अंशमा अंकुश

महिलामैत्री कानुन निर्माण अन्तर्गत विवाहित महिलाले लोग्नेको अंशमा समान अधिकारको हक प्राप्त गर्दै आएका छन् । सम्बन्धविच्छेदपछि पनि लोग्नेको अंशमा महिलाले हक दाबी गर्न पाउने व्यवस्था रहेको छ । यसले सम्पत्तिमाथि महिलाको हक स्थापित गर्न सघाउ पुग्दछ । तर कानुनी जटिलता र प्रक्रियागत झन्झटका कारण अंश नलिएरै सम्बन्ध विच्छेद गर्ने गरिएको पाइएको छ । जिल्ला अदालत सुर्खेतमा परेका अधिकांश अंशसहितका सम्बन्ध विच्छेदका मुद्दामा फैसला हुदाँसम्म धेरैले अंश लिदैनन् । प्रक्रिया लामो हुँदा महिलाहरूले अंशविनै सम्बन्ध विच्छेद गर्ने गरेका छन् ।

अन्तरजातीय विवाह, हिंसा, पारिवारिक झै–झगडा, यौनदुव्र्यवहार लगायत धेरै समस्या देखाउँदै सम्बन्ध विच्छेद गर्नेको संख्या सुर्खेतमा बढेको हो । जिल्ला अदालत सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷०८० मा सम्बन्ध विच्छेदका चार सय भन्दा बढी मुद्दा दर्ता भएका छन् । नौ महिनामै चार सय २४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भइसकेका छन् भने आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहेकाले गत वर्षको तुलनामा संख्या बढ्ने देखिन्छ । अदालतको तथ्यांकअनुसार सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउनेमा महिलाको संख्या बढेको छ । चालु आर्थिक वर्षमा दर्ता भएका चार सय २४ वटा मुद्दामध्ये तीन सय २२ मुद्दा महिलाले दर्ता गराएको छन् । जसमध्ये एक सय ८० फछ्र्याैट भएका छन् भने एक सय ४२ मुद्दा फछ्र्याैट हुन बाँकी छन् । यसैगरी खानाखर्च सहित सम्बन्ध विच्छेदका चार वटा मुद्दा दर्ता भएकोमा एउटा फछ्र्यौट भएको छ, तीन बाँकी रहेका छन् । अदालतमा अंश, खानाखर्च सहितका ६० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १७ फछ्र्याैट भए भने ४३ बाँकी रहेका छन् ।

सम्बन्ध विच्छेदसँगै अंश पाउन झन्डै एक वर्षसम्मको समय लाग्छ । त्यसका लागि एक दर्जन प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । आफ्नो पतिको भाग कति हो, त्योसहित अंशियार संख्या खुलाउनुपर्ने, अन्य परिवारका सदस्यलाई पनि प्रतिवादी बनाउनुपर्ने, परिवारका सबै सदस्यलाई अदालतमा झिकाउनुपर्ने, बयान गराउनुपर्ने, के कति सम्पत्ति छ ? भनेर सम्पत्तिको फाँटवारी मगाउनुपर्ने, सम्पत्ति विवरण सुनाउन दुवै पक्षलाई तारिख दिनुपर्ने, त्यसमा पनि कतिपयले चित्त बुझेन भनेर मुद्दा हाल्न पाउने कानुनी व्यवस्था छ । यी सबै प्रक्रियामा जान समस्य लाग्ने हुनाले पनि महिलाहरू अंश नलिएर सम्बन्धविच्छेद गर्ने गर्दछन् । जसले गर्दा अंशसहित सम्बन्ध विच्छेद गर्ने महिलाहरूको संख्या न्यून हुने गरेको तथ्यांकले देखाएको छ । अंश लिनेहरूको संख्या धेरै नभएपनि सम्बन्धविच्छेद गर्नेहरूको संख्या भने बढेको छ ।

प्रकाशित मितिः   १ बैशाख २०८०, शुक्रबार ०५:०३