कर्णालीलाई पदक दिलाउने खेलाडी पुरस्कृत

सुर्खेत: कर्णाली प्रदेशलाई विभिन्न पदक दिलाउने खेलाडी पुरस्कृत भएका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

सन् २०२१ मा भारतको सिक्किममा सम्पन्न स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक विजेता सुर्खेतकी खगिसरा घर्तीलाई नगद दुई लाख र गत भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा भएको साफ महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता हुम्लाकी दीपा शाहीलाई ५० हजार रूपैयाँ प्रदान गरिएको छ । गत असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण विजेता सुर्खेतका दीपक हमाल र एथलेटिक्समा स्वर्ण विजेता जुम्लाका दुर्गबहादुर बुढालाई दुई–दुई लाख रूपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत जित्ने चार जनालाई एक लाख ५० हजारका दरले र कास्य पदक जित्ने ११ जना खेलाडीलाई एक लाख रूपैयाँका दरले पुरस्कार वितरण गरिएको छ । काठमाडौंमा सम्पन्न १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णालीलाई स्वर्ण दिलाउने सुर्खेतका सुरेश चौधरी र अजय विक तथा कालीकोटका भावना फर्साललाई २० हजार रूपैयाँका दरले पुरस्कार उपलब्ध गराइएको छ । सोही प्रतियोगितामा रजत दिलाउने सात जना खेलाडीलाई १५ हजारका दरले र कास्य पदक दिलाउने १६ जनालाई १० हजारका दरले पुरस्कार वितरण गरिएको हो । कर्णालीलाई पदक दिलाउने खेलाडीको सम्मान र उनीहरूमा थप उत्प्रेरणा बढाउन नगद पुरस्कार उपलब्ध गराइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

विजेता खेलाडीलाई नगद र प्रमाणपत्र उपलब्ध गराइएको छ । पदक विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै कर्णालीका सामाजिक विकास मन्त्री टेकराज पछाईंले कर्णालीमा खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । पूर्वाधार र अभ्यासको अभावमा पनि कर्णालीका खेलाडीले उत्कृष्ट नतिजा हात पारेको भन्दै उनले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धेरै पदक जित्नेगरी खेलाडीहरू तयार पार्ने बताए ।

त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले खेलकुदको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए । खेलाडीको पहिचान र उनीहरूका समस्या समाधान गर्न सकेमा आगामी दिनमा कर्णालीले थुप्रै पदक जित्ने उनको दाबी छ । त्यस्तै परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले वि.सं. २०८१ को मंसिरमा कर्णालीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न आवश्यक तयारीलाई तीव्रता दिएको बताए ।

प्रकाशित मितिः   १० चैत्र २०७९, शुक्रबार ०५:०१