तेस्रो राष्ट्रपति बने रामचन्द्र

सुर्खेत: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीवार राष्ट्रपति निर्वाचित भएका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेलले घोषणा गरेको मतपरिणाम अनुसार पौडेलले ३३ हजार आठ सय दुई मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार सात सय २७ मतभार) ले मतदान गरेका थिए भने प्रदेशतर्फ ५१८ (२४ हजार आठ सय ६४ मतभार ) सांसदले मत दिएका थिए । चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरूको कूल मतभार ४९ हजार पाँच सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार तीन सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहेका छन् । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी भएनन् । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा रहेका छन् । त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी भएनन् । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका तीन सांसद मतदानमा सहभागी भएनन् । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादव अनुस्थित थिइन् ।

राष्ट्रपति निर्वाचित पौडेल पञ्चायतविरोधी गतिविधिदेखि निरन्तर ६ दशकसम्म सक्रिय राजनीतिमा छन् । समकालीन पाका नेतामध्येका पौडेल २०४८ सालदेखि संसदीय राजनीतिमा क्रियाशील छन् । यसबीचमा उनले पार्टी र देशको प्रमुख कार्यकारी नेतृत्वमा पुग्न निरन्तर संघर्ष गरे । तर, दुवैतर्फ कार्यकारी प्रमुख बन्ने मौका भने पाएनन् ।

पछिल्लो पटक संसदीय व्यवस्था, संविधान र लोकतन्त्रको पक्षमा बलियो अडान देखाएका पौडेललाई पछिल्लोपटक बनेको नयाँ राजनीतिक समीकरणले गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्ने बाटो तय गरेको हो । संसद्मा कुनै पनि दलको बहुमत नरहेको अवस्थामा अढाई महिनाअघि सत्ता राजनीतिबाट किनारामा परेको पहिलो दल कांग्रेस राष्ट्रपति चयनकै सन्दर्भमा गत मंसिरमा भएको चुनावी गठबन्धन फर्कियो । त्यही गठबन्धनको साझा उम्मेदवारको रूपमा कांग्रेसले पौडेललाई राष्ट्रपतिमा अघि सारेको हो ।

पौडेल २०१७ सालपछिका हरेक राजनीतिक संघर्षका साक्षी हुन् । पञ्चायत विरोधी संघर्ष र कठोर जेलजीवनदेखि प्रजातन्त्र पुनःस्थापना र गणतन्त्र प्राप्तिसम्मका आन्दोलनमा उनको नेतृत्वदायी भूमिका छ । जीवनभर कार्यकारी बन्ने चाह देखाएका पौडेल अहिले संवैधानिक राष्ट्रपतिको भूमिकामा पुगेका छन् । आफ्नो सक्रिय जीवनको उत्तरार्धमा राष्ट्राध्यक्षको जिम्मेवारी पाएका पौडेललाई सुखद् राजनीतिक अवतरण मिलेको छ ।

कांग्रेसभित्र समन्वयकारी र मध्यमार्गी भूमिकामा अब्बल ठहरिएका पौडेलले पछिल्लो दशकमा फरक नीतिगत तथा वैचारिक चिन्तनको अभ्यास र नेतृत्व गरे । कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहसहित नेताहरूको समेत राजनीतिक सामीप्यता पाएका पौडेलले कोइराला र सिंहसहित कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाहरूबीचमा विवाद र मनमुटाव हुँदा खेलेको मध्यमार्गी भूमिकाको अहिले पनि चर्चा हुने गरेको छ ।

मध्यमवर्गीय किसान परिवारमा जन्मिएर पञ्चायतविरुद्ध आन्दोलनमा सक्रिय भएका पौडेल राजनीतिक उचाई हासिल भएपछि पनि सादा जीवनमै रमाए । समाजवादी चिन्तक र स्पष्ट वक्ता पौडेल ६ पटक सांसद, पाँच पटक मन्त्री, उपप्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुखसमेत भए; पार्टीमा जिल्ला सदस्यदेखि काम गरेका उनी महामन्त्री, उपसभापति हुँदै कार्यवाहक सभापति भएरसमेत काम गरे । तर, यत्तिका जिम्मेवारीमा रहे पनि पौडेलले भ्रष्टाचारमा नमुछिएको, इमानदार र निस्कलंक छवि भएको नेताको परिचय भने कायम राखे ।

२०५१ मै सभामुख बनेका पौडेल २०५६ मा उपप्रधानमन्त्रीसमेत भए । त्यसयता उनले निरन्तर पार्टी र देशको प्रमुख कार्यकारी पदमा पुग्ने चाह देखाए । तर, उनले न त पार्टीमा सभापति बन्ने मौका पाए, न त प्रधानमन्त्री ।

२०६४ मा संविधानसभाको निर्वाचनपछि नेकपा माओवादी केन्द्र पहिलो दल बन्यो, कांग्रेस दोस्रो । पार्टीको सरकार बन्न नसक्ने अवस्थामा संसदीय दलको नेता बनेर प्रधानमन्त्रीको उम्मेदवार बन्न पाएका पौडेलले प्रधानमन्त्री बन्न १७ पटकसम्म प्रतिस्पर्धा गरे, तर विजय हासिल गर्न सकेनन् ।

तत्कालीन सभापति सुशील कोइरालाको अचानक निधन भएपछि १३औँ महाधिवेशनको सभामुखमा २०७२ मा पार्टीको कार्यवाहक सभापति बनेका पौडेलले पार्टी सभापति बन्न प्रतिस्पर्धा गरे, तर शेरबहादुर देउवासँग पराजित भए । त्यसयता देउवासँग अन्तरसंघर्ष गरेका उनी १४औँ महाधिवेशनबाट पार्टी सभापति बन्ने आशामा थिए । तर, आफ्नै नेतृत्वको गुटमा सन्तुलन मिलाउन नसक्दा उनी चुनावी मैदानमै रहेनन् । उनले मतदानसमेत गरेनन् । पाँच वर्षसम्म पार्टीमा देउवाविरुद्ध वैकल्पिक धारको नेतृत्व गरेका पौडेलले महाधिवेशनको मुखमा मैदान छोडेपछि देउवालाई सहयोग पुग्यो । त्यहीबेला देउवाले पौडेललाई उनकै निवासमा पुगेर ‘स्वास्थ्य राम्रो राख्न’ भन्दै राजनीतिक आश्वासन दिएर फर्किएका थिए ।

महाधिवेशनमा पौडेलको मौनताले देउवालाई सभापतिमा दोहोरिन बल पुग्यो । पौडेलले महाधिवेशनपछि पनि देउवाको साथ छोडेनन् । गठबन्धन सरकार चलाउनेदेखि चुनावी गठबन्धनसम्म देउवा–पौडेलको सहकार्य कायम रह्यो । चुनावपछि संसदीय दलको निर्वाचनमा राष्ट्रपति बनाउने वचन पाएपछि पौडेल देउवाको प्रस्तावक नै बसे । १० पुसमा कांग्रेस र माओवादीको गठबन्धन भत्केपछि सभापति देउवाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई मत दिने निर्णय पार्टीबाट गराए । त्यो बेला केही नेताहरू कांग्रेस विपक्षीमा बस्नुपर्ने अडानमा थिए । तर देउवाले लिएको अडानमा पौडेलले साथ दिए । प्रधानमन्त्रीमा दिएको त्यही विश्वासको मतको बलमा पुस १० मा बनेको एमाले र माओवादीको गठबन्धन भत्कियो जसको लाभ पौडेललाई पुग्यो ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७९, शुक्रबार ०५:०५