‘मलाई माफ गर, यसकारण कि म तिमीलाई प्रेम गर्छु’

kryanti sharmaतिम्रो बारेमा म के लेखुँ ? कहाँबाट सुरु गरुँ, कहाँसम्म पुगेर अन्तय गरुँ ? म केही जान्दिनँ, जे जान्दछु म त्यो आफै मान्दिनँ । तिमीलाई थाहै छैन, म त लेखिरहेछु हरपल तिम्रो नाम, कोरिरहन्छु तिम्रो आकृति, महसुस गर्छु तिम्रो आभास, नियालिरहन्छु तिम्रो मुस्कुराहट ।
मलाई माफ गर, यसकारण कि म तिमीलाई प्रेम गर्दछु ।

प्रेमका कुनै कृत्रिम सजावत पनि त जान्दिनँ म । म मौनतालाई पनि त प्रेम नै ठान्दछु र थपिदिन्छु आफ्नै मौनता पनि ।
तिम्रो आँखालाई हेर्छु र सोच्दछु मेरो जीवनका धेरै सफलताका प्राप्तीहरूमध्ये ती आँखाका भाषा पनि त पर्दछन् नी, जो भाषालाई म मात्र बुझ्दछु ।

थाहा छ, अचेल म आफ्नै कदम पनि भिन्न पाउँछु । कहिँ पुग्न हतार भएजस्तै लाग्छ त कहि छिटो पुगिए जस्तै लाग्छ ।

यो मन पनि कति अनौठो छ, कति सुन्दर छ, कति प्रिय छ । जसमा झन् प्रिय मान्छेको चहपहल बढिरहेछ अचेल ।

तिम्रो आभासको चहलपहल त झन् यति प्रिय बनेको छ कि अचेल जसको अनुपस्थितिमा त मेरो श्वास पनि बन्द हुन्छ होला !
मलाई यस्तै लाग्छ, म तिम्रो मनसम्म पुगेको छु, तिम्रा भाकाहरूसम्म छु, तिम्रा आशातित आँखाहरूमा छु । खै, म जान्दिनँ तिम्रो आभासमा छु या छैन । तर म मान्दछु, म तिम्रो जीवनको कही न कही छु, कुनै न कुनै अध्यायमा छु । म प्रवेश छु तिम्रा सपनाहरूमा ।

शिखा,
म जाँन्दिन तिम्रो विगत र खोज्न पनि चाहन्न । म तिम्रो वर्तमानदेखि सुरु भएर भविष्यसम्म साथ चल्न चाहन्छु । म तिम्रा हर कदममा सँगै रहन चाहन्छु । तिम्रा पाइलाहरूसँगै म पनि चालिन चाहन्छु । तिम्रा सपनाहरूमा म पनि देखिन चाहन्छु । म जे जे चाहन्छु, त्यो तिम्रै अध्यायमा छु ।
मेरा बन्द आँखामा देखिने तिम्रा सुन्दर आकृतिहरूलाई कोर्न चाहन्छु ।

सुनन, मेरो श्वास तिम्रै नामले रोकिन्छ, तिम्रै नामले चल्दछ । तिमी मेरो जीवनको यस्तो खुुसी हौ कि जसको एक मुस्कुराहटले पनि म आफ्नो पुरै श्वास रोक्न सक्छु ।
अन्तमा, यो मेरो पत्र तिम्रै नाममा…

मेरो प्रेम तिमीसम्म पुगेर स्वीकृति माग्दैछ । हो, जति पटक सोध म यही भन्नेछु ।
तिमी बहार बनि आइदेऊ मेरो जीवनमा ।

सुनन, शिखा आइ लभ यु…

सायद यस्तै हुन्छ होला है तिम्रै पत्र । सायद यसरी कोरिदै हुनसक्छ । समेटिदै हुनसक्छ । तर यस्तै हुनसक्छ । म कल्पना गर्न त सक्छु नि, कसैको अनुमति विना नै ।