स्थानीय तहको योजना छनोट प्रक्रिया सुरु

सुर्खेत: स्थानीय तहको योजना छनोट प्रक्रिया सुरु भएको छ । जुम्लाको चन्दननाथ नगरपालिकाले चैत्र १५ गतेदेखि योजना छनोटका काम सुरु गरेको हो । पालिकाले सबै वडाहरूमा योजनाहरू छनोट र प्राथमिकीरणको काम धमाधम गरिरहेको छ । वडाहरूमा कस्ता योजना आवश्यक छन्, कस्तो र कति रकमको योजना बनाउने भनेर टोल–टोलमा नागरिक भेलामार्फत् छलफल गर्ने गरिएको वडा नं. २ का अध्यक्ष रवीबहादुर थापाले बताए । वडाका योजना छनोट गर्न यतिबेला टोल–टोलमा पुग्ने गरेको उनले जानकारी दिए ।

नागरिकले विकास निर्माणका बाटो, खानेपानी, विद्युतजस्ता योजनालाई प्राथमिकताका साथ उठाएका छन् । थापाले भने, ‘आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता सवाल टोल भेलाबाट आएका छन् । लक्षितवर्ग विशेष कार्यक्रम समावेश गर्नुपर्ने मागसमेत आइरहेको छ । हामीले त्यस्ता विषयलाई योजनामा समेटेका छौँ ।’ समयमै बजेटको सिलिङ पालिकाले पठाएकाले वडाले योजना छनोट समयमै सम्पन्न गर्न लागेको उनले बताए । सिलिङको वरिपरी रहेर योजना छनोट गर्ने उनले जानकारी दिए ।

टोलस्तरबाटको छलफलबाट छानिएका योजनाहरू नागरिकको हितमा हुने चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए । समयमा नागरिकको अपनत्व हुनेगरी योजना छनोटको प्रक्रिया थालिएको उनले जानकारी दिए । थापाले भने, ‘अघिल्लो वर्ष छनोट भएका तर प्राथमिकतामा नपरेका योजनाहरूलाई समेत यो पटक प्राथमिकतामा राखिनेछ । त्यसो गर्दा जनतालाई हामी आफैले छानेका योजना भन्ने हुन्छ र विरोध आउँदैन ।’ सबै वडामा अहिले योजना छनोटको काम भइरहेको उनले जानकारी दिए । टोल विकास संस्थाहरूको भेला, वडा भेला, स्थानीय तहका विषयगत समितिबाट योजनाहरू पारित हुने उनले बताए ।

जुम्लाको पातारासी गाउँपालिकाले पनि चैत दोस्रो सातादेखि बस्तीस्तरको योजना छनोट प्रक्रिया सुरु गरेको छ । पालिकाका सबै वडामा वडा अध्यक्ष र सदस्यहरूले टोल भेलामार्फत योजना छनोट गरिरहेका छन् । वडा तहमा धमाधम योजना छनोटको काम भइरहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । उनका अनुसार नागरिकका आवश्यकताका आधारमा योजना छनोट गरिनेछ । बोहोराले भने, ‘अहिले प्रत्येक समुदायमा पुगेर नागरिकका समस्या, आवश्यकताका आधारमा योजनाको प्राथमिकरण भइरहेको छ । वडाका प्रतिनिधि दैनिक रूपमा यसै काममा लागिरहेका छन् ।’

दैलेखको नारायण नगरपालिकाले मंगलवारदेखि बस्तीस्तरको योजना छनोट सुरु गरेको छ । नगरप्रमुख लोमन शर्माका अनुसार नगरका सबै वडाका टोल–टोलमा योजना छनोटका काम सुरु हुन्छ । पालिकाले बजेटको सिलिङ वडा तहमा पठाइसकेको छ । नागरिकका आवश्यकताका आधारमा योजना छनोट हुने उनको भनाइ छ । त्यसका लागि बस्ती–बस्तीमा पुगेर आवश्यकताका आधारमा छनोट गर्न भनिएको छ । योजना छनोटको उद्देश्य स्थानीय समुदायमा दक्ष, प्रभावकारी र उत्तरदायी तरीकाले सार्वजनिक सेवाहरू पु¥याउने, सामाजिक र आर्थिक विकास गतिविधिहरू सञ्चालन गर्ने र स्थानीय तहहरूलाई आवश्यक पर्ने नीति निर्माण र विकास निर्माण कार्यमा स्थानीय जनताहरूलाई सहभागी गराई विकासको प्रतिफल तिनै जनताहरूले सजिलै उपभोग गर्न पाउन भन्ने रहेको छ ।

सुर्खेतको लेकवेशी नगरपालिकाले बस्तीस्तरको योजना छनोट प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि बजेट सिलिङ वडा–वडामा पठाउने तयारी भइरहेको नगरप्रमुख उमेशकुमार पौडेलले बताए । वडास्तरको योजना तर्जुमा प्रक्रियामा विभिन्न सरोकारवालाहरू टोल विकास समिति, आमा समूह, सामुदायिक वन युवा क्लबहरू, गैरसरकारी संस्थाहरू र सरकारी कार्यालयहरूद्वारा गठन गरिएका विभिन्न समूहका प्रतिनिधिहरू सहभागी गराइनेगरी तालिका तयार हुँदैछ ।

यस्तै पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत बस्तीस्तरको योजना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि विषयगत कार्यलयसँग छलफल गरिनेछ । केही दिनमा टोल–टोलमा योजना छनोट प्रक्रिया सुरु गरिने गाउँपालिकाका अध्यक्ष खड्क विकले बताए ।

प्रकाशित मितिः   ६ बैशाख २०८०, बुधबार ०५:०५