दुई महिने ट्रायलका लागि स्पेन जाँदै बिमल

युरोपमा अवसरको खोजी गरिरहेका युवा फुटबलर बिमल घर्ती मगर सोमबार बेल्जियम उड्दैछन् ।

पछिल्लो दुई बर्षदेखि बेल्जियम, नेदरल्याण्ड्सका क्लबहरुमा ट्रायल दिएरहेका उनको व्यक्तिगत सिकाइ र खेल कौशलमा निखारतामा मद्दत गरेको छ । तर, उनको करियरमा कुनै ब्रेक थ्रू भने हुन सकेको छैन ।

यो पटक भने उनीले केही अपेक्षा गरेका छन् । उमेर समूह लगायत राष्ट्रिय टोलीबाट खेल्नुपर्ने भएपछि युरोपमा समय दिन नसकेको उनको बुझाइ छ । ‘यसअघि एण्डरलेच्ट, रेसिङ गेकमा ट्रायल दिएँ, तर अण्डर सिक्स्टिन, नाइन्टिन, साफ, साग जस्ता प्रतियोगिताहरु लगातार परेपछि उता समय दिन पाइनँ’ बिमलले भने ।

सोलिडारिटी कप जितेपछि राष्ट्रिय टिमको छुट्टीमा रहेका उनी सोमबार बेल्जियम उँड्दैछन् । त्यहाँबाट स्पेन जानेछन् । एजेन्ट लुइसको पहलमा उनले स्पेनको एकेडेमी क्लब मार्वेला युनाइटेडमा ट्रायल दिनेछन् ।

‘यसपटक युरोपमा लामो समय बिताउने सोचमा छु, राष्ट्रिय टिमबाट खेल्नका लागि यता आएपनि लगत्तै फर्किनेछु’ बेल्जियम उड्नु अघिल्लो दिन बिमलले भने । नेपालले २०१७ को मार्चमा एशियन कप छनौट खेल्नेछ ।

मार्वेला त्यही क्लब हो, जहाँ नेपाली खेलाडीहरु अञ्जन विष्ट र अनन्त तामाङले गत बर्ष ट्रायल तथा प्रशिक्षण गरेका थिए ।

अञ्जन ट्रायलका लागि अहिले स्पेनमै छन् ।

ट्रायल दुई महिनाको हुनेछ । यसबीचमा क्लवका टूरहरु पनि हुनसक्ने बिमलले बताए । उनले भने, ‘यो भन्दा अगाडिका ट्रयलहरुमा पनि मैले राम्रो रेस्पोन्स पाएको थिएँ, अहिले फेरि जाँदैछु, यस पटक पनि राम्रो हुनेछ भन्ने विश्वास छ ।’

एक बर्षअघि छोटो समय नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्स अहिले मार्बेलाका प्रशिक्षक छन् ।

लगातारको प्रतियोगिताले युरोपियन क्लबका ट्रायलहरुमा असर परेपनि राष्ट्रिय टोलीबाट भने बिश्राम लिने योजना बिमलको छैन । ‘मनदेखि आफ्नो देशको टोली छोड्न मन लाग्दैन । राष्ट्रिय टोलीबाट खेल्दा छुट्टै अनुभव हुन्छ, रेस्पेक्ट पाइन्छ’ उनले भने ।

बिमल अहिले १९ बर्षका भए । युरोपेली फुटबलको नियम अनुसार उनले कुनै क्लवमा आवद्धताका लागि प्रयास गर्ने समय अब एक बर्षमात्र बाँकी छ ।

प्रकाशित मितिः   २ माघ २०७३, आईतवार १९:२२