यात्रा र सामान

कुनै पनि यात्रामा आफ्नो प्रयोजनका लागि मात्र थोरै सामान भएको हलुँगो झोला बाहेक मलाई ज्यादा सामान बोक्न पटक्कै मन पर्दैन । नयाँ ठाउँमा जाँदा आँखाभरी सम्झना बोकी ल्याउन मनपर्छ । घरिनाले चिनो स्वरूप ढुंगामाटो सबै उठाउने भन्छिन् त्यसैमा हुन्छ बहस–पैरवी । मुद्दा प्रायः मैले नै हार्छु किन कि उनकाअघि जिद्दी गर्ने तागत हुन्न मसँग । काम विशेषले काठमाडौं जानुपर्ने हुँदा यही चैत १९ गतेलाई टिकट काटियो ।
‘जहाजमा जानेभए विष्णु बाबुको गाडीमा छोरीलाई सामान पठाइदिउँ, हजुर कलंकी लिन आउनुहोला ।’
‘अर्कोचोटी लगे हुँदैन सामान ? जहाजमा जाँदा पनि सुख नपाउनु ?’
‘सामान जहाजमा लैजानुस् भनेकी छु र ? कलंकी आएर टेक्सीमा हाली लैजान पनि आनाकानी गर्ने ?’ उनी चर्किइन् । यो मुद्दा पनि मैले हार्नु नै थियो नाइँनास्ती गर्नुको कतै कुनै औचित्य थिएन, त्यसैले भाइ विष्णु सापकोटाको गाडीमा सामान हालियो ।
घरबाट झोला बोकेर बाहिर आउँदा घरिनाले भित्रबाट पोलिथिन झोलामा हालेको एउटा पोको तेर्साइन् ।
‘यी यो कोइरालको फूल लगिदिनुस् न छोरीलाई’
‘लान्न…लान्न ठाउँ छैन झोलामा ।’
‘हलुंगो छ हातैमा समाउन मिल्छ ।’
‘किन समाउनु हातमा ?’
बिदाबादी भएँ कोइरालको फूल छोडि हिँडे । सुर्खेत एअरपोर्ट पुगेर भित्र पस्दै थिएँ कोही महिलाले बाहिरै सोधिन्, ‘तपाईं कहाँ जाने ?’
सोध्ने महिला पुलिस पनि होइनन् । त्यसरी कहाँ जाने भनेर ठाडै किन केरकार गरेको होला मलाई थोरै ताजुब लाग्यो ।
‘काठमाडौं जाने ।’ मैले जवाफ दिएँ ।
‘त्यसोभए सामान लग्दिनुस् न है ?’ घरै पिँडालु, वनै पिँडालु, ससुराली जाँदा बाह्रहाते पिँडालु !
‘लानुको दुखले आफ्नै सामान त घर छोडेर आइयो ।’
‘लगिदिए के हुन्छ र तपाईं त कस्तो…।’ उनी के के भन्दै थिइन् म हिँड्दै गरेँ । चिन्नु न जान्नु ढुंगाले हान्नु । म चुपचाप भित्र पसेँ ।
अर्काको सामान लगिदिँदा टन्टा व्यहोरेको रमाइलो घटना सुनाएका थिए मेरा रंगकर्मी मित्र गणेश गौतमले । उनका अनुसार घटना २०५३ सालतिरको रहेछ । गौतम दम्पती सुर्खेतबाट काठमाडौं जाँदा आफन्तिको एक थैला चामल पनि लगिदिनुपर्ने भएछ, चामलवाला विद्यार्थी गंगोबु बसपार्कमै लिन आउने सर्तमा । बोक्ने बस छँदैछ लिन मान्छे आइहाल्छ त्यसर्थ गौतमले जिम्मेवारी सहर्ष स्वीकारेछन् । भोलिपल्ट बिहान बसपार्कमा चामल ओराली सक्दा सम्बन्धित विद्यार्थी कतै देखिँदैनन् । निकैबेर कुर्दा पनि आएनछन् । वरिपरि कतै (एऋइ) सार्वजनिक फोनबुथबाट चामलवालाको घरभेटीलाई फोन गर्दा विद्यार्थी त पढ्न कलेज गएका छन् भन्ने कुरा थाहा लागेछ । त्यसपछि अरु कुरिरहनुको केही औचित्य भएन छ । आफ्नो गन्तव्य एकातिर चामल अर्कोतिर, जिम्मेवार भइ ल्याएको चामल बेवारिसे छोडिदिनु पनि भएन । टेक्सीमा चामल हालेर आफ्नै गन्तव्य सानीमा सासुको घर हिँडेछन् ।
