सरकारमा जाने तरखरमा कांग्रेस
सुर्खेत: नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा जाने तयारीमा जुटेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) र कांग्रेसबीच सरकार विस्तारको विषयमा छलफल चलिरहेको छ । आधा कार्यकाल नेतृत्व गर्ने सहमतिसहित कांग्रेस सरकारमा सहभागी हुन खोजिरहेको हो ।
सोमवार दिउँसो वीरेन्द्रनगरमा बसेको नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा सहभागिता, मन्त्रालयको संख्या र आधा कार्यकाल नेतृत्व पाउनुपर्ने अडानलगायतका विषयमा छलफल गरेको छ । बैठकमा अहिले माओवादी नेतृत्वको सरकारमा सहभागी हुने र आगामी आधा कार्यकाल नेतृत्व गर्नेगरी लिखित सहमति गर्नुपर्नेबारे कुरा उठेको नेताहरूले बताएका छन् ।
बैठकअघि आइतवार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले माओवादीसँग छलफल गरेका थिए । सरकारमा जाने, आलोपालो नेतृत्व गर्ने, मन्त्रालयको संख्या आठ कायम गर्ने र चार वटा कांग्रेसले लिनेलगायतबारे नेताहरूले बैठकमा भनाइ राखेका थिए । यसअघि एमाले र माओवादीको गठबन्धनले सरकार बनाउँदा एक मन्त्रालय घटाएका थिए । मन्त्रालय घटाएपनि माओवादीले एक जना राज्यमन्त्रीसमेत बनाएको थियो ।
यसैबीच सोमवारको प्रदेशसभा बैठक स्थगित भएको छ । दिउँसो तीन बजे बस्ने भनिएको बैठक स्थगित गरिएको हो । बैठकको कार्यसूचि तय गर्न बसेको सर्वदलीय बैठकमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले बैठक सार्न प्रस्ताव गरेपछि प्रदेशसभा सचिवालयले सूचना जारी गरेको बैठक स्थगित गरेको जनाएको हो ।
सचिवालयका अनुसार अर्को बैठक वैशाख ७ गते दिउँसो तीन बजे बस्ने भएको छ । उक्त दिन मुख्यमन्त्री शर्माले सरकार विस्तार गरेर तेस्रोपटक विश्वासको मत लिने सम्भावना छ । आइतवारदेखि दुई दल सरकार विस्तारको गृहकार्यमा लागिरहेका छन् ।
प्रकाशित मितिः ५ बैशाख २०८०, मंगलवार ०५:०१
साझा बिसौनी ।