सम्झना

जीवनको एक त्रासदी

काम नभएपछि मान्छेलाई दिन कटाउनसमेत गाह्रो हुने रहेछ । काम थिएन, म बेरोजगार थिएँ । त्यहीबेलामा रुघा र ज्वरोले एकसाथ अठ्याए । हैरान् ज्यानलाई हप्तादिनदेखि कोठाभित्रै थन्काएको थिएँ ।

अप्ठेरोमा त सपनाहरू पनि त्रास बोकेर आउँछन् । उता घरमा आमाको स्वास्थ त्यति राम्रो नभएर पनि होला गएरातिको सपनाले मन पिरोलिरहेको थियो । मन पिरोलिए पनि जाबो सपना न हो भन्ने बलमिचाइँ गरेर चित्त बुझाउने कोशिस गरीरहेँ । बिहानै मोबाइलमा धर्म दानीको घण्टी बज्यो, फोन रिसिभ गरेँ ।

‘कता हो धिरेन जी ?’
‘म त रुममै छु ।’
‘मंगलगढी चोक आउनुस् न यतै भेटम् ।’

भेट नभएको पनि धेरै भएको थियो । काम पनि थिएन । ‘मर्निङ वाक’ गर्दै चोकतिर हिँडे ।

अहिले मंगलगढी चोकमा पिपल चौतारी छैन । सडक विस्तारले बरपिपल ढलेपछि टिनले छाएको उजाड प्रतिक्षालय मात्रै छ । बरपिपल नभएपछि चराहरूको बास पनि हुने भएन । चराहरूको चिरबिर आवाज पनि प्राकृतिक संगीत रहेछ भन्ने बुझेँ । उजाड भएपछि चराहरूको नजर पनि छानामाथि पर्ने रहेनछ । मान्छेहरू भने उजाड ठाउँमा पनि जम्मा हुनेरहेछन् ।

धर्मजी र संजोग पनि त्यही भेटिए । गाउँघरतिरको हालखबर सोधपुछपछि आमाको खबर नसोध्ने कुरै भएन । पहिलेको भन्दा जटिल अवस्था भएको खबर सुनेपछि, आमा यो संसारमा रहनु हुँदैन कि भन्ने कुराले मनमा त्रास पैदा हुनथाल्यो । घरमा जाने पैसा थिएन । आमालाई तलमाथि भएपनि रूपैयाँ–पैसाकै जरुरत पर्ने । पैसा लिनु थियोे तर दिने कोही थिएनन् । एकजना व्यापारीले इन्स्योरेन्स गर्दा सापट लिएको पैसा अहिलेसम्म दिएको छैन । उसँग पैसा माग्न जान पनि डरलाग्यो । पैसा माग्न उसको पसलमा कति धाए कति । उसले दिने छाँट कहिल्यै देखाएन । उल्टै दिँदैन के गर्छस् भन्दै धम्किको धाक देखाउँथ्यो । फेरि उसँग बिन्तीभाउ गरेर रूपैयाँ माग्न जान मनले मानेन । केही सीप नलागेपछि सराप गरेर छोड्नुको अर्को विकल्प नहुने रहेछ ।

