् ।
सल्यानस्थित शारदा नगरपालिका वडा नं. ४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयले अहिले आफ्ना सेवा क्षेत्रभित्रका टोल–टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम गरिरहेको छ । विद्यालय उमेर समूहका बालबालिकाका घरमै पुगेर विद्यालयभित्र ल्याउन उत्प्रेरण दिने गरिएको हो । शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक संघका प्रतिनिधिलगायतको टोलिले घरदैलो कार्यक्रम गरिरहेको छ । अघिल्ला वर्षहरूमा भर्ना अभियान नचलाउँदा केही बालबालिका विद्यालय बाहिर रहेकोले यस वर्ष समयमै घरदैलो गरिरहेको विद्यालयले जनाएको छ । सरोकारवालाहरू घरदैलोमै पुगेर अभिभावकहरूलाई आफ्ना बालबालिका विद्यालय भर्ना गर्न अपिल गरिरहेका छन् । यस्तै दैलेखको दुल्लू नगरपालिकाले सरोकारवालासहितको भेलामार्फत औपचारिक रूपमा अभियानको सुरुवात गरेको छ । पालिकाले वडा समितिमार्फत घरदैलो कार्यक्रम गर्ने जनाएको छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन समितिले अभियान सञ्चालन गर्नेछ । यसैगरी नगरपालिकाका प्रत्येक विद्यालयमा विद्यार्थी भर्ना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकिएको छ । अभिभावक, जनप्रतिनिधि, शिक्षक यो अभियानमा जोडिएका छन् । प्रत्येक घर–घरमा भर्ना अभियानको टोली पुगेको छ । गतवर्ष मात्र एक हजार पाँच सय बालबालिकाले बिचमै विद्यालय छोडेका थिए । यस पटक ती सबैलाई विद्यालयमा ल्याउन पहल भइरहेको जनाइएको छ । सुर्खेतको लेकवेशी नगरपालिकामा पनि ब्यानरसहित टोल–टोलमा माइकिङ गर्दै भर्ना अभियान सञ्चालन भइरहेको छ । पछिल्ला वर्षहरूमा विद्यालय भर्ना भइसकेका विद्यार्थी पनि बीचमै विद्यालय छाड्नेको संख्या बढेपछि विद्यालयमा विद्यार्थी टिकाउने गरी भर्ना अभियान सञ्चालन भइरहेको छ ।
शिक्षा पाउनु हरेक नागरिकको मौलिक हक हो । तर विभिन्न कारणले सबै बालबालिका विद्यालय जाँदैनन् । विद्यालयमा नगएका बालबालिकाहरूलाई पढाईको पहुँचमा पु¥याउनका लागि भर्ना अभियान लाभदायक हुनसक्नेछ । यसका लागि सबै स्थानीय तह तथा विद्यालयहरूले घरदैलो अभियानदेखि अभिभावक भेटघाट लगायतका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी देखिन्छ ।
प्रकाशित मितिः १० बैशाख २०८०, आईतवार ०५:०३
सम्पादकीय ।