राष्ट्रिय खेलकुदका लागि तयार हुँदै पूर्वाधार
सुर्खेत: दुई वर्षपछि आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णालीमा धमाधम पूर्वाधार विकास भइरहेको छ । यसअघि ठूला खेलकुद प्रतियोगिता सञ्चालन नगरेको कर्णालीलाई राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा भने निकै चुनौती हुने देखिएको छ । यद्यपि, प्रतियोगितालाई लक्षित गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ ।
प्रतियोगिताकै लागि केही पूर्वाधार निर्माण सुरु भइसकेका छन् । कुन जिल्लामा के–के पूर्वाधार बनाउने र त्यसका लागि कति बजेट लाग्छ भन्ने विषयमा आवश्यक छलफल र तयारी भइरहेको कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल बताउँछन् । दशवटै जिल्लामा पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारसँग एक अर्ब ३५ करोड बजेट माग गरिएको छ । रंगशाला निर्माणका लागि हाल एक अर्ब ५९ करोड बजेट रहेको छ । दशवटै जिल्लामा खेलपूर्वाधार निर्माण गर्नका लागि थप बजेट माग गरिएको सञ्ज्यालले जनाए ।
प्रदेश रंगशालाको ४० प्रतिशत काम सम्पन्न
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी निर्माण थालिएको सबैभन्दा ठूलो योजना हो, वीरेन्द्रनगरमा निर्माणाधिन प्रदेश रंगशाला । प्रदेश गौरवको रंगशाला निर्माणको काम हालसम्म ४० प्रतिशत सम्पन्न भएको छ । रंगशाला अन्तर्गत अन्तर्राष्ट्रियस्तरको कभर्डहलको ‘स्टक्चर’ को सबै काम सम्पन्न भएको छ । फुटबल मैदानको काम पनि सकिएको छ भने प्याराफिट निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको छ ।
प्रदेश रंगशालामा १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ । फुटबल मैदानका साथै भलिबल कभर्डहल, एथलेटिक्स ट्रयाक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन् । त्यस्तै, भीआईपी प्याराफिटको दुईतले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङसहित एक हजार पाँच सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण हुने परिषद्ले जनाएको छ । प्रदेश रंगशालामै ह्यान्डबल र बासकेट बललगायत खेलका लागि आउटडोर पनि बनाइनेछ ।
प्रदेश रंगशालाबाहेक पनि विभिन्न जिल्लामा खेल पूर्वाधार निर्माणको योजना बनाइएको छ । प्रदेश सरकार र खेलकुद परिषद्ले खेल पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेको सदस्य सचिव सञ्ज्यालले बताए । तर बजेट मुख्य चुनौती बनको उनको भनाइ छ । ‘पूर्वाधार निर्माणमा बजेट चुनौती देखिएको छ’ सञ्ज्यालले भने, ‘आगामी आर्थिक वर्षमा बजेट बढाउने गरी माग गरेका छौँ ।’ निर्माण थालिएका सबै संरचना प्रतियोगिता हुनुअगावै पूर्णरूपमा तयारी अवस्थामा राखिने गरी तयारीमा लागेको हो । उनका अनुसार प्रदेश रंगशाला २०८१ जेठ ११ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।
चार जिल्लामा कभर्डहल
प्रदेशका अन्य चार जिल्लामा कभर्डहल निर्माण हुँदैछन् । सल्यान, जाजरकोट, मुगु र हुम्लामा कभर्डहल बनेका छैनन् । सल्यान र जाजरकोटमा जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ । ‘दुई जिल्लामा जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ । बाँकी दुई जिल्लामा पनि आगामी आर्थिक वर्षमा काम थाल्नेगरी तयारी भइरहेको छ’ सचिव सञ्ज्यालले भने । दैलेख, कालीकोट, जुम्ला र रूकुमपश्चिममा भएका कभर्डहलहरूको स्तरोन्नति गरिनेछ । आगामि आर्थिक वर्षदेखि स्तरोन्नतिको काम सुरु गरिने जनाइएको छ ।
राष्ट्रिय खेलकुद प्रतियोगितामा केही खेलहरू वीरेन्द्रनगर बाहिर पनि सञ्चालन गर्ने योजना परिषद्को छ । सोहीअनुसार ती जिल्लाहरूमा पनि खेल पूर्वाधारको स्तरोन्नतिमा जोड दिइएको हो । दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु र रूकुुमपश्चिममा समेत प्रतियोगिता सञ्चालन हुनेछन् ।
ठाउँ–ठाउँमा रंगशाला
राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी विभिन्न स्थानमा रंगशालाहरू निर्माण थालिएको छ । रुकुमपश्चिमको चौरजहारी रंगशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । संघीय सरकारको ८५ करोडको बजेटमा रंगशाला निर्माण हुन लागेको हो ।
यस्तै प्रदेश सरकारको दुई करोड लागनीमा रुकुममै क्रिकेट मैदान बन्न लागेको छ । दुई वर्षभित्र सक्नेगरी बोलपत्र आह्वान भइ सम्झौताको प्रक्रियामा रहेको छ । मैदान तयार भएमा दशौँ राष्ट्रिय खेलकुदमा क्रिकेट प्रतियोगिता रूकुममा सञ्चालन गर्न सकिने जनाइएको छ ।
यसैगरी वीरेन्द्रनगर–५ को चिसापानीमा पनि खेलमैदान निर्माण गरिने भएको छ । शिक्षा विकास निर्देशनालयले खेल मैदान निर्माण गर्ने भएको हो । कर्णाली खेलकुद विकास परिषद् र वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरेर निर्माणको काम अघि बढाइने निर्देशनालयका इन्जिनियर सन्तोष थापाले जानकारी दिए । उनका अनुसार खेल मैदान निर्माणका लागि नगरपालिकासँग समन्वय भइरहेको छ । पालिकासँगको समन्वयमा काम गरिनेछ । निर्माणाधीन यो खेल मैदान गत आर्थिक वर्षमा निर्देशनालयले फिल्ड लेभलिङको लागि दश लाख बजेट उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा खेल मैदानका अन्य संरचनाहरू निर्माण गरिने थापाले जानकारी दिए । त्यसका लागि चालु आर्थिक वर्षमा निर्देशनालयले ५० लाख बजेट विनियोजन गरेको छ । बहूवर्षिय योजना अनुरूप काम हुनेगरी प्रदेश सरकारले बजेट थपेर काम अघि बढाइने भएको छ ।
पश्चिम सुर्खेतको पञ्चपुुरी नगरपालिका–६ मा वीपी रंगशाला निर्माण गरिने भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरेर नै खेल मैदान बनाउन लागिएको हो । यसका लागि शिक्षा निर्देशनालयले आर्थिक सहयोग गरेको छ । उक्त स्थानमा पनि गएको आर्थिक वर्षमा फिल्ड लेवलिङको काम सम्पन्न भइसकेको छ । यो वर्ष खेल मैदानका बाँकी काम सम्पन्न गरिने निर्देशनालयका इन्जिनियर थापाले जनाए । गत वर्ष गरिएको खेल मैदान निर्माणलाई पूर्णता दिन चालु आर्थिक वर्षमा निर्देशनालयले ५० लाख बजेट छुट्याएको छ ।
प्रकाशित मितिः १३ चैत्र २०७९, सोमबार ०५:०५
रजनी याेगी ।