म भोलि गुटु पुग्छु भनेर धर्मजीसँग छुट्टिएँ । कोठामा फर्किएँ तर मन स्थिर हुन सकेन । यसै त सानो कुरालाई मनमा खेलाएर ठूलो बनाउने म । झन् आमाको खबरले चिन्ताको हाँडीमा पीरका मकै छातिभित्र भुट्भुटीरहे । कोठामा पनि बसिरहन सकिनँ, बाइक स्टार्ट गरेर सिधै कालिन्चोकस्थित हेमन्त हेमलकको क्वाटरतिर लागँे, केही रूपैयाँ सापट माग्ने उद्देश्य लिएर । हेमन्तले चिया अर्डर ग¥यो । म खुल्ला चौरको बिच भागमा बसेर माथि गोठीकाँडाको निलो क्षितिज नियाल्दै आमालाई स्मरण गरिरहँे । आमाको स्वास्थ अवस्थाको बारेमा हेमन्तसँग कुरा सेयरिङ्ग पनि गरेको थिइनँ । एक्कासी घरबाट माइला दाजुको फोन आयो, कुरा प्रष्ट बुझिएन । बिहान संजोगले आमाको स्वास्थ्य अवस्था जटिल भएको कुरा सुनाएको थियोे । त्यही कुरा झट्ट सम्झेँ । कुरा नबुझिए पनि आमा अब यो संसारमा रहनु भएन भन्ने अनुमान लगाएँ । मनमा चिसो मात्रै पसेन, पृथ्वी भासिएला जस्तो भयो । जिउगोडा थरथरी काँपे । बान्ता र चक्कर आउलो जस्तो भयो । चारैतिर पहेँलपुर देखेँ । संयमित हुन खोजेँ । आफूले आफैलाई सम्हाल्न सकिनँ । आमाको जिउँदो मुख देख्ने अवसरबाट छुटेपछि आफूले आफूलाई धिक्कारेँ । हेमन्तसँग केही बोल्न सकिनँ । हारेको गोरुझै टाउको जमिनमुनि झुकाइरहेँ ।

दुख्नु थियो मनलाई दुखिरहेकै थियो । तर सम्हालिनु पनि थियो मलाई । अलिक संयमित हुँदै पुजालाई फोन गरेँ । उसको पनि आवाज राम्रोसँग बुझिएन । फोन काटेँ । तुरुन्तै साइली दिदीको फोनको घण्टी बज्यो । तारनतार घरबाट आएका फोनका घण्टीले आमाले यस लोकबाट महाप्रस्थान गर्नु भएको निश्चित भयो । मुटुको गति स्थिर हुन सकेन । ढिक्की कुटेको चालमा मुटुको ढुकढुकी बढीरह्यो । दिदीको फोन रिसिभ गर्न मन लागेन । फेरि मन राख्नलाई भएपनि दिदीको फोन जबरजस्ती रिसिभ गरेँ, उहाँले रुदै भन्नुभयो, ‘भाइ हामी मुले भयौँ । आमा हामीलाई छोडेर जानुभयो ।’ धेरै बोलिनँ, फोन काटँे । आमा नरहेको कुरा हेमन्तलाई भनेँ, चिया नपिएरै म रुमतिर लागे ।

रुम पुग्दा माइला दाजुले पनि रुदै फोन गर्नु भएको थियोे । उहाँको क्रन्दन सुन्नै नसकेर फोन काटेँ । हुन त संसारभरीकै मान्छे आमा गएकै बाटोमा जानुपर्छ । तर मनले नमान्दो रहेछ । अधिक प्रेम कसैसँग नगर, अधिक प्रेमले आफैलाई हानी हुन्छ भन्ने भगवान बुद्धको अमृतवाणी थाह हुँदाहुँदै पनि मन थाम्न नसकिने रहेछ । मुटुमा भक्कानो फुटेर आयो । आँसु साउने झरी बनेर आँखाका डिलबाट झरिरहे । आफूले आफूलाई फुटपाथमा भेटिएको अबोध बच्चा जस्तै ठानेँ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको मुल गेटमै ट्राफिक चेकिङ्ग भइरहेको थियोे । ट्राफिकको इसारापछि म रोकिएँ । दुब्लो पातलो अग्लो शरिर भएका ट्राफिक प्रहरीले लाइसेन्स र ब्लुबुक मागे । ‘सर मसँग छैन, काम विशेषले भाइलाई भेट्न आएको थिएँ । आमा बित्नु भएको खबर गाउँबाट आयो, अहिले नै गाउँ जादैछु’ भनेपछि उनले मलाई जान अनुमति दिए । सही कुरा भनेपछि दुःखमा प्रहरीले साथ दिने रहेछ भन्ने महशुस भयो । दिलबाट ती ट्राफिक प्रहरीलाई धन्यवाद दिएँ । भेटेरै कुरा गर्ने मन थियोे तर त्यतिखेर उनको छातिमा लेखिएको नाम हेर्ने चेत भएन ।

