खानेपानीकै संकट
अघिल्ला वर्षहरूमाजस्तै यो वर्ष पनि गर्मीयाम सुरु भएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको संकट सुरु भएको छ । मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो । वीरेन्द्रनगरमा खानेपानीको पर्याप्त स्रोत छैन । स्रोत पर्याप्त नहुँदा वीरेन्द्रनगरमा बर्सेनि खानेपानीको समस्या हुने गरेको छ । विशेष गरेर गर्मी मौसममा पानीको समस्याले सधैँ सताउँछ । यो समयमा एकातर्फ पानीको स्रोत घटेको हुन्छ भने अर्कोतर्फ सबैभन्दा बढी पानीको खपत हुने मौसम यही हो । जसका कारण खानेपानीको संकट चुलिने गरेको छ ।
उपत्यकामा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार पानी पु¥याउन सकेको छैन । संस्थाले हाल झुप्राखोला, खरीखोला, बोरीखोला र उपत्यका आसपासका केही साना मुहानबाट ल्याइएको पानी वितरण गरिँदै आएको छ । मागअनुसार आपूर्ति नहुँदा उपभोक्ताका धारामा आलोपालो प्रणालीबाट पानी वितरण हुँदै आएको छ । मुहानमा पानी घटेपछि अहिले ४८ घण्टाको फरकमा पानी वितरण गर्न थालिएको छ । तर उपभोक्ताहरू पनि चार÷पाँच दिनसम्म पनि धारमा पानी नआउने गरेको बताउँछन् । गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको छ । संस्थाका अनुसार अहिले मुहानमा ४० प्रतिशत पानी घटेको छ । पानीको माग भने आपूर्तिभन्दा दोब्बरले बढी छ । त्यसमाथि घर र जनसंख्या वृद्धि हुँदै गइरहेको छ । पानीका सीमित स्रोत तथा संकलन र प्रशोधनका लागि आवश्यक संरचनाको समेत कमी हुँदा पानीको संकट बर्सेनि चुलिने गरेको हो ।
समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना अपरिहार्य हुन्छ । यसका लागि केही प्रयास पनि भइरहेका छन् । वीरेन्द्रनगर नगरपालिकाले तत्काल पानीको समस्या समाधान गर्नका लागि बोरङ मर्मत गर्न बजेट विनियोजन गरिएको जनाएको छ । खानेपानीको समस्या दिर्घकालीन रूपमा समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउनका लागि ठेक्का प्रक्रिया अघि बढाइउने तयारी छ । वल्र्ड बैंक, नेपाल सरकार र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएकाले छिट्टै आयोजना सञ्चालन हुने जनाइएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न भइसकेको छ । अब ठेक्का प्रक्रिया सुरु हुन्छ । आयोजना सुरु भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने छ । यसले उपत्यकाको खानेपानी अभाव समाधान हुने अपेक्षा गरिएको छ । बर्सेनि भइरहने खानेपानी समस्यालाई समाधान गर्न भेरीको पानी ल्याउने योजनालाई जतिसक्दो छिटो अघि बढाउन आवश्यक देखिन्छ ।
प्रकाशित मितिः ३ बैशाख २०८०, आईतवार ०९:१८
सम्पादकीय ।