रिपोर्टर डायरी

भेडी गोठालाको गाउँ पुग्दा

जुम्लाको सैन लेक, जहाँ रिनीगाउँका भेडी गोठालाहरूको बास छ । खुला आकाशले चिसो बनेको जमिनमा बिहानको घामले न्यानो भर्दै छ । लस्करै जोडिएका एकतले भेडीगोठहरूबाट धुँवा उडिरहेको छ । रातभर अलग अलग गोठमा बसेका पाठापाठी र भेडीको मिलन गराउँदैछन्, गोठालाहरू ।

चरन क्षेत्रमा लैजानुअघि साना पाठापाठीलाई दुध खुवाउनु पर्छ । दिनभर साना पाठापाठी गोठमै हुन्छन् । गोठगोठबाट भोटे कुकुरको आवाजले त्रसित बनाइरहेको छ । एक सय ९० घरधुरीको रिनी गाउँ भेडा पालनबाटै समृद्ध छ । यहाँका नागरिकको जीविका धान्ने भरपर्दो पेशा बनेको छ, भेडा पालन ।

भेडीगोठालाहरू पुर्खाले तय गरेको समय तालिकालाई अनुसरण गरिरहेका छन् । उनीहरूको आफ्नै दुनियाँ छ, आफ्नै सँस्कार र जीवनशैली । बिहानको ९ बज्दा गोठालालाई गोठगोठबाट भेडा चरन क्षेत्रमा लैजाने चटारो छ । कसैले भेडालाई दाना दिइरहेका छन्, कोही गोठाला पाठापाठी व्यवस्थापनमा जुटेका छन् । बसन्तको आगमनपछि वनमा पालुवा पलाउन सुरु भएको छ । उराठलाग्दो हिउँदमा खस्रु र निगालोले पािलएका भेडा चराउन सहज हुँदै छ । ‘हाम्रो आफ्नै समय तालिका छ, बिहान ९ बजे वनमा प्रवेश गरेको बथान साँझ ७ बजे मात्रै गोठ फर्काउने गरिन्छ, १० देखि ११ घण्टा चरेपछि मात्रै भेडालाई खाना पुग्छ’ स्थानीय जीरा खड्काले भनिन् ।

गोठ–गोठमा भोटे कुकुरले पहारा दिइरहेका छन् । गाठोला बाहेकका आगन्तुकलाई भोटे कुकुरले रेखदेख गरिहेका भेडाको बगालमा पस्न मुस्किल पर्छ, छिरिसकेपछि कुकुरले टोक्दैन । भेडीगोठको सुरक्षाको जिम्मा भोटे कुकुरलाई सुम्पिएर भेडा चरण क्षेत्रमा लगिदै छ । भोटे कुकुर गोठको सिपाही हो, शंकास्पद गतिविधिको चाल पाउना साथ कुकुर गोठको सुरक्षाको लागि तैनाथ हुन्छन् । भोटे कुकुर केवल शोभाका दृष्टिले मात्रै होइन सुरक्षा र उपयोगिताका हिसाबले भोटे कुकुर भेडीगोठालाको रोजाईमा पर्छ । जसलाई गोठालाहरूले भोटबाट खरिद गरेर ल्याउन्छन् । ‘भोटे कुकुर अरु प्रजातीका कुकुरभन्दा निकै बलियो र ठूलो हुन्छ, यसले बाघ, भालु र चितुवा सँग पनि मुकाविला गर्ने हिम्मत राख्दछ, यो अलि बढि हिंस्रक पनि हुन्छ’ स्थानीय तेजबहादुर रावतले सुनाए ।

भेडा पालनले रिनी गाउँको विपन्नता घटाएको छ । प्रति भेडा न्युनतम सात हजारदेखि ५० हजार सम्ममा बिक्री हुन्छन् । दशैं, तिहार, नयाँ वर्ष जस्ता पर्वहरूमा गोठालाले भेडा बिक्री गर्दै आएका छन् । भेडा पालनका उपयोगिता थुप्रै छन् । भेडापालनले नगद आम्दानीसँगै राडिपाखी, उनका कपडा र मल समेत उपलब्ध हुन्छ ।

प्राकृतिक विपद्, रोगब्याधीले किसानले पटक पटक नोक्सानी समेत व्यहोर्नु पर्ने स्थानीय विक्रम खड्काले बताए । ‘हाम्रो रोजिरोटी भनेकै भेडापालन हो, तर कहिलेकाँही चट्याङ, हावाहुरी र रोगब्याधीले बगालै रित्तो बनाइदिन्छ’ उनले भने । पातारासी कृषि र पशुपालनको प्रचुर सम्भावना भएको पालिका भएकोले यसलाई व्यवसायिक रूप दिन पालिकाले जोड दिने उपाध्यक्ष जनमाया रोकायाले बताइन । पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८४ हजारको हाराहारीमा भेडा छन् । पाटन र खर्कहरूमा व्यवस्थित भेडीगोठ निर्माण हुनु पर्ने भेडीगोठालाको जोड छ ।

 

 

 

प्रकाशित मितिः   ३ बैशाख २०८०, आईतवार ०९:१२