‘ओहो किन यसरी चामल बोकेर आउनु परेको छोरी ज्वाईंले ? हाम्रामा आउँदा त्यत्रो चामल लिएर आउनु पर्छ त ? किन त्यसरी दुःख गर्नु परेको होला !’ दम्पतीले टेक्सीबाट चामल झार्दै गरेको देखेपछि कौसीमा उभिएर सानीमासासुबाट आश्चर्यपूर्वकको संवाद व्यक्त भएछ । त्यो विषम परिस्थतिमा गौतम दम्पति मुखामुख गरेछन् । चामल थियोे आर्कैको भान प¥यो यताको । पछि बुझिन आएको यथार्थ व्यहोराले सानीमा सासुलाई पनि हैरान हैरान पारेछ ।
एअरपोर्टमा टिकट भिडाउन र सुरक्षा चेकजाँचको लागि लाइनमा उभिँदै गर्दा सामान सहित एउटी युवती नानी दौडदै नजिक आइन् । ‘अंकल ! अगाडि जाँदा यो सामान मेरो हो भनिदिनुहोला है ?’ फेरि अर्को लठारो आइलाग्यो ।
‘मैले त्यति भने पुग्छ ?’
‘हजुर हुन्छ । त्यति भने भैहाल्छ ।’ ती युवती मेरो सँगसँगै आइन् र अगाडि सामान तौलने ठाउँमा सामान हामी दुई जनाको हो भनिन् । एक यात्रीको तोकिएको तौल भन्दा ज्यादा सामान जहाजले नबोक्ने हुँदा युवती नानीले त्यस्तो चलाखी गरेकी थिइन् । बोर्डिङ पास गरेर जहाजमा बस्दै गर्दा ती नानी पनि मेरै छेउको सिटमा बस्न आइन् ।
‘तपाईंको सिट यही हो र ?’
‘हजुर यही हो ।’
‘तपाईंको सामानले त हामीलाई नजिकै पो पार्न थाल्यो । घर कहाँ हो नि ?’
‘यहीँ सुर्खेत बजार । हजुरको नि ?’
‘मेरो नेवारे ।’
‘नेवारे कहाँनिर ?’
‘स्कुलभन्दा थोरै मास्तिर । बाहिर पनि मलाई एकजना महिलाले सामान टाँसो लगाउन खोज्दै थिइन् ।’
‘मेरो आमा हुनुहुन्छ । यही सामानको लागि होला ।’
‘ए हो र ! म त सामाननै जिम्मा लगाउन खोजेको होला भन्ने ठानेको थिएँ ।’
‘आमाले भन्न जान्नुभएन होला बिचरा ।’
‘मैले पनि बुझ्न भ्याएनछु ।’ हाम्रो रमाइलो चिनजान हुँदै गर्दा भुइँ छोडेर जहाजले हामीलाई माथिमाथी आकाशमा उचालिरह्यो । कुनै प्रोजेक्टमा काम गरेकी अनुभवी ती नानी विदेश पलायन हुने तरखरमा कागजपत्र मिलाएर तारीखको पालो पर्खदै बसेकी रहेछिन् ।
‘काठमाण्डुमा कहाँ बस्नुहुन्छ अंकल ?’
‘बानेश्वर ।’
‘बानेश्वर कहाँ ?’
‘शान्तिनगर ।’
‘ए ! म पनि शान्तिनगरमै बस्छु ।’
‘हो र ? शान्तिनगर कहाँनिर ?’
‘नोगेन्द्रचोकमै यतापट्टी ।’
‘मेरो बिहानको घुमघाम त्यतै हुन्छ । आज हाम्रो कस्तो साइत जुरेछ त !’
