‘देख्नेबित्तकै उनी मेरै हुन् जस्तो लाग्यो’

कोही व्यक्तिहरू यस्ता हुन्छन् जसलाई देख्ने बित्तिकै राम्रो लाग्न थाल्छ, अनि बोलौं–बोलौं जस्तो लाग्छ । त्यो व्यक्ति किन–किन आफ्नै नजिकको मान्छे हो जस्तो महसुस हुन्छ । त्यस्तै महसुस हरि थापालाई पनि कृष्णालाई देख्ने बित्तिकै भएको थियो ।

विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुँदा पहिलो पटक थापाले कृष्णालाई देखेका थिए । कृष्णालाई देख्ने बित्तिकै हरिलाई उनी आफ्नै मान्छे हुन् जस्तो लाग्न थालेको थियो । विस्तारै उनीसँग नजिक हुँदै बोल्दै गए अनि दुवैको विचार पनि मिल्यो । भनिन्छ नि लेखेको कुरा कसैले पनि मेटाउन सक्दैन । यस्तै हरि र कृष्णाको भाग्यमा पनि एकअर्काेलाई पाउने लेखेकै थियो त्यसैले हरिले कृष्णालाई देख्ने बित्तिकै आफ्नै जस्तो ठाने ।

पिता रामबहादुर थापा र माता चन्द्रादेवी थापाको कोखबाट वि.सं. २०२८ सालमा कुनाथरी गाविसमा जन्मिएका हरि थापाको बाल्यकाल गाउँमा नै रमाइलोसँग बित्यो । बाल्यकालमा अलि बढी जिज्ञाशु स्वभावका थिए । जे कुरामा पनि चासो दिने गर्थे । पढाइ सकेपछि थापाले गाउँकै विद्यालयमा अध्यापन गराए । थापाको बाल्यकालको सपना भविष्यमा राजनीतिमा लाग्ने थियो । उनी स्कुल छँदा विद्यार्थी संगठनमा पनि लागेर काम गरे । राजनीतिको मोहलाई छोडेर उनले व्यापार व्यवसाय सुरु गरे । सबैले देखेको सपना पूरा हुँदैन त्यस्तै थापाको सपना पनि पूरा हुन सकेन । उनले आफ्नो बाल्यकालको सपना छोडेर व्यापार व्यवसाय सुरु गरे ।

विद्यार्थी संगठनमा लागेकै समयमा थापाले कसैलाई मन पराइसकेका थिए । विद्यार्थी संगठनमा विभिन्न कार्यक्रमहरू गर्दै हिँड्ने क्रममा उनले जीवनमा साथ दिने साथी भेटाए । उनले मन पराएको केटी अरु कोही नभएर कष्णाकुमारी वंशी थिइन् । देख्ने बित्तिकै थापाले कृष्णालाई मन पराइसकेका थिए । कृष्णा पनि त्यतिबेला विद्यार्थी संगठनमा नै लागेकी थिइन् । दुवै जना विद्यार्थी संगठनमा लागेका समयमा एक कार्यक्रममा उनीहरूको भेट भएको थियो ।

एकले अर्काेलाई कार्यक्रममा देखेपछि एकअर्काेको आनीबानी र विचार मिलेपछि मन पराएका थिए । कृष्णाको विचार हरिलाई मनप¥यो अनि उनले प्रेम प्रस्ताव राखे पनि । कृष्णाले भने थापाको प्रेम प्रस्तावलाई केही समयपछि मात्र स्वीकार गरेकी थिइन् । उनलाई मात्र होइन हरेक केटी मान्छेलाई कसैको प्रेम प्रस्ताव स्वीकार गर्ने नगर्ने भन्ने केही समय त चाहिन्छ नै । जीवनको अन्त्यसम्मको साथी रोज्नु जो कसैलाई सहज छैन । त्यसैले कृष्णाले पनि थापाको प्रेम प्रस्तावलाई स्वीकार गर्नको लागि केही समय लिइन् । थापाको प्रेम प्रस्ताव स्वीकार गरेको दुई वर्षपछि मात्र दुवैको घरपरिवारको सहमतिमा उनीहरूले वि.सं. २०५५ सालमा विवाह गरेका थिए ।