ममता म्याडमलाई पनि घरबाट खबर भइसकेको रहेछ । उहाँ पनि शोकमा हुनुहुन्थ्यो । अघिपछिको जस्तो अबेर आज भएन, फटापट झोला तयार गरेर हामी पश्चिम लाग्यौँ । दुई–ढाई घण्टाको यात्रामा ममता म्याम र मेरो बिचमा कुनै बोलचालै भएन । घर जाँदा हिजोअस्ति लामो लाग्ने बाटो आज घर पुगेको थाहै भएन । आगनभरी मान्छेहरू जम्मा भएका थिए । मान्छे मरेको घर निस्याइलो हुन्छ भन्नुहुन्थ्यो आमा । आज घरमा आमा भएर पनि आमाको प्राणमा श्वास थिएन । डसना र सिरकदेखि कहिल्यै अलग रहन नसक्ने आमा सेतो, पहेलो पातलो खास्टो भित्र लुटपुटिएर चीरनिन्द्रामा निदाइरहनु भएको थियोे जमिनमाथि ।

सिमेन्टको चिसोसँग डराउने आमा आज सिमेन्टमाथि नै निस्लोट निदाउनु भएको थियोे । आँगनभरी मान्छे भरीभराउ भएर पनि घर निसम्म थियो । बलिरहेको आगाको धुनि वरपरी कुरुवा मान्छेहरू आमाकै कुरा गरिरहेका थिए । ‘कसैलाई दुःख नदिएर जानु भयो । मरु होस् त मुख्खेनी बुढीको जस्तै होस्…।’ मलाई भने आमाले मृत्युवरण गरेको चित्त बुझेको थिएन । आगोको तापले मान्छेहरूलाई पछाडि पछाडि धकेलीरहेको थियो । मान्छे निल्ने रातो आगोका गोल देखेर भोलि आमाको चितामा दागबत्ती कसरी दिन सकुँला ? आफूले आफैलाई प्रश्न गरीरहँे । आँखाबाट भुइँमा झरेका आँसुका थोपा आगोकै रापमा सुके । रानो मौरी हराएको मौरीझै हामी टुहुरा थियौँ ।

समय घर्किदै गयो । रात छिप्पिदै थियो । कुरुवा बसेका मान्छेहरूले शरिरमा भएका कपडाहरूलाई खोल्न पठायर कोरा सेता कपडा लगाउन अह्राए । अघिसम्म समूहमा बसेका हामी तिन भाइलाई समूहबाट छुट्टै बस्न भनियो । हामी छुट्टै बस्यौ र कसैसँग नछोइने भयौँ । संसार फेरिए र नयाँ चलनको रिती सुरुवात गर्न गएजस्तो लाग्यो । समाजका अगुवाहरूले जे जे भने हामी त्यही त्यही गर्दै गयौँ । भर्खर कखरा सिक्न विद्यालय भर्ना भएका बच्चाझै लाग्यो । सायद घडीले नौ बजाएको हुनुपर्छ । नरमाइलो सुरमा उल्टो शंख बज्योे, मन झसङ्ग भयो । लाग्यो शंखको कर्कस आवाजले आमाको चीरनिन्द्रा भङ्ग हुन्छ अर्थात् आमा ब्युझनुहुन्छ । चीरनिन्द्राबाट ब्युझेपछि अंगालो हालेर जिउँदो अनुहार देख्न नसक्नुको कारण बताउँला र आमासँग माफी मागौला झै भयो । शंखको उराठिलो स्वर र दमाहका कर्कस आवाजहरू केही समयपछि रोक्किएर मथ्थर भए । आमा ब्युझ्नु भएन । कल्पनामा डुबेर सोचेका मेरा सपनाको महल तासको घरझै ढल्यो । हावाले उडाएर आकाशमा बिलिन भएको झुलोझै मैले कल्पनामा डुबेर बुनेका सपनाहरूको डोरी पनि क्षणभरमै टुट्यो । आमाको मृत शरिर र घरको भित्तमा केही अन्तर देखिनँ मैले ।

