चामल ढुवानी नहुँदा खाद्यान्न संकट

डिपोमा मौजदात भएता पनि टेण्डर प्रक्रिया नमिल्दा खत्याड गाउँपालिकामा चामल ढुवानी हुन सकेको छैन ।

सुर्खेत: चामल ढुवानीमा ढिलाई हुँदा हिमाली जिल्ला मुगुको खत्याड गाउँपालिकामा खाद्यान्न संकट देखिएको छ । गाउँपालिकाको वडा नं. ८ र ११ मा भोकमरी सिर्जना भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपबहादुर कार्कीले जानकारी दिए ।

पहिरोले गत असोजमा त्यहाँका स्थानीयको जमिनसँगै बाली बगाएको थियो । बारीको बाली पहिरोले बगाएपछि अहिले दैनिक छाक टार्नै समस्या भएको हो । खत्याड–११ का दलकृष्ण कार्कीले आफूहरू भोकमरीको चपेटामा परेको बताए । ‘बिहान–बेलुुकाको छाक टार्न समेत मुुस्कील भइरहेको छ । घरमा भएको अन्नपात सबै सकियो’ उनले भने ।

छिमेकी जिल्ला बझाङबाट चामल ल्याएर केही समय जोहो गरेपनि अहिले संकट पैदा भएको कार्कीले जनाए । त्यसमाथि चामल पनि महँगो छ । ‘दुई दिन पैदल हिँडेर जानुपर्छ’ कार्कीले भने, ‘स्थानीय बजारमा १५ सय पर्ने ३० केजीको मोटो चामल २२ सय तिरेर खानुपरेको छ ।’ महँगीको मारले थप समस्या निम्त्याएको उनी बताउँछन् । ‘घरमा एक हप्तालाई खाने अन्नपात छैन । बजार भाउ छोइसक्नु हुँदैन’ कार्कीले भने ।

चामल मात्रै नभएर अन्य खाद्यान्नसमेत नहुँदा समस्या भएको स्थानीय नागरिकहरू बताउँछन् । घरमा भएको जौँ, चामल लगायतका अन्नहरू सकिएपछि खानलाई समस्या भएको सोही वडाका गोरखबहादुर वर्डले बताए । उनले भने, ‘खाद्यले चामल दिएन । बजारभाउँ छोइसक्नु छैन । भएको अन्नपात सकियो ।’

रातापानीकै रामबहादुर कार्कीले घरमा खानका लागि अन्नपात नहुँदा बिहान–बेलुकाको छाक टार्नसमेत धौँ–धौँ भइरहेको बताए । खेतियोग्य जमिन बाढी–पहिरोले बगाउँदा निकै समस्या भइरहेको उनको भनाइ छ । ‘एक वर्षका लागि अन्नपात घरमै मौजदात हुन्थ्यो । अहिले घरको अन्नपातले एक महिनासमेत खान पुगेन’ कार्कीले भने । खाद्य व्यापार तथा कम्पनी लिमिटेडले चामल वितरण नगर्दा बजारमा दोब्बर मूल्यमा किनेर खानुपर्ने बाध्यता रहेको उनले सुनाए ।

एकातिर कृषकको बाली खेतबारीबाटै पहिरोले बगाएर भिœयाउन पाएनन्, अर्कोतर्फ खाद्य व्यापार तथा कम्पनी लिमिटेडले वितरण गर्ने सहुलियत चामलसमेत जिल्लामा छैन । कार्की थप्छन्, ‘यो वर्षका लागि खाद्यले पनि गाउँपालिकामा चामल नपठाउँदा थप समस्या भएको हो ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपबहादुर कार्कीले पनि खाद्य व्यापार तथा कम्पनी लिमिटेडले यो वर्षका लागि चामल वितरण नगर्दा समस्या भएको जनाए । उनले भने, ‘खाद्य डिपोले चामल वितरण गरेको छैन । कृषकको उत्पादनमा वर्षाले क्षति पु¥यायो ।’ उनका अनुसार तत्काल खाद्यान्नको समस्या हल गर्न पालिकाले तीन सय क्वीन्टल चामल वितरण गरेको थियो । तर अहिले अपुग भइसकेको छ । गाउँपालिकाले खाद्य व्यापार तथा कम्पनी लिमिटेडसँग ६ सय क्वीन्टल चामल माग गरेको छ । अन्य वडामा समेत खाध्यान्न अपुग रहेको कार्कीले बताए ।

तत्कालको खाद्य समस्या टार्नका लागि पालिकाले विभिन्न संघसंस्थाको सहयोगमा खाद्यान्न जुटाएर वितरण गर्दै आएको छ । ‘अन्य विकास निर्माणको खर्चसमेत कटौती गरेर नागरिकलाई सहज खाद्यान्न उपलब्ध गराउन पालिकाले पहल गरिरहेको छ’ कार्कीले भने ।

खाद्य व्यापार तथा कम्पनी लिमिटेड मुगु शाखा प्रमुख पुस्कर भामले टेण्डर स्वीकृत नहुँदा खत्याड गाउँपालिकामा चाम पठाउन नसकिएको बताए । तेस्रो पटक समेत टेण्डर नपरेको उनले जानकारी दिए । डिपोमा चामल भएता पनि टेण्डर प्रक्रिया नमिल्दा चामल ढुवानी ठप्प भएको उनको भनाई छ । सार्वजनिक खरिद ऐनमा रहेर कम्पनीले चामल वितरण गर्ने गरेको छ । तर उक्त गाउँपालिकामा तीन पटकसम्म टेण्डर स्वीकृत हुन सकेको छैन । हाल कम्पनीमा २२ सय क्वीन्टल चामल मौजदात रहेको भामले बताए । टेण्डर स्वीकृत हुने बित्तिकै चामल ढुवानी हुने उनको भनाइ छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले खत्याड गाउँपालिको खाद्यान्न अभाव सुल्झाउन सम्बन्धित क्षेत्रलाई भनिएको बताउँछन् । टेण्डर प्रक्रिया नमिल्दा चामल वितरण हुन नसकेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २४ फाल्गुन २०७९, बुधबार १६:५३