पिता रक्षवीर वंशी र माता गंगादेवी वंशीको कोखबाट वि.सं. २०३५ सालमा दैलेखको काफलमेलामा जन्मिएकी कृष्णाको बाल्यकाल सुखद्सँगै बित्यो । घरकी कान्छी छोरी भएकाले सबैको माया ममतामा उनको बाल्यकाल बित्यो । उनी बाल्यकालमा जिज्ञाशु स्वभावकी थिइन् । केही पनि कुरामा चासो दिने गर्थिन् ।

विवाहपछि पनि कृष्णालाई पराइ घर पराइ जस्तो लागेन । सुरुमा केही नरमाइलो लागे पनि वीरेन्द्रनगरमा नै बस्ने भएकाले उनलाई विहे गरेर पराइ घरमा छु जस्तो सोच आएन । विवाह पछि सबै छोरीलाई पराइ घरमा आफूलाई रिजाउन गाह्रो हुने गर्छ । जन्मघरको नाता तोडेर पराइ घरसँगको नाता जोड्न जो कसैलाई पनि गाह्रो हुन्छ नै । नजिकलाई टाढा र टाढालाई नजिक बनाउनुपर्ने अवस्था सबै छोरीहरूको हुन्छ । तर, कष्णालाई भने यस्तो अनुभूति भएन । सबैको साथ र सहयोग श्रीमान्को मायाले उनलाई पराइ घर पराइ जस्तो लागेन ।

विवाहपछि यो जोडी एकआपसमा कहिले काहीं सामान्य झगडा भएको बताउँछन् । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमतीको झगडा भनेको परालको आगो हो, एकै छिनमा निभिहाल्छ ।’ श्रीमान् श्रीमती भएपछि एकआपसमा कहिले काहीं झगडा हुनु भनेको सामान्य नै हो । यो जोडी एकआपसमा झगडा गरे पनि एकै छिनमा बोलिहाल्छन् ।

दुवै जना समाजसेवामा लागेका भएर पनि दुवैको विचार पनि मिल्छ । घरको काम सकेर दुवै जना समाजसेवाका लागि बाहिर निस्कन्छन् । हरि अहिले उसु संघ सुर्खेतका अध्यक्ष, नेपाल मगर संघ सुर्खेतका सल्लाहकार, सिद्धार्थ सहकारी संस्थाका सल्लाहकार लगायत विभिन्न संघ–संस्थामा आवद्ध भएर काम गरिरहेका छन् । त्यस्तै कृष्णा पनि राष्ट्रिय आदिवासी जनजाति महासंघ सुर्खेतको अध्यक्ष, लगनशील सहकारी संस्था सुर्खेतको अध्यक्ष, नेपाल मगर संघ सुर्खेतको सल्लाहकारको रूपमा रहेरका काम गरिरहेकी छिन् । एकले अर्काेको कामलाई सम्मान र एकले अर्काेको भावना अनुसार व्यवहार गर्दा सम्बन्ध दिगो हुने उनीहरू बताउँछन् । श्रीमान् श्रीमती भनेका एकले अर्काेको दुःख सुखमा साथ दिने र दुवैले एकअर्काेप्रतिको सम्मान गर्दा सम्बन्ध राम्रो हुन्छ । उनीहरूका अनुसार श्रीमान् श्रीमतीको सम्बन्धको बीचमा तेस्रो व्यक्तिलाई आउन दिन हुँदैन । जब श्रीमान् श्रीमतीको बीचमा बाहिरको व्यक्ति प्रवेश गर्छ तब सम्बन्धमा खटपट सुरु हुन्छ । उनीहरूका अनुसार पछिल्लो समय श्रीमान् श्रीमतीको बीचमा तेस्रो व्यक्तिको कारण नै कतिपय सम्बन्धहरू पनि टुटेका छन् । त्यसैले सम्बन्ध राम्रो र दिगो बनाउनको लागि एकअर्काे बीचको विश्वास र समझदारीलाई बलियो बनाउनुपर्छ ।