पण्डित नवराजले सुझाएअनुसार दागबत्ती दिएपछि आमाका खुट्टा र हातका बुढी औलालाई काँचो बटुवा धागोले बाधे । मलाई भने उनीहरूदेखि रिस उठेर आयो । आमाको हात खुट्टामा नेल हालेझै लाग्यो । जिउँदोमा कसैको केही बिगार नगरेकी आमाले स्वर्गवास भएपछि कस्को के बिगार गर्दैछिन् र पार्थिव शरिरको हातखुट्टा किन बाँध्दैछन् जस्तो लाग्यो । समाजसँग सोध्न मन छ, मरेको मान्छेको हातगोडा धागोले बाध्नु पर्ने कारण के हो ? यो कुन युगदेखि सुुरु भएको चलन हो ? हातगोडा बाँधेर मुर्दाले के पायो र नबाँध्दा उसले कसको के बिगार ग¥यो ?

आमाको हातगोडा नबाँधिदिनुस् भनेर भन्न सकिनँ, न त त्यसविरुद्ध बिद्रोह गर्ने आँट नै आयो । मुकदर्शक बनेर हेरीरहँे उनीहरूका क्रियाकलाप । घण्टा–घण्टामा बजिरहने शंख र दमाह । कर्कस ध्वनीले जमिन नै थर्किन्थ्यो । कोही मान्छे बिरालोको चालमा राति घरको आँगन आयोभने, उक्त मान्छेको चाल थाह पाउनुहुने आमा आज दमाह, झ्याली र शंखको कर्कस आवाजले गाउँ नै थर्काउँदा पनि सुनिरहनुभको थिएन, उहाँको निद बिग्रेको थिएन ।

बिहान भालेको डाकोसँगै आगनमा चहलपहल बढ्दै गयो । उज्यालो भयो । विवाह उत्सवभन्दा धेरै मान्छे आँगनमा जम्मा भए । कसैले अर्थी बनाए, कसैले आँगन पोते, कसैले दाउरा जम्मा गरे, कसैले सेतो बाट तयार गरे ।

विवाह लगन, पुजाआजा, शुभसाइत, घरको शुभमुहुर्त गर्दा मान्छे ज्योतिषसँग साइतको तिथिमिति हेरेर शुभसाइत निकाल्छन् । अर्थात् घर छोडेर बाहिर जाँदा पनि हामी सामान्य बारहरू हेरेर निक्लन्छौँ । आज आमा आफूले कमाएको सारा धनदौलत, सन्तान, परिवार र समाजलाई छोडेर सदाको लागि घरबाट खाली हात जाँदै हुनुहुन्थ्यो तर आज समाज, परिवार र घरका कुनै सन्तानले आमाको महाप्रस्थानको साइन हेर्नपट्टि कसैले चासो देखाएन । लाग्यो महाप्रस्थानको साइत नहुँदो रहेछ । त्यही भएर पनि होला मृत्यु पछिको यात्रालाई महाप्रस्थान भनिएको । महाप्रस्थानको साइद हेर्नु पनि हुनेरहेनछ ।

