मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

फेरिएला कर्णालीको सत्ता–समीकरण ?

सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (शुक्रवार) विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूचि छ । यसअघि उनलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने तय भएपनि कुन–कुन दलले उनलाई समर्थन गर्छन् भन्ने टुँगो लागेको छैन । पुरानै सत्तासमीकरणलाई कायम राख्ने वा केन्द्रमा बनेको नयाँ समीकरणअनुसार अघि बढ्ने भन्ने विषयमा सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) नै अलमलमा देखिन्छ । जसले गर्दा अन्य दलहरूसँग समन्वय नगरेरै मुख्यमन्त्री शर्मा विश्वासको मत लिन अघि सरेका हुन् । प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गर्नुअघिसम्म उनले अन्य दलसँग औपचारिक छलफल गरेका थिएनन् । पत्र दर्ता भइसकेपछि अनौपचारिक रूपमा छलफल भएपनि समर्थन जुटाउने विषयमा कुनै सहमति भएको छैन । नेताहरूका अनुसार शुक्रवार बिहान दलहरूका आआफ्नै बैठक बस्दैछन् । सोही बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा टुँगो लगाउनेछन् ।

कर्णालीमा अहिले नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) सहितको समर्थनमा माओवादीले सरकारको नेतृत्व गरिरहेको छ । केन्द्रमा माओवादी–कांग्रेसहितको नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिए पनि कर्णालीमा भने पुरानै समीकरणअनुसार सरकार सञ्चालन भइरहेको छ । माओवादी सकेसम्म कर्णालीमा सत्तासमीकरणमा एमालेलाई पनि साथमै लिएर जाने योजनामा छ । सबै दललाई समेटेर विश्वासको मत लिने तयारीमा प्रदेश सरकार रहेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए । यसका लागि औपचारिक रूपमा छलफल नभएपनि अनौपचारिक रूपमा छलफल जारी रहेको उनको भनाइ छ । जिसीका अनुसार केन्द्रमा भन्दा प्रदेशमा फरक समीकरण बन्न सक्नेछ । उनले भने, ‘एमाले सरकारमै छ । प्रदेशसभामा सम्मिलित सबै दललाई समेटेर विश्वासको मत लिनेगरी तयारी थालेका छौँ । कांग्रेस, माओवादी र एमाले मिलेर नै सरकार बनाउने पहल हुन्छ ।’ जिसीले प्रदेशमै नयाँ अभ्यास हुने खालको वातावरण सिर्जना हुनसक्ने बताए ।

जिसीले एमाले र कांग्रेससहितको समीकरण हुनसक्ने बताएपनि प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व दाबी गरेका कारण माओवादी नेताहरू सशंकित देखिन्छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा स्वभाविक रूपमा कांग्रेसको दाबी रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । सोही कारण पनि सत्तासमीकरणको सहजताका लागि माओवादीले एमालेको पनि समर्थन लिन खोजेको नेताहरू बताउँछन् । यद्यपि, शुक्रवारसम्म केन्द्रबाट आउने निर्देशनअनुसार समीकरण फेरबदल हुनसक्ने जनाइएको छ ।

एमाले पनि कर्णालीमा अहिलेको समीकरण कायमै राखेर अघि बढ्ने कसरतमा छ । यसअघि माओवादी र एमालेबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सोही सहमति जोगाउने गरी अहिलेको समीकरण कायम राखेर माओवादी नेतृत्वकै सरकार हुनुपर्नेमा एमाले देखिन्छ । एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले पहिलेकै समीकरण अनुसार अघि बढ्ने सहमति माओवादीसँग भएको जनाए । यद्यपि, यो अनौपचारिक सहमति हो, दुवै दलबीच विश्वासको मत लिने र सरकारको भविष्यका बारेमा औपचारिक छलफल भएको छैन । विश्वासको मत दिने विषयमा एमालेले आज बिहान आन्तरिक छलफल गर्दैछ । सोही बैठकले निर्णय गर्ने अध्यक्ष शाहले बताए । ‘प्रदेशमा आफ्नै अनुुकूलको निर्णय हुन्छ । पार्टी केन्द्रले यस विषयमा हस्तक्षेप गर्दैन’ शाहले भने, ‘अहिलेसम्म विश्वासको मत दिने नै भन्ने छ ।’

प्रदेशमा नयाँ समीकरण निर्माणबारे नेपाली कांग्रेस पनि अलमलमा रहेको छ । प्रदेश सरकारको नेतृत्वमा दाबी गर्दै आएको कांग्रेसले आज मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने वा नदिनेबारे कुनै निर्णय गरिसकेको छैन । कांग्रेसले पनि शुक्रवार बिहान छलफलका लागि बैठक राखेको छ । बैठकमा छलफल गरेर निर्णय गरिने संसदीय दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए । उनले केन्द्रको निर्देशन पनि महŒवपूर्ण हुने बताए । ‘पार्टीको केन्द्रीय निर्णयपश्चात् प्रदेशको ढाँचा परिवर्तन हुनेछ’ उनले भने । यद्यपि, बिहीवारसम्म सत्ता समीकरणका लागि माओवादीसँग कुनै छलफल नभएको समेत शाहीले जनाए ।

कर्णाली प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना सांसद छन् भने सरकारको नेतृत्व गरिरहेको माओवादीका १३, एमालेका १० सांसद छन् । त्यसैगरी एकीकृत समाजवादी र राप्रपासँग एक÷एक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।

प्रकाशित मितिः   १७ चैत्र २०७९, शुक्रबार १३:५१