थारु जाति र माघी पर्व

JB_Chaudharyथारु जातिको आफ्नो पहिचान बोकेको महान् राष्ट्रिय पर्वलाई स्थान विशेष अनुसार माघ, माघी, माघे संक्रान्ति, माघी देवानी भन्ने गरिन्छ । माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकालदेखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् । आ–आफ्नो ठाउँ अनुसार यसलाई, नयाँवर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा तथा आफ्ना दिदीबहिनीहरूलाई कोशेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ । यस पर्वमा धुमरु गीत गाउने, दफ मादल बजाउने र मघौटा गीत गाउँदै विभिन्न नाचहरू नाच्ने गरिन्छ ।

थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरेको छ । पुस २९ गते थारु सम्वत २६४० सकिएर माघ १ गते थारु सम्वत २६४१ सुरु भएको छ । २०५९ सालमा सरकारले माघीको अवसरमा थारु कर्मचारीलाई बिदा दिने निर्णयसँगै यो पर्वमा सोही वर्षदेखि काठमाडौंमा महोत्सवको रूपमा मनाउन थालिएको हो । चितवन, कपिलबस्तु लगायत पूर्वका जिल्लाहरूमा माघीलाई खिचरा महोत्सवको रूपमा मनाइन्छ भने दाङ जिल्लाभन्दा पश्चिमका जिल्लामा माघी महोत्सव वा माघी मिलन भनेर मनाइन्छ । केन्द्र, जिल्ला, क्षेत्र गाउँ–गाउँमा सामूहिक ढङ्गले महोत्सवको रूपमा मनाउने माघी विदेशमा बस्ने थारु दाजुभाइ, दिदीबहिनीहरू पनि एक थलोमा बसेर मनाउने राम्रो परम्पराको सुरुवात भएको छ ।

माघी पर्वको तयारी
माघी पर्व मनाउनका लागि १ महिना अगाडिदेखि नै तयारी सुरु हुन्छ । जसमा, खानाका परिकारहरू पकाउनका लागि काठ, दाउरा अनदीको चामलको गुलियो जाँड, रक्सी, वनबाट मालु र सालको पात टिपेर ल्याइ दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने आदि गरिन्छ । त्यसैगरी माघीमा अनिवार्य रूपमा बनाइने खानेकुरा ढिकुरी बनाउनका लागि भएसम्म मसिनो चामलको पिठो पिस्ने गरिन्छ । आ–आफ्नो गच्छे अनुसार नयाँ वर्षमा नयाँ कपडा लगाउनु पर्छ भन्ने सोच भएकाहरूले अनिवार्य रूपमा नयाँ लुगा किनिदिने गर्दछन् । यस वर्षमा माछाको परिकार अनिवार्य रूपमा बनाइन्छ । नजिकको खोला, तलाउमा माछा मारेर ल्याइ आगोमा सेकाइ सुकाएर राख्ने गरिन्छ र माघीको दिनमा पकाएर खाने तथा खुवाउने गरिन्छ । पुस महिनाको अन्तिम दिनलाई थारुहरूले ‘जीता मर्ना दिन’ भन्ने गरिन्छ । यस दिन माघी पर्वका लागि सुँगुरको मासु व्यवस्था गरिन्छ । प्रत्येक गाउँमा खासगरी बड्घरीया वा भल्मन्साको घरमा गाउँभरीको संगोलमा सुँगुर मारी आफ्नो गच्छे र आवश्यकता अनुसार मासु किनेर लाने गरिन्छ । यसै राती दाउरा संकलन गरी आगो ताप्दै ढुमरु गीत गाउने, डम्फु तथा मादल बजाउने, छोकरा, झग्रा र मघौटा नाच नाच्ने गरिन्छ । जसलाई ‘धुनी जगैना’ भनिन्छ । सोही रात महिलाहरूले चामलको ढिकुरी, रोटी, तिलको लड्डु, मुरही, खरीयाका साथै तरुल, गंजी, अनदी चामलको उसिनेको भात र खिचडी बनाउने गर्दछन् ।

माघी पर्वको सुरुवात र अन्त्य
माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि सुरु भएको मानिन्छ अर्थात् ‘जिता मर्ना दिन’ देखि माघी सुरु हुन्छ । यस दिन छरछिमेकमा गई ‘माघक टिप्पा’ चाख्ने निहुँमा अनदीको जाँड र सुँगुरको मासु खाने गरिन्छ । १ गतेको दिन जब बिहान भालेको पहिलो प्रहर सुरु हुन्छ तब साना ठूला सबै पुरुष दुई नदीको संगम दोभानमा र सुर्खेत जिल्लामा पातलगंगा कुवामा नहुउन जाने गरिन्छ । महिलाहरू कामकाजमा व्यस्त रहने भएकाले नजिकको खोला, कुवा, घाटमा गइ नुहाउछन् । कसैको कोखबाट सन्तानको जन्म नहुने वा जन्मेपछि मरीहाल्ने गरेको छ भने त्यस्ता जोडीहरू कुनै तीर्थस्थल वा दोभानमा गएर नुहाउने र सन्तानको बरदान माग्ने गर्दछन् ।