हरि धेरै जसो बाहिर काममा जाने भएकाले कृष्णालाई घरमा सघाउने फुसर्द पाउँदैनन् । उनले कृष्णालाई घरको काममा सघाउन नपाए पनि प्रत्येक वर्ष घुमाउन भने लैजाने गर्छन् । समय निकालेर दुई छोराको साथमा परिवारसहित घुम्न जाने गर्छन् । थापालाई कृष्णाको सहनशीलता र समझदारी बानी मनपर्ने गर्छ । उनले भने, ‘मलाई उनको सहनशीलता र समझदारी बानी अति मनपर्ने गर्छ ।’ त्यस्तै कृष्णालाई पनि थापाको तार्किक शक्ति र क्षमता मनपर्ने गर्छ । उनी भन्छिन्, ‘उहाँको मलाई बोल्ने शैली र उहाँको क्षमता मनपर्छ ।’ कृष्णालाई थापाको अरुलाई छिटो विश्वास गरिहाल्ने बानी र कुरा नबुझेरै रिसाउने बानी भने अलि मन पर्दैन ।

यो जोडीका अनुसार जीवन भनेको नमर्ने बेलासम्मको संघर्ष हो । जीवनमा जसले संघर्ष सक्छ र जसले दुःख के हो बुझेको हुन्छ उसैले मात्र जीवनमा प्रगति गर्नसक्छ । जीवनलाई सधैं एउटा सुन्दर फूल जस्तै सम्झेर अगाडि बढ्नसके हरेक काममा सफल भइने उनीहरूको भनाइ छ । विवाह र प्रेम शब्दबीचमा यो जोडीले यसरी फरक देखाउँछन् । विवाह भनेको जीवनभरका लागि कसैको साथ माग्नु वा हात थाप्नु हो भने प्रेम भनेको जो कसैसित पनि गर्न सकिने चिज हो । विवाह एउटा व्यक्तिसँग गरिन्छ जोसँग मन साटिएको हुन्छ माया गाँसिएको हुन्छ । प्रेम त सबै मान्छेदेखि वस्तुलाई पनि गरिन्छ । प्रेम क्षणिक हुन्छ तर, विवाह क्षणिक होइन जीवनको अन्त्य नहुने बेलासम्म हरेक सुख–दुःखमा साथ निभाउन सक्ने व्यक्तिसँग हुन्छ ।

उनीहरूका अनुसार जीवनसाथी भनेको त्यो व्यक्ति हो जसले निस्वार्थ रूपमा जीवनको अन्तिम घडीसम्म साथ दिनसक्छ । हरेक दुःख–सुखमा साथ र सँगसँगै उभिएर यात्रा गर्नसक्छ त्यो नै जीवनसाथी हो । जो कोहीसँग शेयर गर्न नसकिएको कुरा जीवनसाथीसँग गर्न सकिन्छ त्यो व्यक्ति हो जीवनसाथी । जीवनसाथीविनाको जीवन सायद कसैले पनि कल्पना गर्न सक्दैन होला । सबैले चाहेका हुन्छन् की आफ्नो जीवनसाथी सबैभन्दा जाति होस् । हरेक कुरामा अग्रसर होस् र एउटालाई चोट लाग्दा अर्काेलाई दुखोस् त्यो नै जीवनसाथी हो । र, यस्तै जीवनसाथी हुन् हरि र कृष्णा ।

प्रकाशित मितिः   १ माघ २०७३, शनिबार ००:०१