स्ववियु निर्वाचनः यसकारण महत्वपूर्ण

dinesh-gautam

त्रिभुवन विश्वविद्यालयले आउँदो फागुन १४ गते देशभर स्ववियुको निर्वाचन गर्ने तयारी गरेको छ । निकै अगाडि घोषणा भएको भए पनि उमेर हदको विवाद र अन्य विवादको कारण तोकिएकै मितिमा चुनाव हुने नहुने निश्चित थिएन । तर केही दिन अगाडि सर्वोच्च अदालतले गरेको फैसला अनुरूप नै निर्वाचनमा उम्मेदवार हुने उमेर हद २८ वर्ष कायम गर्ने गरी तोकिएकै मितिमा स्ववियुको निर्वाचन गर्न सम्पूर्ण विद्यार्थी संगठनहरू तयार भएका छन् । केही विद्यार्थी संगठनहरूले यसको तयारी पनि सुरु गरिसकेका छन् । आम विद्यार्थीहरूमाझ भने अझैं पनि स्ववियु चुनाव हुने हो वा हैन, आंशका नै छ । विद्यार्थी सङ्गठनका नेताहरू चुनाव निश्चित् भएकाले आ–आफ्नो संगठनलाई जिताउने हिसाबले निर्वाचनमा होमिन आफ्ना विद्यार्थी कार्यकर्ताहरूलाई अनुरोध गरिरहेका छन् । करिब ४० दिन बाँकी रहँदा सुरु भएको स्ववियु निर्वाचनको सरगर्मीले एकपटक पुन राजनीतिक माहोल तातिने देखिन्छ ।

यसभन्दा केही समय अगाडि काठमाडौं विश्वविद्यालय र सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयमा पनि स्ववियु निर्वाचन नभएका होइनन् तर सम्पूर्ण देशभर आंगीक क्याम्पसहरू रहेको र देशकै सबैभन्दा ठूलो विश्वविद्यालय भएको हुनाले त्रिभुवन विश्वविद्यालयको स्ववियु चुनावले विशेष महत्व बोकेको छ । वि.सं. २०६६ सालमा स्ववियुको चुनाव भएयता त्रिभुवन विश्वविद्यालयको स्ववियुको निर्वाचन गर्न सकेको छैन । यसका विभिन्न कारण होलान् तर हरेक दुई–दुई वर्षमा गरिनुपर्ने स्ववियुको चुनाव सात वर्षसम्म पनि गर्न नसक्नु राम्रो कुरा होइन । यसले त्रिभुवन विश्वविद्यालयका विद्यार्थी संगठनको रूपमा रहेर सम्पूर्ण विद्यार्थीहरूको हकहितको लागि गर्नुपर्ने कामबाट स्ववियुलाई वञ्चित गराएको छ । आम विद्यार्थीहरूमा चुनाव नहुनुका केही न केही नकारात्मक प्रभावहरू परेकै छन् ।

प्रतिष्ठाको लडाईं
यो बीचमा कुनै अनर्थ नभएमा फागुनको १४ गते देशभर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा र राजधानीमा रहेको केन्द्रीय क्याम्पसमा स्ववियुको निर्वाचन हुनेछ । खासगरी नेपालको मुलधारको राजनीतिको एउटा आधारस्तम्भको रूपमा रहेको स्ववियु चुनाव भएकाले स्वभाविक रूपमा यसमा सम्पूर्ण राजनीतिक शक्तिहरूको महत्वाकांक्षाले भूमिका खेल्नेछ । गत चुनावमा सबैभन्दा ठूलो संगठनको रूपमा स्थापित भएको एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, त्यसैगरी कांग्रेस निकट नेपाल विद्यार्थी संघ र माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीबीच चुनावमा चर्काे प्रतिस्पर्धा हुनेछ । यिनीहरूका अलावा अन्य विभिन्न राजनैतिक संगठनहरूसँग आवद्ध विद्यार्थी संगठनहरू निर्वाचनमा होमिने हुँदा स्वभाविक रूपमा यो निर्वाचन निकै रोचक र निकै प्रतिस्पर्धात्मक पनि हुनेछ ।

