कृषकलाई प्रोत्साहन

कर्णाली प्रदेशमा कृषि उत्पादनको प्रचुर सम्भावना छ । तर अहिले उत्पादन अत्यन्तै न्यून छ । उत्पादित वस्तुहरूको बजारीकरणमा पनि समस्या छ । जसले गर्दा कृषकले अपेक्षित लाभ लिन सकेका छैनन् । यद्यपि, कर्णाली प्रदेश सरकारले कृषक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । बाँझो जमिन उपयोग गर्ने र कृषि क्षेत्र विस्तार गर्ने उद्देश्यले प्रदेश सरकारले कृषक लक्षित विभिन्न कार्यक्रम सुरु गरेको छ । लक्षित वर्गका किसानलाई उत्पादनमा जोड्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको हो । सोही उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । कृषकको मागअनुसार सबै किसिमका व्यवसाय गर्ने किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था गरिएको हो ।

चालुु आर्थिक वर्षमा कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमका लागि प्राविधिक अनुगमनको काम सकिएको छ । प्रदेशका दशवटै जिल्लामा लागू भएको यो कार्यक्रम कार्यान्वयनका लागि अब कृषकसँग सम्झौता गरिनेछ । अन्नबाली, फलफूल खेती, पशुपालनलगायतमा किसानको मागका आधारमा अनुदानका कार्यक्रम दिइनेछ । सुर्खेत र दैलेखमा उक्त कार्यक्रम कार्यान्वयनका लागि दुई÷दुई करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी कालीकोटमा एक करोड ४७ लाख, सल्यानमा तीन करोड, रुकुम–पश्चिममा ७५ लाख, जाजरकोटमा एक करोड र जुम्लामा एक करोड ५३ लाख छुट्याइएको छ । हिमाली जिल्ला हुम्लामा दुई करोड, डोल्पामा एक करोड ३३ लाख र मुगुमा २८ लाख बजेट विनियोज गरिएको अधिकारीले जानकारी दिए । उनका अनुसार समूह, सहकारी र व्यक्तिगत रूपमा खेती गर्न चाहनेलाई ५० प्रतिशत अनुदानको कार्यक्रम राखिएको हो । यसका लागि साविक कर्णालीका पाँच जिल्लामा स्याउ–ओखर विकास आयोजना सञ्चालन गरिएको छ । बाँझो जमिनलाई उपयोग, कृषकले उत्पादन गर्ने फलफूल खेतीलाई व्यवसायीकरण गर्ने उद्देश्यले प्रदेश सरकारले उक्त कार्यक्रम सञ्चालन गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यो कार्यक्रमबाट कृषकले प्रत्यक्ष लाभ लिनेछन् । आवश्यक प्राविधिकको व्यवस्था गरिएको छ । कालीकोट, जुम्ला, डोल्पा, हुम्ला र मुगुमा सो कार्यक्रम सञ्चालन गरिएको हो । स्याउ–ओखर विकास आयोजनाका लागि पाँच करोड बजेट विनियोजन गरिएको छ ।

पछिल्ला वर्षहरूमा किसानहरू अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् । कर्णालीका हिमाली जिल्लाहरूमा स्याउ तथा पहाडी भेगमा सुन्तला खेती रुचाएको पाइएको छ । प्रदेशमा विगतको तुलनामा हाल फलफूल खेतीको क्षेत्र बढेको छ । यसकारण पनि अनुदानमूखि कार्यक्रमले थप कृषकहरूलाई कृषि उत्पदनमा आकर्षित गर्ने अपेक्षा गर्न सकिन्छ । तर यसरी वितरण गरिने अनुदान सदुपयोग गर्न भने जरुरी छ ।

प्रकाशित मितिः   १७ चैत्र २०७९, शुक्रबार १३:५२