कथा

साइकल

‘ए कान्छा उठ्न हौ कति सुतेको ! च्या सेलाइसको ।’

‘म च्या खाँदिन आमा, पछि एकैखेप भातै खाउँला न ।’

‘उठ भन्दैछु त, बाहिर लाउरे काका आइरनुभैच तेरो साइकल माग्न ।’

लाउरे काकाको नाम सुन्ने बित्तिकै मैले ओछ्यान छोडँे । पानस फुकेर निभाएँ, राति सुत्दा बिर्सेको पो रहेछु । झ्यालको पल्ला बिस्तारै उघारेर हेरेँ, तल ढिकी कटेराको फलैंचामा चकटी ओछ्याइ बसेका रहेछन् लाहुरे । आमाले मगमा दिएको चियासँग बिंडी खाएका लाहुरेले कतिखेर ढिकी नजिक अड्याइएर ताला लगाएकोे मेरो साइकल हेर्थे, कतिखेर मेरो झ्यालमा हेर्थे । झ्यालबाट बाहिर छर्लङ्ग देखिन्थ्यो बाहिरबाट मरिकाटे केही देखिन्थेन, किनकि झ्यालमा जाली लगाइएको थियो । लाहुरेको गतिविधि हेर्दै ऐनमा जुल्फी कोरिरहेँ  । मलाई यसै दिनको प्रतीक्षा थियो ।

बाको पहाडतिर सरुवा भएपछि साइकल नभएर बजार जानू हर्जा हर्जा भयोे । यी लाहुरेसँग एउटा पुरानो पुरानो साइकल थियोे । कसो नदिनन् त ! एक दिन जरुरी काम परेकोले माग्न गएँ । साइकल प्यान्चर पो छ भने त बा । करेसामा गुन्द्री ओढाएर ढाकेको साइकलका टायर पहिल्यै छामिसकेको थिएँ, हावा टन्न थियो । नदिने मनसायले मात्रै पन्चर भनेको कुरा बुझ्न किन आइतवार चाहिन्थ्यो र ! मैले थप जोरबल गर्दै गरिन किन कि पछिसम्म पनि दिएनन् भने मलाई त झन जुलुम हुन्छ । अब समय छोप्नुका लागि सकि नसकी पैदलै दौडिइ भएन ।

बर्बाद भयो । बस भर्खरै छुटेछ, बस त भोलि पनि छुट्ला । तर बाको लुगा किताब र सामान यो झोलामा लगिदिने बाको अफिसका मान्छे त दिनदिनै छुट्दैनन् । बाले के भन्नुहोला ! कति चित्त दुखाउनुहोला ! साह्रै खिन्न भयो मन, पहिला ति लाहुरेसँग र पछि आफैसँग पो बेस्सरी रीस उठ्यो ।

पानीटंकी, खेत खल्यान र बजारतिर जान लाहुरे काकाले हाम्रो बासँग साइकल मागिरहन्थे । मलाई साइकल लिएर बजार जान दिनुहुँदैनथ्यो बाले, भन्नुहुन्थ्यो बजार नलैजानु साइकल अफिसका मान्छेले देखे भने आँखी गर्छन् । तर ती लाहुरेले निश्फिक्री अफिसको साइकल बजारतिर पनि कुदाइ दिन्थे । मेरो बालाई गाल पार्न खोजेको पो होलाकी भन्ने लागेर रिस उठ्थ्यो । बाको साइकल मागिरहने भएर पो म पनि विश्वासले उनीसँग माग्न गएको, दिएनन् त ।
बाको सरुवा भएपछि अफिसको साइकल अफिसतिरै गयो । त्यही साइकलले मलाई सानैमा साइकल चलाउन काबिल बनायो । मैले एसएलसी पास गरिसके पछि पनि साइकल किनिदिने बाले कुनै चासो राख्नुभएन । निकै हैरान भइरहेको थिएँ, मैले एक दिन थर्काएँ आमालाई ।

‘एसएलसी पास भएपछि साइकल किनौंला भन्ने ऐले वास्ता नगर्ने ? भो म पड्दिन कसैको क्याम्पस, अब पुग्यो मलाई पड्नु…।’

‘नपड हौ नपड । मेरो खाँतिर पड्दिन्छस् के ? बडो धक्कु लाउँदोरच । पुग्यो मलाई पड्नु…।’ मेरो झगडा लगेर बालाई झोस्नुभएछ आमाले । बा तातिए पछि तब खेत बेचियो साइकल किन्न । सम्पत्ति फालेर सम्पत्ति जोडियो त के विस्मात भयो ! मैले साइकल किनेपछी हाम्रो गाउँमा आठ वटा पुग्यो साइकल संख्या । होइन होइन, एउटा घटेर उहि सात वटा मात्रै भयो ।

भएको के हो भने, खडेरीमा बजार जान साइकल आँगनमा अड्याएर लाहुरे धूपचस्मा खोज्नभित्र गएछन् । कतैबाट बर्तेको गाई दौड्दै आएर साइकलमा बजारिएछ । साइकल माथि गाई, गाई माथि गोरु र गोरु माथि फेरि अर्को गोरु । साइकलको ढाड करङ सबै सत्यानास् । दशा सबै साइकलमा खनिएछ, अनि ? ठाउँ ठाउँमा भाँचिएको त्यो जखमी नाजुक साइकल टौवामुनी सुतेको छ । त्यसैले त्यो साइकल गन्तीमा गन्नु कि नगन्नु !

‘काकाले ढिलो भइसको भन्नुहुँदैछ । झर्न हौ अल्छी कोइबार त हाम्लाई पनि काम सघाउनुनी । अघिपछि क्यामस जानु ठिक्क, शनिवार बिहानभर सुत्नु ठिक्क ।’ फेरि कराउनुभो आमा ।

‘लुगा लाउनु परेन ? नाङ्गै आउनु त साइकल दिनुलाई ?’

च्याटचुट लुगा लाईओरि मन्त्री झैं भएर लिस्नोबाट ओर्लदै बाहिर गएँ म । मलाई देखेर पुट्ठाको धुलो झार्दै उठे उनी पूर्ण आशामा ।

‘कता आइरनुभैच काका ? केइ काम थ्योकी !’

‘एकखेप बजार जानुपरो, एकछिन ले ले तेरो साइकल ।’

‘ओहो ! साइकल त पन्चर छ नी काका ।’ मुस्काउँदै मैले त्यसो भनेपछि विस्मित आँखाले मलाई एकछिन हेरे ।

‘त्यत्तिकै गफ लाउँछ, लेन हौ चाबी एकछिन ।’

‘म किन गफ लाउँछु काका ? पन्चर छ त कसरी दिनु ।’

‘त्यत्रो हावा छ, प्यान्चर हुन्छ ? बरु दिन्न भन्न ।’

‘होइन हावा छैन, मान्नोस् न काका । मैले कुनै दिन तपाईंको साइकल मागेको थिएँ । तपाईंले पन्चर छ भन्नुभो त्यतिखेर मैले त मानेँ, होइन र ?’

‘ए,कुरा बुझियो । ठीक छ, चाँइदैन साइकल ।’ त्यसो भन्दै धक्कु दिएर जादै गरे उनी ।

‘साइकल पन्चर नहुँदाका बखत माग्न आउनुस् न काका । दिउँला न ।’

प्रकाशित मितिः   २० फाल्गुन २०७९, शनिबार ०५:०४