नुहाउने क्रममा सिक्का पैसा पहिलो पटक डुबुल्की मार्दा साथमा लिइ पानी भित्र छोडी दिनुपर्दछ । नुहाइ सकेपछि लोहोटामा पानी केही पैसा, फूल, अक्षता ढुंगाको देवतामा एकाग्र मनचित गराइ अर्पण गर्नुपर्दछ । आफ्नो टोलीको सबै जनाले जलअर्पण गरिसकेपछि चामलको अक्षताको टिका लगाउने गरिन्छ । नुहाइ घरमा फर्केपछि सबैजना पुरुषले सर्वप्रथम ‘निश्राउ कहार्ने’ गर्दछन् । घरको एउटा कोठामा एउटा एउटा ढकियामा चामल, नुन, उरुद (मास) राखिएको हुन्छ यिनै चामल, नुन, उर्दलाई अर्को छुटै भाँडाहरूमा पाँच–पाँच अञ्जुली झिकेर राखिन्छ यसै प्रक्रियालाई ‘निश्राउ कहर्ना’ भनिन्छ । यो निश्राउ जति झिकेर राखेको छ त्यसैमा केही थपेर माघी देवानीको दिनमा दिदीबहिनीलाई दिन जाने गरिन्छ ।

निश्राउ कहर्ना सकेपछि घरको जेठो पाको व्यक्तिबाट सुरु गरी आफूभन्दा पाका सबैसँग ‘स्यापा’ (ढोग भेट) लाग्ने र आशिश लिन गरिन्छ । आ–आफ्नो घरमा स्थावा ढोग लगेर खानपिन गरिसकेपछि छरछिमेक तथा गाउँघरमा आफ्ना मान्यजनहरूसँग ढोग स्यावा लागेर आर्शीवाद लिने र सानालाई आर्शीवाद दिनुका साथै माघी पर्वका मिठामिठा परिकारहरू खाने गरिन्छ । यसदिन सम्बन्ध बिग्रेका र बोलचाल बन्द भएकाहरू कहाँ गएर पनि स्थावा ढोग लाग्ने गरिन्छ । यसले खेतीपाती गर्दा वा अन्य बेला हुन गएका मनमुटाव तथा रिसिबीहरू बिर्सी सहिष्णुता सद्भाव, माया ममता पुनस्थापना गर्न, गराउन मद्दत गर्ने गर्दछ ।

माघिको भोलिपल्ट ‘माघी देवानी’ का दिन दाजुभाइहरूले आफ्नो दिदीबहिनीहरूलाई ‘निश्राउ’ कोशेली अनिवार्य रूपमा दिन जाने गर्दछन् । दाजुभाइले आफ्नो दिदीबहिनीहरूलाई सद्भावका साथ वर्षेनी दिने ‘निश्राउ’को ठूलो महत्व रहेको छ । माघ २ गतेका दिन दिदीबहिनीहरूले निश्राउ दिन आउने दाजुभाइको प्रतिक्षा गरेर बसिरहेका हुन्छन् । चेलिबेटीले आफ्नो दाजुभाइको स्वागत गर्दै मिठामिठा परिकार खान दिने गर्दछन् । यसले दाजुभाई र दिदीबहिनीबीचको सम्बन्ध अझ प्रगाढ र जीवन्त बनाउन मद्दत गर्दछ ।
माघी पर्वमा गरिने क्रियाकलापहरू
थारुहरूले माघ १ गतेदेखि नयाँ वर्ष थालनी भएको मान्दछन् । त्यसैले पुस मसान्तमा गत सालको सबै कारोबारको अन्त्य र माघ १ गतेदेखि नयाँ करोबारको थालनी गर्ने चलन रहेको छ । माघीको पहिलो हप्ताभित्र घरका सबैजना बसेर घर व्यवहार बारे छलफल गर्ने गरिन्छ । जस्तैः खेत जोत्ने वा छाड्ने, विवाह गर्ने कि नगर्ने, घरको काम गर्ने अगुवा कसलाई बनाउने, साहुमहार्जनको सँग व्यवहार गर्ने, आगामी वर्षको लागि योजना बनाउने गरिन्छ ।

