म कर्ण

दिनेश गौतम
म कर्ण,
तपाईंले धेरै नै सुनेको,
तर थोरै पनि नबुझेको,
म कर्ण,
म कुन्तीपुत्र,
म पञ्चपाण्डवको दाजु,
उफ रभै हाल्यो , 
यो भन्नुमा मलाई कुनै गर्व छैन ।
वरु म त यसमा गर्व मान्दछु कि ,
दानवीर भएर कहलाउन पाएकोमा,
दुर्याधनको असल मित्र भएकोमा,
अर्जुनको सदावहार प्रतिस्पर्धी भएकोमा,
र मलाई गंगामा बगिरहेको बेला,
छोपेर, ल्याएर, हुर्काएर,
ठूलो बनाउनेहरूको आफ्नो हुन पाएकोमा ।
म,
एउटा विचलित पात्र कर्ण,
अर्थात्,
जन्मिदै गंगामा बगाइएको मान्छे ,
जन्मिदै अवैध सन्तान बनाइएको मान्छे,
म कसरी हुँर्किए ?
म कसरी फैलिँए ?
मेरा पुर्खाको थिए ? 
मेरो पिताको थिए ?
मेरो माताको थिइन ?
यी सबै मलाई अरुले सुनाएका हुन्,
जुन मलाई मेरी आमाले सुनाउनु पथ्र्याे ।
म कर्ण, 
जसले आफ्नी आमाबाट,
आफ्नो बारेमा केही जान्न पाएन ।
म कर्ण,
जसले आफ्नी आमाको काखमा,
खेल्ने, रम्ने, रमाउने मौका पाएन ।
ल भन्नुस्,
म जस्तो अन्याय भएको पात्र,
को छ र महाभारतमा ? 
म धर्मको सच्चा अनुयायी,
म वचनको सच्चा कबुलकर्ता,
म वीरताको प्रतिक,
म पौरखको बिम्व ,
म साहसको प्रतिमूर्ति,
म प्रतिस्पर्धाको हिमायती 
तर कसरी आज म यस्तो भए ?
मलाई ‘निच’ भनेर हेप्ने 
पाण्डवहरूकै विरुद्ध,
युद्ध लड्नबाट रोक्न खोजेको होइनन् भिष्मले ?
मलाई जन्म दिने अनि गंगामा बगाइदिने,
फेरि प्रायश्चित गर्न खोजेकी होइनन् कुन्तीले ?
मलाई दुर्योधनको बलियो शक्ति मानेर,
हस्तिनापुरको राजा बनाउने,
प्रलोभन देखाएका होइनन् कृष्णले ?
मलाई शंकाको घेरामा राखेर,
मैले सबैभन्दा बढी विश्वास गरेको मित्र भए पनि 
श्रीमतीलाई जासुस गर्न पठाएको होइन दुर्याेधनले ?
मेरो शक्तिको आधार कवच,
एउटा भिक्षुको स्वरूपमा,
दान मागी लगेको होइनन् इन्द्रले ?
म कर्ण 
लिन जानिँन केही,
मात्रै दिएँ सबथोक,
दुर्याेधनलाई साथ,
भिष्मलाई अवसर,
कृष्णलाई दबाब,
कुन्तीलाई सम्मान,
इन्द्रलाई कवच,
 र पाण्डवलाई चुनौती ।
म कर्ण,
सधैं 
दिएँ मात्रै,
मान्छेहरू दानवीर भन्छन् अझैं,
खै त महाभारतले मेरो कुरा बुझेको ? 
म कर्ण, जसलाई अब
 कर्ण हुनुमा गर्व लाग्न छाडेको छ ।
प्रकाशित मितिः   ८ फाल्गुन २०७२, शनिबार १०:३९