प्रदेशको स्वास्थ्य प्रयोगशाला सञ्चालन
सुर्खेत: प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो । उक्त प्रयोगशालाको शुक्रवार सामाजिक विकास मन्त्री टेकराज पछाईंले उद्घाटन गरेका छन् ।
विगतमा प्रयोगशाला नहुँदा कुनैपनि रोगको परीक्षण गर्न प्रदेश बाहिर पठाउनुपर्ने अवस्था थियो । अब भने सुर्खेतमा परीक्षण गर्न सकिने छ । मन्त्री पछाईंले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताए । उनले प्रयोगशाला सञ्चालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै प्रयोगशालालाई अन्वेषण केन्द्रको रूपमा पनि विकसित गर्न लागिने जानकारी दिए ।
प्रयोगशाका निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्य सम्बन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताए । उनले अब अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट हुने उल्लेख गरे । उनका अनुसार अब रोगको परीक्षण गर्न बाहिर जानुपर्ने छैन ।
प्रयोगशालामा नौ जना प्राविधिकहरूको दरबन्दी भएपनि हाल तीन जनाको मात्रै पदपूर्ती भएको छ । ल्याब टेक्निसियन एवम् सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने रोग, संक्रामक रोग, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताए । उनले प्रयोगशालाबाट निदात्मक, अनुसन्धानमूलक र अनुगमनको काम गरिने उल्लेख गरे । दुर्गम तथा पिछडिएको क्षेत्रको जनतामा विश्वसनीय सेवाको पहुँच बढाउन, आफ्नै ठाउँमा सेवा दिएपछि रकम बचत हुने र समयमै रोग पत्ता लागेपछि औषधिको अनुचित प्रयोग रोक्न प्रयोगशालाको कामले सहयोग पुग्ने गिरीले बताए ।
प्रयोगशालामा अन्यत्रभन्दा झन्डै आधा रकममा रगत, दिसा पिसाव, खकारलगायतको परीक्षण हुने जनाइएको छ । सो अवसरमा निवर्तमान सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले प्रयोगशालाको स्तरोन्नतिमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मितिः २० फाल्गुन २०७९, शनिबार ०५:०२
साझा बिसौनी ।