जन्मपछि मृत्यु अवश्यभावी छ । आमा जीवनको उत्तराद्र्धमा एकपटक पुनः डोलीमा सजिएर महाप्रस्थानको यात्रामा निक्लदै हुनुहुन्थ्यो । लाग्यो सबैभन्दा पहिले दुई वर्षअघि दिवंगत हुनुभएकी माइली दिदी र भिनाजुलाई भेट्नु हुनेछ, त्यसपछि दिवंगत सम्पूर्ण आफन्तजनहरूलाई । डोलीमा चढेकी आमालाई काँधहालेर विदाई गर्न घरका सदस्यहरूले तछाडमछाड नै गरे । जिउँदो छँदा कसले कति सेवा गरे कि आमालाई थाहा होला कि काँधहाल्न तछाडमछाड गर्नेलाई होला । मेरा भने हातगोडा लुला भए । आमाको गाला सुमसुमाउँदै जमिनमा पल्टिएँ । दानबहादुर काका आएर उठाउनु भयो । बच्चा छँदा आमाको पिठ्युँबाट कहिल्यै भुइँमा झरिनँ, अलग पनि भइनँ । आज आफैलाई अबोध बच्चा ठानेँ, आमाकै गुन्युको फेरो समाएर आमाकै चितामा जलेर जाउँ लाग्यो । मलामीहरू रोए भने उनीहरूको आँशुले मृतक आत्मा बैतर्णी पार गर्छ भन्ने कुरा बालक छँदा आमाको मुखार बिन्दुबाट सुनेको थिएँ । आज आमाको अन्तिम बिदाइमा नरुने कोही थिएन । सबै मलामीको आँखामा आँसु थियोे । आँसु बगाउन नसकेका मलामीको मनभित्र आँसु थियो । आमाले गाउँ समाजका सबै मान्छेलाई रुवाएर अघि लाग्नु भयो । बिउरानी, मिलनचोक, मोतिसेरा, बिशालबजार, भट्टेसेरा हुँदै मलामीसँगै आमा बसन्तेकुण्टा पुग्नु भयो । जहाँ मामा र आमाकी बहिनी नानाको पनि अन्तिम संस्कार भएको थियो ।

हामी पुग्नु अगाबै मलामीहरूले चिता बनाइसकेका रहेछन् । घरबाट हिँडेपछि आमाले एक ठाउँ पनि लामो समय लिएर विश्राम गर्ने अवसर पाउनु भएन । हतार–हतारमै आमा चिताभित्र जानुभयो । पण्डितको अन्तिम कर्मसँगै चितामा दनदनी आगो बल्यो । दागबत्तीको आगोले जब उग्र रूप लिएर सल्कियो आफूले आफैलाई सन्तानको नाउँमा अपराधी जस्तो ठानेँ । चितामा दागबत्ती दिएर पाप गरे जस्तो अनुभूति भयो । ढुङ्गामाथी बसेँ र सोचेँ अन्तिम संस्कारमा भाग लिएर क्रियाकर्मको माध्यमद्वारा पृतिहरूलाई स्वर्गको द्वार खोल्ने सन्ताननै खास सन्तान हो भन्ने ठानेँ । हरेक आमाबुवाले छोराको लागि गरेको कठोर तिर्थव्रत सम्झेँ । साथै छोरा नभएका दमपत्तिहरूले धर्मपुत्र छोरालाई आफ्नो छोरा बनाएका घटना सम्झेँ । दागबत्ती दिनु अघि आमाका पाउ समाउँदै शीर राखेर अन्तिम आशीर्वाद मागेको थिएँ । चितामा दागबत्ती दिनु पर्ने भएकोले आमा मलाई माफि दिनुहला भनेर याचना पनि गरेको थिएँ ।

आमाका सुन्निएका पाउ आज ओइलिएका थिए । खोलाका ढुङ्गाजस्तै चिसो हात गोडा थिए । नाक–कानबाट गहना झिकिएको थियोे । अनुहार अबोध बालकको जस्तै सौम्य थियोे । आँखा र मुख बन्द थियोे । कुनै ध्यानमा लिन महात्मा जस्तै । आमाको अनुहार धेरैबेर हेरिरहेँ तर आमा मतिर फर्कनुनै भएन । आमाको अनुहार हेरेर मन अघाएन जति हेरौँ उति हेरीरहुँ लाग्यो । पदम साला र धनबहादुर दाइले आमाको अनुहार बस्त्रले छोपिदिए । खोलाको ढुङ्गामा आएर म थच्क बसेँ, रिङ्गाटा चल्यो । जलिरहेको चिता हेर्दै बलिन्द्र आँसुका धारा गुटु खोलामा बगिरहे । नरो भनेर सन्त्याउन कोही आएनन् उता ठुलदाइ, माल्दाइ र मलामी सबै रुँदै थिए । हिक्कहिक्क गर्दै धेरैबेरपछि मन थामियो ।

