भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

सुर्खेत: शिव माध्यमिक विद्यालय धुलियाविटमा भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास गरिएको छ । वीरेन्द्रनगर ११ स्थित विद्यालयमा शुक्रवार घटना अभ्यास गरिएको हो ।

आपतकालीन प्रतिकार्य योजनामा भएका विषयगत क्षेत्रहरूमा उल्लेख गरिए अनुसारका गतिविधिहरू, विपत्को समयमा जिल्लाको विद्यमान क्षमता, गरिनुपर्ने प्रतिकार्य तथा वर्तमान अपुगता पहिचान गर्ने उद्देश्यले कृत्रिम घटना अभ्यास गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका दश वटा विद्यालयको सहभागितामा प्राकृतिक विपत्तीमा परेकाहरूलाई तत्काल उद्धार गरी प्राथमिक उपचार गरेर मानवीय क्षति हुन नदिन पूर्वतयारी अभ्यास गरिएको हो ।

आपतकालीन प्रतिकार्य योजना कार्यान्वयनका लागि तालिम प्राप्त वीरेन्द्रनगर नगरपालिकाका खोज तथा उद्धार कार्यदलहरूले तत्काल घटनास्थलमा पुगेर मानवीय क्षति हुन नदिन गरिने कार्यको प्रयोगात्मक अभ्यास गरेका थिए । विद्यालयका विद्यार्थीहरूले प्राथमिक उपचार प्रतिकार्यको भूमिका निभाएका थिए ।

विद्यालयको आयोजना तथा जोइन परियोजनाको सहकार्यमा भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास कार्यक्रम गरेको हो ।

प्रकाशित मितिः   २७ फाल्गुन २०७९, शनिबार ०५:०१