‘संयोगको कुरा है अंकल !’ हामीसँगै हाँस्यौ । कहिले बादलको सेतो सहरमा रमाउँदै कहिले बादलकै कालो जंगलमा हराउँदै हामी पन्ध्र हजार पाँचसय फिट माथिको आकाशमा गफिएर उडिरहेका थियौँ ।
काठमाडौंको मौसम बिग्रेको रहेछ । अवतरणका लागि जहाज ओर्लदा कालो बादलमा पसेर बेस्सरी हल्लायो । अघिल्तिर महिलाहरू चिच्याएको सुनियो । सिमसिम पानी परेका कारण वातावरण एकाएक अँध्यारो थियो । करिब एक घण्टाको उडान अवधि पूरा गरेर बेलुका पौने ६ बजे जहाजबाट जमिनमा झ¥यौँ । गन्तव्य एकैतिर भएकोले टेक्सीमा सँगै जाउँला भनेकी थिइन् ती फरासिली युवतीले । त्यो उनको सदासयता हुनसक्छ, र हुन पनि सक्छ टेक्सीसम्म सामान ओसार्नका निम्ति मद्दत माग्ने अर्को जुक्ति । जे भए पनि उनको मीठो आग्रहलाई स्वीकार्न सकिएन किनकि एअरपोर्टमा मेरा छोराछोरी मलाई कुरि बसिरहेका थिए ।
…
‘ए लोकबहादुर ! कहाँ आइपुग्यौ बाबू ?’ भोलिपल्ट २० गते बिहान गाडीको कन्डक्टरलाई फोन गरेँ ।
‘मुङ्लिन आइपुगेको छु अंकल ।’
‘ओहो ! किन यति ढिलो त बाबु ?’
‘बाटोमा दुई घण्टा जाम प¥यो । नागढुंगाबाट हजुरलाई फोन गर्छु ।’
‘हुन्छ । तब म कलंकीतिरै कुरिरहने छु है ।’
कलंकीको कुराले एउटा घटना सम्झनामा नाचिहाल्छ । कुरा २०६७/०६८ सालतिरको हो । काठमाडौंमा जागिर गर्थें, बिदामा घर आएको र बिदा सकिएपछि फर्कने तरखर गर्दै थिएँ ।
‘काठमाण्डु फर्कने बेला हाम्रा केटाकेटीका अलिकति किताब र सामान छन् लग्दिनुपर्ला भाइ’ मेरा बालसखा तथा दाइ रामप्रकाश सापकोटाले भनेपछि मैले नाइँनास्ती गर्ने कुरै रहेन ।
‘हुन्छ दाइ केटाकेटीहरू मेरो कोठामै आएर सामान लैजान्छन भने यहाँबाट त म लगिहाल्छु नी ।’ सामान थोर्थोरै होला सीट माथिको ¥याकमा घुसार्दा अटिहाल्ला भन्ठानेको त सामान एकभारी रहेछ बसको तल डिक्कीमा हाल्नुप¥यो । सामान धेरै रहेछ त दाइ भन्नू पनि भएन, अब यो सामानले काठमाडौं कलंकीबाट टेक्सी नै खोज्छ भन्ने मनमा लागिहाल्यो ।
भोलिपल्ट कलंकीमा ओर्लेर सामान झार्दा गाडी मोटरको चहलपहल एकदम पातलो थियोे । खान नपाएको कोही राजनीतिक दरिद्र पार्टीले राजधानी बन्दको घोषणा गरेको रहेछ । एउटा टेक्सी बत्तिदै आएको थियोे रोकें, दोब्बर भाडा पो माग्यो अचम्म लाग्यो ।
‘किन डबल भाडा भाइ ?’
‘आज बन्द हो नि सर ।’
‘आधा भाडा बन्दकर्तालाई दिनुपर्ने हो ?’
‘रिस्कमा चलाउनु पर्छ सर हामीलाई गरि खान गाह्रो छ ।’ त्यसो भनेर हुँइकिदै गयो, हेरेको हेरेइ भएँ । एकछिन पछि सार्वजनिक बस आयो चोकभन्दा धेरै तल गएर रोकियो । बोक्नलाई आफ्नो झोला छँदैछ दाइको नासो उचालेर कसरी दौडनु । एकातिर पिसाबले च्यापेर हैरान पारेको छ चर्पी वरिपरि कतै छैन, सामान छोडी टाढा जान पनि भएन । छोरालाई मोटरसाइकल लिएर आउनु भनेको थिएँ आएन । मोटरसाइकल बिग्रेर कतै वर्कशपमा बनाउँदै पो रहेछ त, लौ कस्तो आपत !
