निजी एम्बुलेन्सलाई अस्पतालमा रोक
साझा बिसौनी संवाददाता
सुर्खेत, ६ फागुन ।
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले निजी एम्बुलेन्सलाई अस्पतालभित्र प्रवेश गर्न रोक लगाएको छ । अस्पतालको मूल गेटभन्दा भित्र प्रवेश गर्न अस्पताल प्रशासनले रोक लगाएपछि निजी एम्बुलेन्सले दुई दिनदेखि बिरामी बोकेका छैनन् । अस्पतालको उक्त निर्णय फिर्ता हुनुपर्ने भन्दै उनीहरूले बिरामी नबोकेर विरोधमा उत्रिएका हुन् ।
अस्पतालले एउटा आफ्नै एम्बुलेन्स र अर्को भाडा लिएको एम्बुलेन्स सञ्चालनमा एकलौटी गर्न निजी एम्बुलेन्सलाई रोक लगाएको बताइएको छ । अहिले अस्पतालले आफ्ना एम्बुलेन्सलाई मात्र भित्री गेटसम्म जान र आउन पाउने व्यवस्था गरेको छ । तर, निजी एम्बुलेन्सहरूलाई भने अस्पतालले मूल गेटभन्दा भित्र पस्न नदिने गरी रोक लगाएको हो । जसको कारण निजी एम्बुलेन्सका चालकहरूले अस्पतालको यो निर्णयप्रति असन्तुष्टी पोखेका छन् ।
निजी एम्बुलेन्सका चालक धर्मराज रसाइलीले आफूहरूले बिरामी लिएर जाँदा अस्पतालले बाहिरी गेटमै रोक्ने गरेको बताए । उनका अनुसार गेटबाट भित्र लगेमा अस्पताल प्रशासनले चर्को जरिवाना तिराउने गरेको छ । स्रोतका अनुसार अस्पतालसँग अहिले दुई वटा एम्बुलेन्स भए पनि चालक भने एउटै छन् । अर्का चालक मोहन विष्टले बिरामी बोकेपछि भित्री गेटसम्म पु¥याउनुपर्नेमा अहिले त्यसो गर्न नपाइएको दुखेसो पोखे । यता अस्पताल प्रशासनले भने निजी एम्बुलेन्सका चालकहरूले बिरामीलाई इन्डोरभित्रै पुगेर बार्गेनिङ गर्ने गरेकाले उनीहरूलाई रोक लगाइएको जनाएको छ । अस्पतालका मेडिकल रेडर्कर विनोद बस्नेतले एम्बुलेन्सका चालकहरू इन्डोरभित्रै आएर हात, सामान समातेर बार्गेनिङ गर्ने गरेको गुनासो आएकोले त्यसलाई रोक्न आफूहरूले यो कदम चालेको बताए । बिरामीलाई पनि बसपार्कमा यात्रु तानेझैं गर्न खोजिएकोले व्यवस्थित बनाउन उनीहरूलाई भित्र आउन नदिएको उनको भनाइ छ । यस सम्बन्धमा अस्पताल विकास समितिले पनि अनभिज्ञता प्रकट गरेको छ । समितिका सदस्य पूर्णप्रसाद पौडेलले यस बारेमा आफूहरूलाई जानकारी नभएको बताए । अस्पतालले सरसफाइ लगायत पार्किङ्ग सुधारमा जोड दिएकोले केही कदम चालिएको तर बिरामीलाई गेट बाहिरै झोरेर हिँडाउने पर्ने बारेमा आफूलाई जानकारी नभएको उनको भनाइ छ ।
प्रकाशित मितिः ७ फाल्गुन २०७२, शुक्रबार ०७:१८
साझा बिसौनी संवाददाता ।