प्रजातन्त्र दिवसमा विविध कार्यक्रम
साझा बिसौनी संवाददाता
सुर्खेत, ६ फागुन ।
६६ औं प्रजातन्त्र दिवसको अवसरमा बिहीवार वीरेन्द्रनगरमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । बिहीवार राजनीतिक दल र कर्मचारीबीच मैत्रीपूर्ण फुटबलका साथै नगर सरसफाइ गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको संयोजनमा बिहान नगर सरसफाइ गरिएको थियो । स्थानीय मंगलगढीचौकदेखि वीरेन्द्रचौकसम्म सरसफाइ गरिएको छ । त्यसैगरी बिहीवार दिउँसो राजनैतिक दल र निजामती कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल समेत सम्पन्न गरिएको छ । स्थानीय रंगशालामा भएको मैत्रीपूर्ण खेल ३–३ गोलमा बराबरी टुंगिएको थियो । नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवालको नेतृत्वमा राजनैतिक दलको टीम र सुरेशकुमार थापाको नेतृत्वमा निजामती कर्मचारीहरूको टीम मैदानमा उत्रिएको थियो ।
दिवसकै अवसरमा आज (शुक्रवार) बिहान साढे सात बजे प्रभातफेरी गरिने भएको छ । मंगलगढीबाट प्रभातफेरी सुरु भइ वीरेन्द्रनगरको विभिन्न स्थानहरूको परिक्रमा गरी जिल्ला विकास समितिको हलमा पुगेर अन्तरक्रिया गरिने जनाइएको छ ।
प्रजातन्त्र दिवसको दिन आज सुर्खेत लगायत देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदै छ । एक सय चार वर्ष लामो जहानियाँ राणा शासनको अन्त्य भइ प्रजातान्त्रिक व्यवस्था सुरु भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।
प्रकाशित मितिः ७ फाल्गुन २०७२, शुक्रबार ०७:०१
साझा बिसौनी संवाददाता ।