सुर्खेतको सन्दर्भमा कुरा गर्दा, यहाँ आधा दर्जन बढी क्याम्पसहरू रहेका छन् । वीरेन्द्रनगरमा रहेको सुर्खेत क्याम्पस शिक्षा, जनता बहुमुखी क्याम्पस विद्यापुर, सिम्ता बहुमुखी क्याम्पस राकम, गुर्भाकोट बहुमुखी क्याम्पस सहारे, भेरी शिक्षा क्याम्पस गुमी, हिमशिखर बहुमुखी क्याम्पस रामघाट, अमरदीप क्याम्पस नेवारे । यी मध्ये चुनावको सबैभन्दा ठूलो चटारो सुर्खेत क्याम्पस शिक्षालाई नै हुनेछ । सुर्खेतको सबैभन्दा पुरानो क्याम्पस, उपत्यकामा नै रहेको क्याम्पस र सबैभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको क्याम्पस भएकाले सुर्खेत क्याम्पस शिक्षा धेरैको नजरमा पर्नु स्वभाविकै हो । यतिमात्रै होइन विगतका वर्षहरूमा पनि स्ववियुको चुनावले शिक्षा क्याम्पस तरंगित पार्दै आएको छ ।

२०६६ सालमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले विजय हासिल गरेको थियो । ‘अन्तिम तीनवटा स्ववियु चुनाव अनेरास्ववियुले जितेको छ र यसपाली पनि जीत अनेरास्ववियुकै हुन्छ’ अनेरास्ववियुका नेता धुपेन्द्र शाहीले भने । उनको दावीमा आधार पनि छन् । विगतमा भएका स्ववियुका हरेक चुनावमा सुर्खेत क्याम्पस शिक्षाको नेतृत्व अनेरास्ववियुले नै गरेको थियो । तर विगतको जस्तो सजिलो भने अहिले छैन । केही आन्तरिक समस्या त छँदैछन्, त्यसको साथ–साथै सुुर्खेतमा मध्यपश्चिम विश्वविद्यालयको स्थापना भएसँगै त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्ने एक प्रमुख क्याम्पस भएकाले अन्य मुख्य संगठनहरू पनि यस चुनावमा जीत हासिल गर्न चाहन्छन् । मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा सचिव बाहेक सबै पदमा विजय हासिल गरेको काँग्रेस निकट नेपाल विद्यार्थी संघ शिक्षा क्याम्पसमा पनि चुनाव जितेरै छाड्ने मानसिकतामा छ । यसको साथ–साथै पछिल्लो समय विद्यार्थी राजनीतिमा सक्रिय देखिन थालेको माओवादी निकट अखिल क्रान्तिकारी पनि शिक्षा क्याम्पसको स्ववियु चुनाव आफूले जित्नेमा आश्वस्त छन् । यसका साथ–साथै पूर्णरूपमा चुनाव जित्न नसके पनि केही सीट जितेर आफूलाई प्रतिनिधित्व गराउने प्रयत्न अन्य विद्यार्थी संगठनको पनि हुनेछ । समानुपातिक प्रणालीसहित स्ववियुको चुनाव गरिने भएकाले प्रत्यक्षमा विजय हासिल नभएकाले पनि समानुपातिक तिरबाट प्रतिनिधित्व पाउने सम्भावना पनि छ । जे होस्, ढिलै किन नहोस्, सुर्खेतमा फेरि विद्यार्थीको चुनावले माहोल तताउने निश्चित छ ।

