विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गरेको छ । शुक्रवार नगर प्रमुख मोहनमाया ढकालले चार जना अति विपन्न परिवारका सदस्यलाई बीमा परिचयपत्र हस्तान्तरण गर्दै कार्यक्रम सुरुवात गरेकी हुन् । खगेन्द्रप्रसाद शर्मा, वीरबहादुर नेपाली, कमला बैगार र तुल्सीकुमारी ढकाललाई विपन्न नागरिक स्वास्थ्य बीमाको परिचयपत्र वितरण गरिएको हो ।

यो कार्यक्रम अन्तर्गत नगरपालिकाले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्नेछ । हरेक विपन्न परिवारको बीमा गर्दा लाग्ने तीन हजार पाँच सय बराबरको रकम नगरपालिकाले नै तिरीदिने जनाइएको छ । हालसम्म नगरपालिकामा करिब तीन सय जनाले बीमाका लागि निवेदन दिएका छन् ।

परिचय पत्र वितरण गर्दै नगर प्रमुख ढकालले संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई हरेक नागरिकको पहुँचमा पु¥याउन बीमा कार्यक्रम लागू गरिएको बताइन् । ‘नेपाल सरकारले तोकेको अति विपन्न पहिचानको मापदण्डलाई अनुसरण गर्दै आर्थिक अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस भनेर हामीले यो कार्यक्रम सुरुवात गरेका हौँ ।’

बीमा कार्यक्रमले विपन्न नागरिकलाई पनि आफ्ना लागि सरकार छ भन्ने अनुभूति गराइने बताइन् । यस्तै छिटो छरितो सेवा प्रवाहका लागि नगरपालिकाले स्वास्थ्य संस्थाहरूसँग आवश्यक समन्वय गर्ने ढकालको भनाइ छ । स्वास्थ बीमा बोर्ड कर्णालीसँगको सहकार्यमा नगरपालिकाका १६ वटै वडाका अति विपन्न परिवारको पहिचान गरि बीमा कार्यक्रममा समावेश गरिने नगरपालिकाले जनाएको छ । जसका लागि स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश र नगरपालिकाबीच सम्झौतासमेत भएको छ । उक्त सम्झौता पत्रमा बीमा बोर्डकी कर्णाली संयोजक सिर्जना पौडेल र वीरेन्द्रनगर नगरपालिका नगर प्रमुख ढकालले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मितिः   २७ फाल्गुन २०७९, शनिबार ०५:०२