कर्णाली विकासको पहल गर्ने प्रतिबद्धता

सुर्खेत: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्णाली प्रदेशको विकासको लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलवार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मासहितको टोलीसँगको भेटमा मन्त्री मोदीले यस्तो बताएका हुन् ।

मन्त्री मोदीले कर्णालीको विकासको सवालमा आफूले निभाउनुपर्ने भूमिका निर्वाह गर्ने बताए । ‘कर्णाली प्रदेशको समग्र विकासका सन्दर्भमा मैले निर्वाह गर्नुपर्ने भूमिकाका लागि म सदैव तत्पर छु’ मुख्यमन्त्री शर्मासहितको प्रतिनिधिमण्डललाई मन्त्री मोदीले भने, ‘कर्णालीलाई समृद्ध बनाउने तपाईंहरूको यात्रामा सदैव सँगै हुन्छु तपाईंहरूलाई गर्नुपर्ने सहजीकरणमा म सदैव सँगै हुन्छु ।’

मुख्यमन्त्री शर्माले समृद्ध कर्णालीका लागि आफूहरूले चरणबद्ध रूपमा काम गरिरहेको बताए । आफूहरूको समस्यामा संघीय सरकारको पनि साथ खोजेको मुख्यमन्त्री शर्माको भनाइ थियो । भेटका क्रममा मन्त्री मोदी र मुख्यमन्त्री शर्माबीच बधाई साटासाटसमेत भएको थियो ।

मुख्यमन्त्री शर्मासहित भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीम प्रकाश शर्मा र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोतमन्त्री मंंगलबहादुर शाही संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेर मन्त्री मोदीसँग कर्णाली प्रदेशको विकासको विषयमा छलफल गरेका थिए ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७९, बुधबार १६:५४