चर्पीको काम निप्टाउनका लागि सामान उठाउँदै एउटा होटेलमा पुगेको थिएँ, भातभान्साको लठारो पनि मेटेँ । अघाए पछि तागत पनि आयो, जसोतसो झोला र सामान बोकेर बसस्टेन्डमा त पुगेँ तर बस आउँदैन । निकैबेर कुरेपछि एउटा बस त आयो, बस चढ्ने मान्छेको भिडभाड छ मेरो सामान कसले उठाइदेला । जे परे पर्ला न्वारानदेखिको बल प्रयोग गरेर सामान भित्र हालियो । लगनखेलमा झारी कोठासम्म सामान बोक्नु त फेरि छँदैछ । टेक्सी भएको भए ढोकासम्म लगिदिन्थ्यो कस्तो आनन्द हुन्थ्यो । जीवनमा एउटा अनुभव दिएर गयो त्यो घटनाले ।
…
‘अहिले कहाँ आइपुग्यौ त बाबु ?’ समय नापेर लोकहादुरलाई फेरि फोन गरेँ । नौबिसे भन्ने बुझियो अरु कुरा केही पनि बुझ्न सकिएन । मोटरसाइकलको कागजपत्र फेला नपरेको कारणले हामीलाई अलि तनाव बनाएको थियोे, त्यही धन्दामा लागियो । छोरो कोठामै थियोे आफ्नो काममा व्यस्त रहेका कारण उसलाई झिंजो लगाउन मन लागेन, छोरी अफिस गैसकेकी थिइ । यति सबेरै नजानुस बुवा धेरै कुर्नुपर्छ, छोराले त्यसो भने पनि नागढुंगाबाट लोकबहादुरको फोनको प्रतीक्षा गर्दै सार्वजनिक गाडी चढ्न हिँडिरहेको थिएँ फोन आयो ।
‘अंकल कहाँ हुनुहुन्छ म कलंकी आइपुगे त ।’
‘ओहोनी ! यति छिटो कसरी कलंकी आइपुगेको तिमी ? म त यतै बानेश्वरमै छु ।’
‘ठीक छ त्यसोभए बसपार्क आउनुहोला ।’ त्यो सुनेर म जति छक्क परेँ त्यो भन्दा ज्यादा झमेलाले सतायो । एक मन त लाग्यो लैजाउ लैजाउ लोकबहादुर आन्टीलाई त्यो सामान फिर्ता बुझाई दिनु भनौँ कि भन्ने पनि भयो । अब जतिसुकै अपायक परेर दिकदार लागे पनि मोटरसाइकल चढेर बाबुछोरा गोंगबु बसपार्क नगई भएन । हामी पुग्दा यात्रु ओरालेर गाडी थन्काउन पछाडीतिर लगिएको रहेछ । त्यहाँ भित्र टेक्सीलाई अनुमति रहेनछ । पैसा बुझेर मात्र अनुमती दिने कुन्नि कसले बनाएको हो नियम । छिमेकी लोकबहादुरसँग भलाकुसारी गरेर गाडीबाट ओर्लदै गर्दा छोराको फोन हातबाट फुत्किइ भुइँमा पछारिएर नोक्सान भयो । ती दुई थैला सामान लोकबहादुर र छोराले बाहिरसम्म काँधमा बोकी ल्याए । सामानले शारीरिक परिश्रम पनि माग्यो । प्रतिकूल समयको मौका हेरेर टेक्सीले आफ्नो दर भाउ तोक्छ । केही थोरै मोलमोलाइ पछि हाम्रो सामान बोकेर दौडियो टेक्सी दननन् । अनेक झन्झट व्यहोरेर त्यसरी सामान स्याहारियो ।
यात्रामा सामान बोकी हिँड्दा अनेकन उल्झन व्यहोरेका कारण अब आइन्दा दोहो¥याउने छैन भनी मनले जतिसुकै अठोट गरे पनि कथाले मागेपछि भूमिका निर्वाह नगरी नहुने बाध्यता आइपर्दो रहेछ । जीवन बाँच्नुपर्ने भएकोले उल्झन र झन्झटलाई पनि प्राप्तिमा लिनुपर्ने हुँदोरहेछ ।
भविस्यमा रोचक बनेर यिनै घटना रहिरहन्छन् सम्झनामा ।

उमालाल आचार्य ।