हिजोदेखि मुखमा पानीको छिटो पनि परेको थिएन । भोकप्यासको महशुस पनि भएन । चितामा आगो खडेरीयामको भुमरीजस्तै भएर सल्कियो । आमामाथि आकाशबाट हामीलाई चियाउँदै हुनुहोला जस्तै लागिरह्यो । चिताबाट खरानीका कणहरू आकाशमाथि उडेर पुनः भुइँतिरै ओर्लदै थिए । कणको रूपधारण गरेर आमा तल ओर्लेझै हुन्थ्यो । खरानीका कण शरिरमा टाँसिदा आमानै टाँसिएको अनुभूति हुन्थ्यो । आमा केही समयमै हावा, आगो र पानीमा बिलिन हुनु भयो । रामनाम–सत्यहो । राम–राम, हरी–हरी भन्दै माटो, जौ, तिल, पानी आदीले तिलाञ्जली तिदै चिताको आगो निभायौँ । बचेको सानो अस्तुलाई कपडामा बेरेर पानीमुनी दफनायौँ । बचेका अँगार, खरानी र मुडाहरूलाई पानीमा बगायौँ । खरानी र कोइला बगाएपछि चिताको तल आमाको एउटा खुट्टा तिर भागको हाडको टुक्राको देखँे । उक्त अस्तुलाई पानीमा बगाउने सोचले हातमा उठाउन खोजेँ अस्तु खरानी भएर बग्यो । आमा पानीमै बिलिन हुनु भयो । आँखाबाट आँसु अविरल झरी बनेर पानीमा मिसियो । मन समाल्न सकिनँ । अघि चितामाथि उडिरहेको हावामा बिलिन भएर आमालाई खोज्न जाउँ जाउँ भयो ।

मलामीहरू पनि फाटफुटी सकेका थिए । अर्थात् आआफ्नो घरतिर फर्कीसकेका थिए । अब नदी किनारमा थोरै मलामीहरू मात्रै बाँकी थिए । घाम अस्ताउन थोरै समय बाँकी थियो । क्रियापुल्तीमा ठूला बुवाको छोरा भगतलगायत हामी चार भाइ बसेका थियौँ । अब आमाको भौतिक शरिर हामीसँग थिएन बाँकी थियोे त केवल आमाको सम्झना । सम्झनामा अडेको आमाको माया । आमाको माया छातिभित्र संगाल्दै हामी घर फर्कियौँ ।

घर पुगेपछि घरमौरीले छोडेर गएको घार जस्तै लाग्यो । एक दिन, दुई दिन, तीन दिन हुँदै तेह्र दिन भएको थाहै भएन । आमाको तेह्र दिने क्रियाकर्म चलिरहयो । आमा भन्नुहुन्थ्यो, ‘आफ्नो–पराई थाह हुने जिउँदाको जन्ती र मर्दाको मलामीमा हो ।’ को आफ्नो को पराइ हो त्यसको परिक्षणकाल भनेकै संकटको बेला रहेछ । आमाले भनेका कुरा सम्झेँ । आमा बितेको दुइदिन नहुँदै आफ्नै भन्नेहरू हतार–हतार गरेर कामको चटारो देखाउँदै छोडेर गए ।

