कर्णालीमा यो वर्ष पुस्तक अभाव नहुने

समयमै पाठ्यपुस्तक भण्डारण, पालो लगाएर वितरण हुँदै

सुर्खेत: कर्णाली प्रदेशमा बर्सेनि पाठ्यपुस्तक अपुग हुन्छ । गत वर्ष वार्षिक परीक्षाको समयसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको थिएन । तर यसवर्ष भने विद्यार्थीलाई समयमै पुस्तक बाँड्नेगरी तयारी गरिएको छ । जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइसकेको जनाएको छ ।

कर्णालीका सबै बालबालिकालाई पुग्ने गरी पुस्तक ल्याएको केन्द्र प्रादेशिक कार्यालय प्रमुख भैरवबावु पन्तले बताए । ‘यो वर्ष माग गरेअनुसार सबै कक्षाको पुस्तक हामीले गोदाममा ल्याएका छौँ’ उनले भने, ‘पालो अनुसार दुर्गम जिल्लाबाट वितरण गर्दै आएका छौँ ।’ कार्यालयका अनुसार मुगुका दुई वटा पालिका पुस्तकका लागि सम्पर्कमा आएका छैनन् भने अन्य पालिकाले लगिसकेका छन् ।

त्यसैगरी जुम्ला र कालीकोटमा पनि पुस्तक गइसकेको छ । वैशाखको पहिलो साताभित्रै सबै जिल्लामा पुस्तक पु¥याउने योजना सुर्खेतस्थित जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयले बनाएको छ । ‘पालो अनुसार वैशाखको ६ गतेसम्म सबै जिल्लामा पुस्तक पु¥याउँछौँ’ प्रमुख पन्तले भने । गत वर्षको जस्तो समस्या नहुने भन्दै उनले यो वर्ष समयमा नै विद्यार्थीको हातमा सबै पुस्तक पुग्ने दाबी गरे । ‘यो वर्ष कर्णालीमा तीसदेखि पैतिस हजार पुस्तकको माग रहेको छ’ उनी भन्छन्, ‘गोदाममा तीस हजार पुस्तक आइसकेको छ । बाँकी रहेको पाँच हजार पुस्तक केही दिनमा केन्द्रबाट ल्याउँछौँ, पुस्तकको अभाव हुन दिँदैनौ ।’ पुस्तक व्यवसायीहरूले साथ दिए सबै विद्यार्थीको हातमा समयमै पुस्तक पुग्ने कार्यालय प्रमुख पन्तको भनाइ छ । ‘हामीले माग अनसार पुस्तक दिन्छौँ । व्यवसायीले समयमा लगेर वितरण गर्नुपर्ने हुन्छ’ उनले भने ।

कालीकोटका पुस्तक व्यवसायी धन्नजय अधिकारीले पहिलो पटक मागअनुसार पुस्तक पाएको बताए । पुस्तक लिन सुर्खेत आइपुगेका अधिकारीले अघिल्लो वर्ष पटक–पटक आउँदा पनि पुस्तक नपाइएको तर यो वर्ष भने सहज रूपमा पुस्तक पाएको बताए । ‘विगतमाजस्तो यो वर्ष पुस्तक अपुग हुँदैन’ उनले भने ।

जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गरिरहेको छ । दुर्गम जिल्लाहरूको पहिले पाइलो तोकिएको छ भने अलिक सुगम जिल्लाहरूलाई पछाडि राखिएको छ । जसअनुसार सुर्खेतको पालो अन्तिममा आउँछ । पालो ढिलो आउने र पुस्तकसमेत नपुग्ने समस्या सुर्खेतले विगतदेखि नै झेल्दै आएको छ । यो वर्ष पनि त्यस्तै हुनेमा सुर्खेतका व्यवसायीहरूको चिन्ता छ । कर्णालीका दुर्गम जिल्लामा समयै पुस्तक पुगे पनि सुर्खेतलगायतका सुगम जिल्लाका पुग्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कर्णाली प्रदेशका सचिव शेरबहादुर खड्काले बताए । उनले भने, ‘आजसम्म पुस्तक गोदाममा छ, अन्तिममा सुर्खेतको पालो भएकाले के हुन्छ हेर्न बाँकी छ ।’ यद्यपि, अघिल्लो वर्षहरूभन्दा यसवर्ष समयमै पुस्तक आएको खड्काले जनाए । ‘यो वर्ष सहज रूपमा सबैले पुस्तक पाउने देखिन्छ’ उनले भने, ‘गत वर्ष जस्तो अभाव हुँदैन होला ।’

अघिल्ला वर्षहरूमा भने कर्णालीका विकट हिमाली जिल्लाहरूका साथै सुर्खेत, दैलेख र जाजरकोटलगायतका जिल्लाहरूमा पनि पर्याप्त पुस्तक पुगेको थिएन । व्यवसायीहरूका अनुसार गत वर्षको आधा शैक्षिक सत्र सकिँदासम्म पनि ठूलो संख्यमा विद्यार्थीहरूले पुस्तक पाएका थिएनन् । व्यवसायीहरूले अग्रीम रकम बुझाउँदा समेत जनक शिक्षा सामग्री केन्द्रले पुस्तक उपलब्ध गराउन सकेको थिएन ।

प्रकाशित मितिः   १ बैशाख २०८०, शुक्रबार ०५:०५