रारा छेउमा कष्टकर जीवन बाँचेकाहरू

स्थलगत,

मुगु: दिन ढल्दै गर्दा सूर्यको प्रकाशको चमकमा राराले आफ्नो रूप बदल्दै छ, अनि हावाको वेगमा गति । पानीको छाल यति तेज छ कि कर्णालीको भेलजस्तै राराका छालहरू किनारामा मस्ति मारिरहेका छन् । बिहान ७ बजेबाट चलेका डुँगाहरू दिउँसो १२ बज्दा किनारमा तैरिँदैछन् । सन्तोषकुमार मल्लको डुँगा पनि किनारमा आइपुग्यो । ‘बिहानैबाट डुँगा चल्छ, ४५ मिनेट घुमाएको पाँच सय रूपैयाँ लिन्छौँ, तिन किलोमिटर दुरी पार गर्दै अर्को किनारसम्म पुगिन्छ’ उनले सुनाए ।

रारा नेपालकै ठूलो ताल, जसले आफ्नो गर्भमा असिमित सम्भावना छिपाएको छ । सबैले कर्णालीमा समृद्धिको ढोका राराले खोल्छ भनिरहेका छन् । तर स्वर्ग कि अप्सरा उपनाम पाएको राराको पर्यटनबाट यहाँका स्थानीयले लाभ लिन भने सकिरहेका छैनन् । सरकारका पर्यटन मन्त्रालय, विभाग र पर्यटन बोर्डहरू प्रचारप्रसारको नाममा महोत्सव, भ्रमण वर्ष, गन्तव्य वर्षको रूपमा वार्षिक बजेट विनियोजन गर्न निकै रुचाउँछन् । तर राराजस्ता रमणीय र मनोरम प्राकृतिक सम्पदा भएर पनि दुखकष्टको जीवन बिताउने कर्णालीवासीका पीडा र वेदना कति छन् भन्ने राज्यसँग हिसाब छैन ।

प्रकृतिको अनुपम उपहार रारालाई स्वर्गकी अप्सरासँग दाँज्ने गरिन्छ । दुई हजार नौ सय ७२ मिटर उचाईमा अवस्थित राराको लम्बाई ५ किमि, चौडाई ३ किमि र गहिराइ १६७ मिटर रहेको छ । प्रकृतिको अनुपम उपहार रारामा हवाई, यातायात र पैदल सबै माध्यमबाट पुग्न सकिन्छ । रारा पुग्ने पर्यटकका लागि खष भाषा र सभ्यताको जननी जुम्ला सिंजा उपत्यका, भोजपत्र, निगाले सहितको कोणधारी जंगल, हिमाली वन्यजन्तु थप आर्कषणका विषय हुन् । मुगु सदरमुकाम गमगढीबाट चंखेली हिमाल देख्न सकिन्छ, जुन एक रूपैयाँको नोटमा अंकित छ । राराको सग्लो रूप हेर्न भने घोडामा चढेर मुर्माटप जानुपर्ने स्थानीय रमिला बुढाले बताइन् । ‘मुर्माबाट सिँगो ताल हेर्न सकिन्छ, वर्षायाममा भने रारालाई कुहिरोले छोप्छ, घाम लागेको दिन रारा नियाल्न सकिन्छ ।’

प्रतिकूल भौगोलिक बनावट र भौतिक संरचना अस्तव्यस्त हुँदा यातायात र हवाई मार्ग प्रभावित भइरहन्छ, जसले प्रचुर सम्भावना बोकेको रारा मौसमी पर्यटकीय गन्तव्य मात्रै बनेको छ । अटल, स्वच्छ र सुन्दरताले भरिपूर्ण रारा भएर पनि मुगुवासी अशिक्षा, गरिबी, रोग, भोक, रुढिवादीता, पछौटेपनको सिकार भइरहेका छन् ।

कर्णालीको व्यथा स्थानीय कलाकार आफ्नो ठाडीभाकामा यसरी सुनाउँछन्,

देखिँदो घाउ छैन, शरिरलाई सञ्चो छैन
खोल्यास माउ छैन, को बैरीले चल्ला लैगो..

सन् २००८ मा पर्यटन बोर्डले रारा महोत्सव गरेको थियो । त्यसयता स्थानीय अग्रसतामा पनि पटक पटक कार्यक्रम भए । तर व्यवस्थित मोटर बाटो र भरपर्दो हवाइ मार्ग नभएपछि पर्यटकहरूमा खासै वृद्धि भएन । राराले मुगुवासीको आर्थिक जीवनमा खास्सै अवसर दिएको छैन । मुगुवासीसँग नेपालकै ठूलो ताल रारा मात्रै छैन, दुःख कष्टका भारी पनि साना छैनन् । सरकारले बाह्रै महिना पर्यटक पुग्ने वातावरण सिर्जना गरिदिनु पर्ने स्थानीयको माग छ । ‘हामीसँग यति विशाल ताल रारा छ, तर हाम्रा दुख कष्टका भारी पनि साना छैनन्, स्वर्गको काखमा नर्कको जीवन जीउँदा राज्य बेखबर छ’ स्थानीय रमेश विकले गुनासो पोखे ।

राराको पर्यटनबाट स्थानीयले कसरी लाभ लिनसक्छन् ? भन्ने प्रश्नमा छाँयानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम भन्छन्, ‘छाँयानाथ रारा नगरपालिकाका स्थानीयलाई पर्यटनमा जोड्न होमस्टेमा अनुदान र तालिमको व्यवस्था गर्ने नीति बनाइएको छ, यतिले पुग्दैन, संघ र प्रदेश सरकारले चासो दिएको पाइँदैन ।’ रारा नेपालकै गौरव हो । रारा लक्षित पर्यटनले प्रत्यक्ष रोजगारी र व्यवसाय प्रबद्र्धनमा टेवा पु¥याउन सक्छ तर त्यसको लागि गन्तव्यमा पर्यटकको औसत बसाई लम्ब्याउने उपाय आवश्यक छ । सम्भावनालाई उपयोग गर्ने नीति जरुरी रहेको कर्णालीवासी बताउँछन् ।

प्रकाशित मितिः   २८ चैत्र २०७९, मंगलवार ०५:०१