त्यसैगरी सामूहिक कामकाजको सम्बन्धमा छलफल गरी छिनोफानो लगाइन्छ । गाउँभरीका व्यक्तिहरू भेला भइ गाउँको नेतृत्वकर्ता वरघर
(भलभन्सा÷महँताँवा) चयन गरिन्छ । त्यसपश्चात् चौकीदार, गुरुवा, केसौका, चिखया छनौट गरिन्छ । गाउँको साझा कुल्वा, मरुवा, बेठ बेगारी तथा सार्वजनिक काममा कसले कति जना लगाउने, गाउँको साझा देवीदेवता तथा विभिन्न पूजापाठमा कसको जिम्मेवारी के रहने भन्ने विषयमा बृहत छलफल गरी कामको योजना तयार पारिन्छ ।

माघी पर्वले थारु समुदायमा सामाजिक सहिष्णुता तथा समझदारी पूर्ण सम्बन्धको विकास गराउनुका साथै सवल एवम् सक्षम नयाँ नेतृत्वको चयन गर्ने सुअवसर प्रदान गर्दछ । छलफल प्रणालीबाट गाउँ विकासको योजना बनाइ सामुहिक हितका लागि सद्भाव बढ्ने गर्दछ । विभिन्न दैवीबाट बचाउन गुरुवाको व्यवस्था गरिने हुँदा सामाजिक परम्परा तथा संस्कारलाई जीवन्त राख्न मद्दत पुग्दछ किनकी थारु समुदायमा नाचिने विभिन्न नृत्यहरूमा गुरुवाको महत्वपूर्ण भूमिका रहन्छ । यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई प्रगाढ त बनाउँछ नै नयाँ काम कारोबारको थालनी गरी व्यक्तिगत तथा सामूहिक विकासका पूर्वाधारहरू तयार पार्न उत्प्रेरणा जगाउने गर्दछ ।

सरकारी तथ्यांक अनुसार थारु जतिको जनसंख्या (२०६८) १५ लाख ३३ हजार सात सय ८९ रहेको छ । त्यसो त थारु कल्याणकारिणीसभाले थारु जातिको जनसंख्या करिब ३० लाख रहेको भनि दाबी गरिरहेको छ तर यस सम्बन्धमा कुनै ठोस प्रमाण भने छैन । सुर्खेत जिल्लामा बसोबास गर्ने थारु जातिको जनसंख्या पुरुष दुई हजार ८ सय ६८ र महिला दुई हजार सात सय ६३ गरी पाँच हजार ६ सय ३१ अर्थात् ५.६८ प्रतिशत रहेको छ । जम्मा ३६ वटा गाउँमा सीमित रहेका थारु समुदायले यस वर्ष माघ ३ गते वीरेन्द्रनगर–१७, कालीमाटीमा माघी मिलन कार्यक्रम सम्पन्न गर्दैछन् । माघीको शुभ अवसर पारेर १ गतेका दिन, वीरेन्द्रनगरमा माघी विशेष कार्यक्रम सम्पन्न हुँदैछ । त्यसैगरी लखारगिन युवा क्लब कुन्टी र पहुँरा सांस्कृतिक समूह नयाँगाउँले १ र २ गते माघी मिलन शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछन् ।

स्थानीयस्तरमा थारु बस्तीरहेको गाउँ ठाउँमा माघी पर्व धुमधामसँग मनाउने गरिन्छ । यसलाई अझ भव्य र व्यापक रूपमा मनाउनका लागि प्रचारात्मक अभियान चलाउन जरुरी देखिन्छ । केवल थारु जातिमा माग सीमित नराखी अन्य जातिसँग सहकार्य गरी व्यापक रूपमा मनाउन उत्तीकै जरुरी छ । यस्ता चार्डपर्वहरू थारुमा मात्र सीमित राख्नु निश्चय पनि सान्दर्भिक र न्यायपूर्ण हुन सक्दैन । तर यसको उचित संरक्षण र प्रर्वद्धनका लागि सरकारी स्पष्ट नीति हुनु जरुरी छ । ताकी लोप हुने अवस्थामा गुज्रिन नपरोस् । यस्ता संस्कृति पराम्पराको संरक्षणमा टेवा दिनु आज सबै पक्षको समान जिम्मेवारी बनेको छ । अन्तमा महान् माघी पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूको उत्तरात्तर उन्नती, प्रगतिको कामनाका साथै देशको वर्तमान द्वन्द्व सदाका लागि अन्त्य भइ दिगो शान्ति छाओस् भन्ने कामना गर्दछु ।