टुहुरा बालबालिकालाई सहयोग

साझा बिसौनी संवाददाता
सुर्खेत, ६ फागुन । 
बाबुआमाले छोडेपछि टुहुरा बनेका वीरेन्द्रनगर–२० बाङ्गेसिमलका तीन बालबालिकालाई खाद्यन्न तथा शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत विजयनाथ भेदी र उनका श्रीमती पूर्णा भेदीले पाँच हजार रूपैयाँ बराबरको खाद्यन्न सहयोग गरेका हुन् ।
बाबु र आमा दुवैले छोडेपछि ११ वर्षीया मञ्जु विक तथा उनका ९ वर्षीया बहिनी सम्झना र ६ वर्षीया भाइ अर्जुन टुहुरा बनेका थिए । अभिभावक नहुँदा साँझ र बिहानको छाक टार्नसमेत समस्या भएको खबर सञ्चारमाध्यममा प्रकाशित भएपछि भेदी परिवारले बिहीवार उनीहरूको घरमै पुगेर खाद्यन्न सहयोग गरेका हुन् । दैनिक उपभोग्य वस्तुहरूका साथै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत अन्य कर्मचारीहरूले उपलब्ध गराएको स्टेशनरी सामग्री पनि प्रदान गरिएको हो ।