प्रदेश ६ को समृद्धिको एक आधार : पर्यटन

देशमा पुनः प्रादेशिक सीमाकंनको रस्साकस्सी भइरहँदा प्रदेश नम्बर ६ भने समृद्धिको खाका कोर्न थालेको छ । प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउने उपायको खोजीमा यहाँका राजनीतिक दल र निजीक्षेत्र जुटेका छन् । पर्यटनको विकास एकमात्र समृद्धिको हतियार भएकोमा एकमत बनेको छ ।

यो प्रदेश अन्तर्गत मुगुको रारा, डोल्पाको से–फोक्सुण्डो, सुर्खेतको बुलबुले र सल्यानका कुपिण्डे ताल प्रमुख आकर्षण छन् । यी तालहरूको सुन्दरता बेचेर नै प्रदेशको अर्थतन्त्रलाई थेग्न सकिने सम्भावना छ । यसवर्ष यी तालहरूको अवलोनका लागि पुगेका पर्यटकहरूको घुइँचोलाई हेर्दा पनि यो सम्भावनालाई पुष्टी गर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण तालहरू देखाएर ठूलो मात्रामा पर्यटक भिœयाउन सक्ने सम्भावना यो प्रदेशमा रहेको छ ।

पर्यटनमा लगानी र प्रचार गर्न सकेमा प्राकृतिक सम्पदाहरूबाटै पर्यटकलाई तान्न सकिने सम्भावना यो प्रदेशमा छ । यस्तै सुर्खेतमा रहेको ऐतिहासिक काँक्रेविहार, दैलेखको पञ्चदेवल र ज्वाला क्षेत्र तथा मानसरोवरमा पनि पर्यटनको सम्भावना उल्लेख्य छ । प्रदेश ६ मा पर्यटक आकर्षण गर्नका लागि धेरै दुःख गर्नुपर्ने अवस्था छैन । प्राकृतिक रूपमा रहेका सम्पदाहरूमा लगानी गर्दै प्रचारमा ल्याउन सकेमा मात्र बाहिरबाट लाखौं पर्यटक भिœयाउन सकिनेछ । कर्णालीको परम्परागत संस्कृति र जुम्लामा रहेको नेपाली भाषाको उद्गमस्थल सिंजा क्षेत्रले पनि पर्यटनको सम्भावना बोकेको छ । यस्तै यहाँ जल पर्यटनको पनि अत्याधिक सम्भावना छ । दुई ठूला नदी भेरी र कर्णालीमा जलयात्रा सञ्चालन गर्न सकेमा विदेशी पर्यटकहरूलाई पनि ल्योभ्याउन सक्ने अवस्था छ ।

समग्रमा यो प्रदेशमा धार्मिक तथा जलपर्यटनको खानी नै छ । यसलाई उपभोग गर्नसकेमा प्रदेशको अर्थतन्त्रलाई नै आत्मनिर्भर बनाउन सकिने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी बताउँछन् । उनले लगानी गर्नसकेमा यो प्रदेशलाई बाहिरी सहयोग आवश्यक नपर्ने
बताए । त्यसका लागि यहाँका राजनीतिक दलहरूको पनि प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ । यस्तै लगानीमैत्री वातावरण निर्माणमा जुट्नुपर्ने भन्दै उनले पर्यटन नै यो प्रदेशको कायापलट गर्ने औजार भएको दाबी गरे । अर्कोतर्फ यो प्रदेशको समृद्धिका लागि पर्यटन नै मुख्य आधार भएको दलहरूको निश्कर्ष छ । एमाले र माओवादी केन्द्रले त प्रदेश समृद्धिको खाका बनाएरै पर्यटनमा लगानी गर्नुपर्ने उल्लेख गरिसेकका छन् । ती दलहरूले यो प्रदेशमा पर्यटनको अत्याधिक सम्भावना भएको बताएका छन् । आर्थिक मापनमा कमजोर मानिएको यो प्रदेशको आर्थिक भविष्य यहाँको पर्यटनले थेग्ने अपेक्षा गरिएको छ ।

प्रदेश नम्बर ६ लाई आत्मनिर्भर बनाउनका लागि राजनीतिक दल र निजी क्षेत्रले आ–आफ्नो खाका सार्वजनिक गर्न थालेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमालेले यो प्रदेशको समृद्धिको खाका सार्वजनिक गरिसकेका छन् । यी दुवै दलको प्रादेशिक कमिटीले सार्वजनिक गरेको खाकामा पर्यटनलाई मुख्य प्राथमिकता दिइएको छ । यस्तै नीजि क्षेत्रले पनि पर्यटन नै यो प्रदेशका आर्थिक भार थेग्ने मुख्य आधार भएको निश्कर्ष निकालेको छ । दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्मा भन्छन्, ‘रारा ताल र फोक्सुण्डो देखाएरै आम्दानी गर्नसक्छौं, कर्णाली र भेरी नदीमा जलयात्रा गर्न लाखौं पर्यटक आउनेछन् । पर्यटनले नै हाम्रो प्रदेशमा रोजगारी सिर्जना हुनेछ, हामी देशकै सक्षम प्रदेश हुनेछौं ।’ प्रदेश ६ को अर्थतन्त्र थेग्नका लागि यहाँ पर्यटनको सम्भावना रहेको र आवश्यक लगानी जुटाउनेतर्फ ध्यान दिनुपर्ने सर्वसाधारणलेसमेत सुझाव दिने गरेका छन् ।

प्रकाशित मितिः   २ माघ २०७३, आईतवार ११:५५