खर्च कटौती

देशको अर्थतन्त्र कमजोर बनेको छ । आर्थिक संकटान्मुख अवस्थामा पुगेको छ । यो संकट न्यूनीकरणका लागि सरकारले खर्च घटाउने रणनीति अख्तियार गरेको छ । जसका लागि चालु आर्थिक वर्षको बजेटबाट हुने खर्चलाई कटौती गरिँदैछ । बजेट र खर्चको मितव्ययीता कायम राख्न संघीय सरकारको निर्देशनअनुसार कर्णाली सरकारले पनि खर्च कटौती गरेको छ । सरकारको वित्त सन्तुलन कायम राख्न खर्च कटौती र बजेट रोक्का गर्ने निर्णय गरिएको छ । कार्यान्वयन नभइसकेका केही आयोजनाको बजेट रोक्कासमेत गरिएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को बजेटबाट विभिन्न शीर्षकमा २० प्रतिशत रकम घटाइएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालुतर्फ २२ र पूँजीगततर्फ पाँच वटा शीर्षकका खर्च कटौती गरिएको छ ।

चालुतर्फ विभिन्न शीर्षकमा वितरण गरिने भत्तादेखि कार्यालय सञ्चालनसम्मको खर्चमा कटौती भएको छ । सरकारका पदाधिकारीलाई दिइने र मन्त्रालय तथा त्यसमातहतका कार्यालय प्रयोजनमा हुने इन्धनको खर्च पनि घटाइएको छ । यस्तै सवारी साधन मर्मत खर्च, मेशिनरी औजार मर्मत, सम्भार र सञ्चालन, सार्वजनिक सम्पत्तिको सञ्चालन तथा सम्भार, मसलन्द तथा कार्यालय सामग्री, छपाई तथा सूचना प्रकाशन, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठी खर्च, अनुगमन तथा मूल्याङ्कन, भ्रमणलगायतका शीर्षकमा विनियोजन गरिएको रकम कटौती गरिएको छ । खर्च कटौतीकै लागि यो वर्ष सञ्चालन हुने सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला स्थगित भएका छन् । त्यसैगरी पुँजीगत बजेटबाट पनि मेशिनरी तथा औजार, सवारी साधन खरिद, फर्निचर खरिद तथा मर्मत, भवनको संरचनागत सुधार खर्च, सार्वजनिक निर्माणलगायतमा हुने खर्च रोकिएको हो । फर्निचर र नयाँ सवारी साधन खरिद शीर्षकमा विनियोजित रकम खर्च नगर्ने र हाललाई स्थगित गर्ने निर्णय गरिएको हो ।

चालुतर्फ ८० करोडभन्दा बढी खर्च कटौती भएको छ । मन्त्रालयले खर्च कटौती गर्न निर्धारण गरेका २२ वटा शीर्षकका लागि यो वर्ष चार अर्ब १६ करोड ४८ लाख १७ हजार रूपैयाँ विनियोजन गरिएको छ । त्यसको २० प्रतिशत रकम कटौती गर्दा ८३ करोड २९ लाख ६३ हजार चार सय रूपैयाँ खर्च हुने छैन । यसैगरी पुँजीगततर्फ पनि पाँच वटा शीर्षकमा प्रदेश सरकारले यो वर्षका लागि एक अर्ब ४७ करोड २८ लाख ९८ हजार विनियोजन गरेकोमा यसको २० प्रतिशत हुन आउने रकम करिब २९ करोड ४५ लाख ७९ हजार रहेको छ । यसरी दुवैतर्फ गरी करिब एक अर्ब हाराहारीको बजेट खर्च कटौती हुने देखिन्छ ।

प्रकाशित मितिः   १० चैत्र २०७९, शुक्रबार ०५:०३