‘समीक्षाको मृत्युमा मेला आयोजक र विद्यालय दोषी’
सुर्खेतमा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटनअघि निकालिएको र्यालीमा एक बालिकाको ज्यान गएको घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । घटना भएको एक महिनापछि सार्वजनिक भएको प्रतिवेदनले बालिकाको मृत्युमा मेला आयोजक सुर्खेत उद्योग वाणिज्य र बालिका अध्ययन गर्ने सुर्खेत होराइजन बोर्डिङ स्कुललाइ दोषि ठहर गरेको छ । गत मंसिर २३ गते कर्णाली एक्स्पो तथा व्यापार मेलामा निकालिएको र्यालीमा होराइजन माध्यमिक विद्यालयकी छात्रा समीक्षा आचार्यको ज्यान गएको थियो ।
उक्त घटनापछि जिल्ला शिक्षा समिति सुर्खेत र जिल्ला शिक्षा कार्यालय सुर्खेतले छानविन समिति गठन गरेका थिए । उक्त समितिले घटनाको प्रतिवेदन बिहीवार सार्वजनिक गरेको हो । प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले भने, ‘समीक्षाको मृत्युमा मेला आयोजक उद्योग वाणिज्य संघ र स्कुल नै मुख्य दोषी हुन्, शिक्षा कार्यालयको अनुमतिविनै उनीहरूले र्यालीमा बालबालिका प्रयोग गरे ।’
मेला आयोजक उद्योग वाणिज्य संघले र्यालीमा विद्यार्थी पठाउन निर्देशन दिएको र स्कुलले पनि शिक्षा कार्यालयको अनुमतिविनै विद्यार्थी सहभागी गराएकाले यो घटनामा उनीहरू नै मुख्य दोषी भएको निश्कर्ष छानविन समितिले निकालेको छ । जिल्ला शिक्षा अधिकारी शाहले थपे, ‘हाम्रो अनुमतिविना मेलाको र्यालीमा बालबालिका प्रयोग गरियो, स्कुल र मेला आयोजक नै मुख्य दोषी हुन् । शिक्षा कार्यालयको अनुमति विना बालबालिका कुनै पनि काममा प्रयोग गर्न मिल्दैन, आफूखुशी प्रयोग गर्दा समीक्षाको ज्यान गुम्ने अवस्था आयो ।’ प्रतिवेदन सार्वजनिक भए पनि आफूहरूले दोषीलाई कारबाहीको सिफारिस भने गर्न नमिल्ने उनको भनाइ छ । यद्यपि राष्ट्रिय मानवअधिकार आयोगले पनि यो घटनाको छानविन गरेकाले उसैले नै कारबाही र सजायको सिफारिस गर्ने उनले जनाए । उनका अनुसार घटनाको छानविन गर्न तीन सदस्यीय समिति गठन गरिएको थियो ।
यो छानविन समितिले तयार पारेको प्रतिवेदन जिल्ला शिक्षा समितिको बैठकपछि सार्वजनिक गरिएको हो । यो घटनापछि अब जिल्लामा कुनै पनि गैरशैक्षिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न शिक्षा समितिले निर्देशन दिएको छ । यस्तै जिल्लाका राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूलेसमेत अब बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् । शैक्षिक कार्यक्रममा पनि अब बालबालिकालाई शिक्षा कार्यालय, अभिभावक र स्वयम् विद्यार्थीको अनुमतिमा मात्र सहभागी गराउनुपर्ने भएको हो । यस्तै सरोकारवालाहरूले विद्यालय शान्ति क्षेत्रलाई पूर्णरूपमा कार्यान्वयन गर्ने र र्यालीमा, जुलुस र सभामा बालबालिकाको प्रयोगलाई रोक्ने जनाएका हुन् । शिक्षा समितिले बिहीवार यहाँका राजनीतिक दल, तिनका भ्रातृ संगठन, शिक्षक संघ–संगठन र शिक्षण संस्थाहरूलाई लिखित प्रतिबद्धता जनाउन लगाएको हो । सरोकारवालाहरूले पनि यो अभियानलाई साथ दिने जनाएका हुन् ।
यस्तै शिक्षा कार्यालयले ज्यान गुमाएकी छात्रा समीक्षाको स्मृतिमा विभिन्न क्रियाकलाप सञ्चालन गर्न उद्योग वाणिज्य संघ र विद्यालयलाई निर्देशन दिएको छ । यस्तै जिल्लाका सबै विद्यालयलाई अनिवार्य रूपमा विद्यार्थीको व्यक्तिगत विवरण राख्नसमेत कार्यालयले निर्देशन दिएको हो । यस्तै कार्यालयको स्वीकृति विना विद्यार्थीको प्रयोग नगर्नसमेत शिक्षा कार्यालयले परिपत्र गरेको छ । यसले आउँदा दिन अप्रिय घटनाहरू दोहोरिन नदिने कार्यालयको अपेक्षा छ । अब जिल्लामा बालबालिकाको प्रयोगमा कडाइ गरिने भन्दै कार्यालयले यसमा साथ दिन आग्रह गरेको हो । समीक्षाका आफन्तले भने आफूहरूले न्याय नपाएको गुनासो गर्दै आएका छन् । सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष धनबहादुर रावतले आफूहरूले नचाहेको घटना हुन पुगेको भन्दै आउँदा दिन शतर्कता अपनाउने प्रतिबद्धता जनाए । साथै समीक्षाका आफन्तको माग अनुसार संघले सक्दो सहयोग गर्ने उनको भनाइ छ । मेलाको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएपछि आयोजकले सहभागिता बढी देखाउन र्यालीमा विद्यार्थीको प्रयोग गरेका थिए । सोही क्रममा धपेडीले गर्दा १३ वर्षीया समीक्षाको बेहोसपछि मृत्यु भएको थियो ।
प्रकाशित मितिः २८ पुष २०७३, बिहीबार २३:४१
साझा बिसौनी ।