विद्युत विस्तार
कर्णाली विद्युतीकरणको योजना पूरा हुन सकेको छैन । अहिले पनि प्रदेशका दशमध्ये तीन जिल्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार हुन समेत सकेको छैन । हिमाली जिल्ला हुम्ला, डोल्पा र मुगु विद्युतविहीन छन् । विद्युत विस्तारको लागि काम थालिएको वर्षौ भइसक्दा पनि पूरा भएको छैन । विद्युत नहुँदा विकासका अन्य पूर्वाधार निर्माणमा समेत समस्या देखिएको छ । यद्यपि, तीन वटै जिल्लामा जतिसक्दो छिटो विद्युत विस्तार गर्नेगरी काम अघि बढाइएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार दुई वटा जिल्लामा आधाभन्दा बढी काम सम्पन्न भइसकेको छ भने एउटा जिल्लामा सडक पूर्वाधार नपुग्दा समस्या देखिएको छ ।
डोल्पामा राष्ट्रिय प्रसारण लाइन विस्तारको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । अब २० प्रतिशत काम बाँकी रहेको छ । आगामी चैत्र महिनाभित्रै विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्ने गरी काम भइरहेको छ । माघ महिनामै डोल्पालाई राष्ट्रिय प्रसारणमा जोड्ने योजना भएता पनि वर्षाले पोल बगाएपछि काम लम्बिएको हो । हाल जिल्लामा आवश्यक विद्युत पोल गाड्ने र तार विस्तारको काम धमाधम भइरहेको छ । सबै सामग्री डोल्पा पुगिसकेकाले चैत्रभित्रै प्रसारण लाइनमा जोडिने छ । राष्ट्रिय प्रसारण लाइन विस्तार भएमा डोल्पाका नागरिक विद्युतको पहुँचमा पुग्नेछ । यस्तै अर्को हिमाली जिल्ला मुुगुमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तारको ५० प्रतिशत काम सम्पन्न भएको छ । सामग्री ढुुवानीमा सहज भएकाले काम तीव्र गतिमा भइरहेको बताइएको छ । जिल्लामा पहिरोले बिगारेको ठाउँमा मर्मत गर्ने, पोल गाड्ने र तार विस्तारको काम भइरहेको छ । आगामी असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रसारण लाइन जोडिने गरी काम अघि बढाइएको हो । राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण हुम्लामा भने विद्युत विस्तारमा पनि कठिनाइ भएको छ । सडक पुगेसँगै विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तारको काम अघि बढ्ने प्राधिकरणले जनाएको छ । नेपाली सेनाले सडक निर्माणको काम गरिरहेको छ ।
कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला, मुगु र डोल्पाबाहेकका सात जिल्लामा भने विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ । नागरिकको सुविधाका साथै औद्योगिक विकासका लागि पनि विद्युतको पहुँच अपरिहार्य छ । विद्युत विस्तार नभएकै कारण कर्णाली औद्योगिक विकासमा पछाडि परेको छ । न राष्ट्रिय प्रसारण लाइन सबै जिल्लामा विस्तार हुन सकेको छ न त प्रशस्त सम्भावना भएर पनि कर्णालीबाटै पर्याप्त विद्युत उत्पादन हुन सकेको छ । कर्णालीमा विद्युत उत्पादनमा लगानी वृद्धिसँगै राष्ट्रिय प्रसारण लाइन विस्तारलाई सरकारले प्राथमिकता दिन जरुरी छ ।
प्रकाशित मितिः २३ फाल्गुन २०७९, मंगलवार ०५:०३
सम्पादकीय ।