चुली कपको उपाधि रुकुमलाई

सुर्खेत: दोस्रो चुली कप खुला भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ रूकुम–पश्चिम र महिलातर्फको उपाधि एभरेष्ट क्लब बुटवलले जितेका छन् । पुरुषतर्फको फाइनल प्रतिस्पर्धामा आयोजक चुली युवा क्लबलाई पराजित गर्दै रूकुम–पश्चिमले उपाधि हात पारेको हो ।

साविक विजेता चुलीले फाइनल खेलमा पहिलो एक सेट जितेपनि रूकुम–पश्चिमले लगातार तीन सेट जितेर उपाधी उचाल्न सफल भयो । विजेताले ट्रफीसहित नगद दुई लाख २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक क्लबले एक लाख ५० हजार र ट्रफी पायो । यस्तै, तेस्रो भएको सल्यान र चौथो भएको एपीएफ कर्णालीले क्रमशः ७५ हजार र ५० हजार नगद पुरस्कार हात पारेका छन् ।

शुक्रवार नै भएको महिलातर्फको फाइनलमा न्यू डाइमण्ड क्लब काठमाडौंलाई पराजित गर्दै एभरेष्ट क्लब बुटवलले उपाधी जितेको छ । एभरेष्टले नगद एक लाख ५० हजार र ट्रफी पाउँदा उप–विजेतामा चित्त बुझाएको डाइमण्ड क्लब काठमाडौंले नगद ८० हजार र ट्रफी पाएको छ । तेस्रो भएको आयोजक क्लब चुली र चौथो भएको सल्यानले क्रममा ५० हजार र ३० हजार नगदसँगै ट्रफी प्राप्त गरे । चुली कपको दोस्रो संस्करण फागुन ११ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा पुरुषतर्फ देशभरका १६ र महिलातर्फ १२ क्लवले सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः   २० फाल्गुन २०७९, शनिबार ०५:०१