विकासमा व्यवधान

विकास निर्माणमा ढिलासुस्ती पुरानै समस्या हो । निर्माणअघि र निर्माण सुरु भइसकेपछि पनि विभिन्न बखेडा निम्तिने र आयोजना नै प्रभावित हुने गरेका थुप्रै उदाहरण छन् । जसले गर्दा आयोजनाहरू समयमै सम्पन्न हुँदैनन् । विकासको गति सुस्त हुन्छ । स–साना आयोजनादेखि ठूला विकास आयोजनाहरू यस्तै अनेक अड्चनसँग जुध्दै आएका छन् । कतिपय आयोजनामा सरकारी लापरबाही देखिन्छ भने कतिपयमा निर्माण कम्पनी र ठेकेदारहरूका लापरबाहीका कारण पनि समस्या हुने गरेको छ । कर्णाली प्रदेशमा निर्माण भइरहेका केही ठूला आयोजनामा पनि यस्तै अड्चन देखिएका छन् । प्रदेश गौरव र राष्ट्रिय गौरवका आयोजनामा समेत बखेडा झिक्ने गरिएको छ ।

कर्णाली प्रदेशमा सञ्चालित अधिकांश ठूला विकास योजना कुनै न कुनै अड्चनका कारण प्रभावित बनेका छन् । ३० प्रतिशत काम सम्पन्न भइसकेको प्रदेश रंगशाला निर्माणमा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत नगरिएको भन्दै विवादित बनेको छ । राष्ट्रिय गौरवको भेरी–बबई आयोजनामा पनि विभिन्न समस्या देखा पर्न थालेका छन् । सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम पछिल्लो समय रोकिएको छ । अन्तिम चरणको अन्वेषण अघि बढाउन सरकारले जग्गा अधिग्रहणको समेत स्वीकृति दिइसकेपनि काम भने अघि बढ्न सकेको छैन । चिनिया टोली नेपाल आइपुगेको छैन । त्यसैगरी नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको काम पनि लामो समयदेखि अलपत्र अवस्थामा छ । कामको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले पटक–पटक समय थप्दा पनि लगानी जुटाउन सकेको छैन । सुर्खेतमा चौकुने सिमेन्ट उद्योग स्थापनाको सम्झौता भएको पनि वर्षौं बितिसक्यो । तर काम सुरु हुन सकेको छैन । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन् गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रालिले इजाजत लिएको थियो । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म पनि उत्खनन् कार्य सुरु भएको छैन । ठूलो आयोजनाको रूपमा रहेको सुर्खेत विमानस्थल विस्तार गर्ने योजना पनि अन्ततः असफल भएको छ ।

लामो समयदेखि चर्चामा रहेर निर्माण हुन नसकेका तथा अलपत्र परेका आयोजनाहरूको सूचि लामै छ । पेट्रोलियम् उत्खनन्, माथिल्लो कर्णाली, चौकुने सिमेन्ट वा विमानस्थल विस्तार योजना त प्रतिनिधिमूलक दृष्टान्त मात्रै हुन् । कर्णाली प्रदेशमा वर्षौंदेखि यस्ता थुप्रै ठूला आयोजनाको अध्ययन, निर्माणको सुरुवात र सञ्चालनमा आएर अलपत्र पर्ने गरेका छन् । यसरी विभिन्न अड्चनका कारण विकास निर्माणका काम प्रभावित हुँदा प्रदेशको समृद्धिमा समेत ढिलाइ हुने गरेको छ ।

प्रकाशित मितिः   १९ फाल्गुन २०७९, शुक्रबार ०५:०३