विद्यार्थी राजनीतिः परिवर्तनको मूल आधार
विद्यार्थी राजनीति मूलधारको राजनीतीको एक बलियो आधार पनि हो । अहिले मुलधारमा राजनीति गरिरहेको धेरैजसो नेताहरू विद्यार्थी राजनीतिबाटै अगाडि गएका हुन् । अझ युवाहरू माझ लोकप्रिय मानिएका र भविष्यमा राजनीतिको मियो बन्नसक्ने सम्भावना रहेका भनिएका गगन थापा, रविन्द्र अधिकारी, योगेश भट्टराई, हिमाल शर्मा आदि नेताहरू विद्यार्थी राजनीति अझ भनौं स्ववियुकै उत्पादन हुन । नेपालको महत्वपूर्ण राजनैतिक परिवर्तन तथा राजनैतिक उथलपुथलमा विद्यार्थीहरूले नै निर्णायक र महत्वपूर्ण भूमिका खेलेको सबैलाई सर्वविदितै छ । २०३६ को जनमतसंग्रहदेखि ४६ सालको र २०६२/०६३ सालको महत्वपूर्ण राजनैतिक संग्राम आम जनताको हातमा पार्न विद्यार्थीहरूले महत्वपूर्ण भूमिका खेलको छन् ।

जनमतसंग्रहको नतिजा बहुदलको पक्षमा नआए पनि जनमतसंग्रहको घोषणा गर्न वाध्य तुलाउन विद्यार्थीहरूको महत्वपूर्ण योगदान छ । त्यसका साथ–साथै शिक्षित र जवाफदेही राजनैतिक नेतृत्व जन्माउनमा पनि स्ववियुले महत्वपूर्ण भूमिका खेलेको कुरा नकार्न सकिँदैन । सुर्खेतमै पनि मूलधारको राजनीति गरिरहेको दुई नेता यामलाल कँडेल र हृदयराम थानी विद्यार्थी राजनीतिकै उत्पादन हुन् । समग्र देशभरी नै धेरै जसो नेताहरूको पृष्ठभूमि विद्यार्थी राजनीति हो । यसप्रकार धेरै कोण र शिराबाट मूल्याङ्कन गर्दा त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन महत्वपूर्ण सावित हुन्छ ।

कस्तो नेतृत्व छान्ने ?
हामीले छान्ने नेतृत्व हाम्रो पक्षमा बोलिदिने हुनुपर्छ । कुनै राजनैतिक संगठनको नाममा त्यो संगठनको छत्रछायाँमै हुर्किेने र मौलाउने तर विद्यार्थी हकहितको सवालमा हात बाँधेर बस्ने प्रवृत्ति भएका विद्यार्थी संगठन र त्यसका नेतृत्वलाई यही स्ववियु चुनावबाट पाखा लगाउनु जरुरी
छ । अहिले स्ववियुबाट राजनीतिमा छिरेको व्यक्ति २०-३० वर्षपछिको यो मुलुकको मूलधारको राजनीति गर्ने व्यक्ति भएकाले अहिल्यै राजनीति प्रवेशकै क्रममा असल र खराब छुट्याउन सम्पूर्ण विद्यार्थीले सक्नुपर्दछ । भोलि हामीलाई शासन गर्न जाने व्यक्ति भएकाले आज नै सक्षम व्यक्तिलाई मात्र राजनीतिमा पठाउनुपर्दछ अन्यथा भोली खराब व्यक्तिबाट शासित हुनु हामी स्वयम्को बाध्यता हुनेछ । वर्तमानमा हाम्रो सानो भुल वा अविवेकिपनाले भविष्यमा गलत प्रवृत्ति र गलत पथ भएका व्यक्तिहरू राजनीतिमा जान सक्छन् ।

नेपालको राजनैतिक माहोल सन्तुष्ट मान्नुपर्ने खालको छैन । सम्पूर्ण जनतामा नेतृत्वप्रति चरम निराशा छ । यस अवस्थामा सक्षम र सवल राजनैतिक नेतृत्व छान्नका लागि स्ववियु चुनाव एक उपयुक्त अवसर पनि हो । अवसर पटक–पटक आँउदैन र जतिबेला आउँछ त्यतिबेलै हामीले विवेकपूर्ण ढङ्गबाट राजनैतिक नेतृत्वको लागि नेता पठाउन सक्यौं भने भविष्यमा पनि नेतालाई गाली गरिरहन पर्ने अवस्था दोहोरिरहला भन्न सकिन्न ।

प्रकाशित मितिः   ३ माघ २०७३, सोमबार ११:१५