आमा बितेको मात्रै दुई दिन भएको थियो । सुर्खेतबाट पहल असिम र महेश के भट्टराई टुप्लुकै आगनमा पुगे । मन चङ्गा भयो । अंगालोमा बेरिएर छाति मिलाउझै लाग्यो । समाजले थुपारेको साघुँरो चौघेरामा बाँधिएकोले नमस्कार आदान–प्रदान गर्नेसम्म छुट थिएन मलाई । म कुन युगको नागरिक हुँ आफूले आफैलाई प्रश्न गरेँ । अर्को युग सुरु भयो र मान्छे भएर जन्मने अवसर प्राप्त भयो भने त्यो युगको नीति निर्माण गर्ने सुरुवाती मान्छे भएर जन्मन पाउँ र यस्ता कुरुती परम्परालाई हटाउन सकुँ मनमनै सोचेँ ।

चौकुने साहित्य महोत्सव पनि संघारमै आउँदै थियोे । आपसी छलफलपछि महोत्सव तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धतासहित महेश र पहल फर्किए । भोलिपल्ट सरदजी उहाँकी धर्मपत्नी सर्मिला म्याम गुटु पुग्नु भयो । मनमा फेरि खुशी थपियो । आमाको तेह्र दिने क्रियाकर्म नजिकिदै थियोे । बाह्र दिनमा पिपलपानी हाल्ने दिन तय गरिएको थियोे । एघार दिनको बेलुका महेन्द्र चन्द महासागर, ऋषि शर्मा सुदामा र हेमन्त हेमलक गुटु पुग्नु भयो । पुग्न त दाजुहरूका आफन्त पनि आउनु भएको थियो । आफ्नो सम्बन्धले आएका मान्छे भएपछि मनमा खुसीको अनुभूति बेग्लै हुनेरहेछ । सुर्खेतदेखि पिपलपानी हाल्नै भनेर ममता म्यामका साथीहरू मदन खड्का, पदम थापा, रिता दिदी, कोकिला म्याम, उर्मिला म्याम, ज्ञानु म्याम, अर्जुजंग सर पनि पुग्नु भएको थियोे । उहाँहरूको टिमलाई देखेर हामी त खुसी हुनेनै भयौं गाउँलेहरू पनि दङ्ग परेका थिए ।

सम्बन्धले आफ्नो–पराइ नभन्ने रहेछ । पराइलाइ पनि नजिक बनाउने सम्बन्धले नै रहेछ । आफ्नै भन्नेहरू आमाको पिपलपानी तिथिमा सरिक भएनन् । नातानै नपर्ने टाढाका इष्टमित्रहरू बरु आमाको पवित्र पिपलपानी तिथिमा सरिक भए । अचेल लाग्छ आफ्ना भन्दा पराईनै आफ्ना हुँदा रहेछन् । आफन्तको व्यवहार देखाउनेहरू नै आफन्त हुन् । समस्या परेको बेला समस्या देखाएर तर्किनेहरू आफन्त हुनै सक्दैनन् । अचेल त्यस्तालाई आफन्तको सुचिबाट हटाएको छु ।

परम्पराअनुसार आमाको तेह्रौँ पुन्यतिथि फागुन ७ गते सकियो । ममता र म वीरेन्द्रनगर फर्कियौं, गरुंगो मन बोकेर । मनले सजिलो अनुभूति गरिरहेको थिएन, केही छुटेजस्तो, केही गुमाएजस्तो । आमाका सम्झनाहरू मनमा भरिन्थे र आँखाबाट पोखिन्थे । तर मनलाई आफैले सम्झाउनु त छँदैथियो– यो नियति हो, सबैले भोग्नुपर्ने, सबैले बेहोर्नुपर्ने । चाहेर पनि रोक्न नसकिने, छेक्न नसकिने–जीवनको एक त्रासदी ।

यता चौकुने साहित्य महोत्सवको फाल्गुन १२ र १३ को मिति भने पाहुनाको प्रतीक्षा गर्दै नजिकिँदै थियो ।

प्रकाशित मितिः   २५ चैत्र २०७९, शनिबार ०५:०५