क्यान्सरका बिरामी बढ्दै

सुर्खेत: जिल्लामा क्यान्सरका बिरामी बढेका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन्, त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको संख्या ठूलो देखिएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० मा सुर्खेत जिल्लामा दुई सय ३८ जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो संख्या उपचारमा सहुलियत लिनका लागि आएकाको हो ।

सरकारले क्यान्सर रोगको उपचारका लागि आर्थिक सहुलियत उपलब्ध गराउने गरेको छ । उपचारमा सहुलियत पाउन थालेपछि बिरामीहरू पनि खुल्न थालेका छन् भने उपचारका लागि स्वास्थ्य संस्था पुग्नेको संख्या पनि वृद्धि भएको छ । सुर्खेतका नौ वटै स्थानीय तहमा क्यान्सरका बिरामी भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले क्यान्सर रोगका बिरामी बढेको बताए । यो वर्ष वीरेन्द्रनगरबाट ३६ जनाले उपचारमा सहुलियतका लागि सिफारिस लिएको गिरीले जानकारी दिए । गत वर्ष ४७ जनाले सिफारिस लिएका थिए ।

यसैगरी लेकवेशी नगरपालिकाबाट यो वर्ष ३० जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् । सिफारिसका लागि आएका बिरामीहरूमा फोक्सो, स्तन, पाठेघरको मुख, डिम्बासयलगायतमा क्यान्सर भएकाहरू रहेको उक्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश गिरीले जनाए ।

विगतमा क्यान्सर रोगका बिरामी नखुल्ने र अभिलेख पनि नराख्दा संख्या यकिन हुने गरेको थिएन । तर पछिल्लो समय सरकारले उपचारमा सहुलियत दिएपछि बिरामीहरू खुलेर आउने गरेका छन् । जिल्लाको बराहताल गाउँपालिकाबाट २० जना क्यान्सरका बिरामीले उपचारमा सहुलियतका लागि सिफारिस लिएका छन् । उपचारमा सहुलियत दिन थालेपछि बिरामीको अभिलेखिकरण हुन थालेको स्वास्थ्य शाखा प्रमुख महेन्द्रबहादुर खत्रीले बताए ।

पश्चिम सुर्खेतकै पञ्चपुरी नगरपालिकामा यो वर्ष १८ जना क्यान्सरका बिरामी फेला परेका छन् । पालिकाबाट उपचारका लागि १८ जनाले सिफारिस लिएको स्वास्थ्य शाखा प्रमुख गंगादेव गिरीले बताए । यसैगरी चौकुने गाउँपालिकामा पाँच जना क्यान्सरका बिरामीले उपचारका लागि सिफारिस लिएका छन् । जसमध्ये तीन महिला र दुई जना पुरुष रहेको स्वास्थ्य शाखा प्रमुख इन्द्रबहादुर जैसुरीले जनाए ।

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा २० जना क्यान्सरका बिरामीले नगरपालिकाबाट सहुलियत उपचारका लागि सिफारिस लिएका छन् भने गुर्भाकोट नगरपालिकामा १० महिला र १४ पुरुष गरी २४ जना क्यान्सरका बिरामी फेला परेका छन् । उनीहरूले उपचारका लागि नगरपालिकाबाट सिफारिस लिएका हुन् । नगर स्वास्थ्य शाखा प्रमुख महेशकुमार पुरीले पछिल्लो समय सर्नेभन्दा नसर्ने रोग फैलिरहेको जनाए ।

दैलेखमा गत आर्थिक वर्षमा ४८ जना क्यान्सर रोगका बिरामीले स्वास्थ्य सेवा कार्यालयबाट यातायात बापतको सेवा लिएका थिए । प्रतिव्यक्ति दश हजारका दरले बिरामीले यातायात रकम लिएका हुन् । सोही प्रयोजनका लागि आर्थिक वर्ष २०७८÷७९ मा प्रदेश सरकारले जिल्लामा चार लाख ८० हजार बजेट पठाएको जनस्वास्थ्य निरीक्षक नन्द्रलाल जैसीले बताए । उनका अनुसार अघिल्ला आर्थिक वर्षहरूमा वर्षभरीमा ११÷१२ जना मात्र बिरामी देखिने गरेपनि पछिल्लो समय बिरामी दोब्बरले बढेका छन् । नारायण नगरपालिकामा मात्रै २२ जनाले मासिक उपचार खर्चका लागि निवेदन पेस गरेको नगरप्रमुख लोमन शर्माले बताए । उनका अनुसार स्वास्थ्य उपचार सहयोग वापत नेपाल सरकारले मासिक पाँच हजार उपचार खर्च दिने गरेको छ ।

कर्णाली प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. केएन पौडेलका अनुसार परीक्षण गरिएकोमा दैनिक रूपमा ३÷४ जना क्यान्सरका बिरामी भेटिने गरेका छन् । उनले ६० प्रतिशत महिलाहरूमा क्यान्सरको समस्या देखिने गरेको र ४० प्रतिशत पुरुषमा समस्या देखिने गरेको जानकारी दिए । क्यान्सरबाट महिला बढी प्रभावित हुनुमा छिटोछिटो बच्चा जन्माउनु, उमेर नपुग्दै आमा बन्नु, सरसफाइमा ध्यान नदिनुजस्ता कारण रहेका छन् । महिलामा हुने क्यान्सरमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर प्रमुख छन् भने पुरुषमा घाँटी, मुखमा बढी क्यान्सरको संक्रमण देखिने गरेको डा. पौडेलले जनाए । ६० वर्षभन्दा माथिकामा क्यान्सर रोग देखिने गरेको उनले बताए । यसबाहेक सुर्तीजन्य, मादक पदार्थजन्य वस्तुको अत्यधिक सेवन, प्रदूषणयुक्त वातावरणमा काम गर्नु, खानपानमा ध्यान नदिनुजस्ता कारणले पनि रोग देखिने गरेको छ ।

प्रकाशित मितिः   २३ चैत्र २०७९, बिहीबार ०५:०५