‘विवाह प्रेमको सिँढी मात्र होइन’

श्रीमती अनुशासनको आधार र अभिभावक हुन् । बाबुआमाले सन्तानलाई सधैं साथ दिन पाउँदैनन् । पुरुषका लागि आमापछिको अभिभावक श्रीमती नै हुन् । आमाले खासगरी आफ्नो छोरालाई एक किसिमले बुहारीको जिम्मा लगाएर जान्छिन्, व्यवहार र आत्माले, मुखले भनेर होइन । यस अर्थमा श्रीमती श्रीमान्का लागि एक अभिभावक नै हुन् । कोही पनि अनुशासित भएर बस्न कसैलाई आदर, सम्मान गर्नुपर्ने हुन्छ । श्रीमतीसँग डराउनु पनि पर्छ तर, सम्मान र आदरमा । श्रीमतीलाई आदर ग¥यो भनेपछि मात्रै पुरुषको जीवन सार्थक हुन्छ । श्रीमती विनाको पुरुष अनुशासित हुन सक्दैन । भनिन्छ नि जुन घरमा नारीको मान सम्मान गरिएको हुन्छ त्यो घर स्वर्ग जस्तै हुन्छ ।
यस्तै श्रीमतीलाई आदर र सम्मान गर्ने पुरुषमध्ये दुर्गाप्रसाद सापकोटा पनि एक हुन् । उनी श्रीमतीलाई आदर र सम्मान गर्नुपर्छ भन्ने सोचका व्यक्ति हुन् । श्रीमान् श्रीमतीको सम्बन्ध भनेको यस्तो सम्बन्ध हो जुन सम्बन्धले एकअर्काेको दुःख–सुखमा साथ दिनुको साथै विश्वास र भरोसालाई बाँधेर राख्ने गरेको हुन्छ । श्रीमान् जति नै पढे लेखेको होस् वा जाने बुझेको संसार डुलेको होस् तर, जीवनको गोरेटोमा सही र गलत बाटो देखाउने पहिलो अभिभावक श्रीमती नै हुन् । 
पिता पदमलाल सापकोटा र माता मनकुमारी सापकोटाको कोखबाट वि.सं. २०२९ सालमा दैलेखमा जन्मिएका दुर्गाप्रसाद सापकोटाको बाल्यकाल पढाइलेखाइमा नै बित्यो । उनी बाल्यकालमा अलि जिज्ञासु स्वभावका थिए । केही पनि कुराको खोजी नीति गर्ने उनको स्वभाव थियो । उनी बाल्यकालदेखि नै सोच्ने गर्थे कि शिक्षकले सबै कुरा जानेका हुन्छन् । तर, कानुन भने जानेका हुँदैनन् । त्यही सोचका साथ उनी आफ्नो पढाइलाई निरन्तर अगाडि बढाए । उनले भने, ‘मलाई लाग्ने गथ्र्यो, शिक्षकहरूले सबै कुरा जानेका हुन्छन् तर, कानुन जानेका हुँदैनन् त्यही सोचले गर्दा म भविष्यमा कानुन विषय लिएर पढ्ने सोच बनाइसकेको थिएँ ।’ उनी जब एसएलसी पास भए अनि उनको भविष्यको लक्ष्य प्राप्तिको बाटोलाई अँगाल्दै कानुन विषय लिएर पढ्न थाले । कानुन विषय पढेर कानुनका बारेमा जानकारी हासिल गर्ने उनको भविष्यकै लक्ष्य पूरा पनि भयो । अहिले उनी अधिवक्ता र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक विषयमा अध्यापन समेत गराइरहेका छन् ।
उनी पढाइमा नै केन्द्रित थिए । त्यसैबेला घरमा उनको विवाहको कुरा चल्न सुरु भएको थियो । उनको विवाहको कुरा चलाउने उनकै दाइ थिए । उनले भने, ‘मेरो विवाहको कुरा दाइले चलाउनु भएको थियो ।’ उनको विवाहको कुरा चलेको केटी अरु कोही नभएर लक्ष्मीकुमारी कोइराला थिइन् । हुन त लक्ष्मीसँग विवाहको कुरा चल्नुभन्दा अगाडि पनि सापकोटाको भेटघाट र बोलचाल हुन्थ्यो तर, उनीहरू दुवैले विवाह होला भन्ने सोचेका थिएनन् । उनीहरू भन्छन्, ‘हाम्रो भेट पहिला नि हुन्थ्यो बोलचाल पनि हुन्थ्यो तर, विवाह नै हुन्छ भन्ने सोचेका थिएनौं ।’ 
सापकोटाको दाइ शिक्षक र लक्ष्मीको बुबा जिल्ला शिक्षा कार्यालयमा खरिदार भएका कारण दुवैले एकआपसमा सल्लाह गरेर नै घरमा सबैलाई विवाहको कुरा चलाएका थिए । सापकोटाको भान्जी लक्ष्मीको साथी भएकाले पनि दुवैको भेटघाट भइरहन्थ्यो । एक्कासी दुवैको घरमा विवाहको कुरा चलेपछि उनीहरूले पनि सोच्न बाध्य भए । हुन त एकअर्काेमा माया भए पनि व्यक्त गर्न गाह्रो पनि हुने गर्छ । दुवैले एकअर्काेलाई मन पनि पराउँथे । त्यसैमा दुवैको घरपरिवारले नै विवाहको कुरा चलाइदिँदा उनीहरूले नाइ भन्न सकेनन् । उनीहरू भन्छन्, ‘घरबाट विवाहको कुरा चलेकोले र हामी दुवैले पनि एकअर्काेलाई मन पराएकै कारण हाम्रो विवाह भयो ।’ घरपरिवारबाट नै मागेर उनीहरूको वि.सं. २०५७ सालमा विवाह भयो ।
विवाह पछिका दिनमा पराइ घरलाई आफ्नो बनाउनु पक्कै पनि लक्ष्मीको लागि चुनौती नै थियो । एक परिवारबाट छुट्टिएर अर्काे परिवारमा मिसिन जानु र सबैको मन जित्नु लक्ष्मीलाई मात्रै नभएर सायद हरेक छोरीहरूको लागि चुनौती नै हुने गर्छ । त्यही चुनौतीलाई पार गर्दै लक्ष्मीले पनि कर्मघरमा सबैसँग नजिक हुनको लागि धेरै समय लागेन । 
पिता लिलाराम कोइराला र माता यज्ञकुमारी कोइरालाको कोखबाट २०३७ सालमा दैलेखमा जन्मिएकी लक्ष्मी बाल्यकालमा धेरै नबोल्ने शान्त स्वभावकी थिइन् । उनी कम बोल्थिन् । भन्छिन्, ‘बाल्यकालदेखि नै धेरै नबोल्ने म अहिले पनि काम परेपछि मात्र बोल्छु अनावश्यक कुरा गर्दिनँ ।’ विवाह पछिका दिनमा यी जोडीहरूको अहिलेसम्म झगडा भएको छैन । उनीहरू भन्छन्, ‘झगडा त मन र एकअर्काेको भावना नमिलेपछि हुने गर्छ हाम्रो मन र भावना दुवै मिल्छ हामी एकअर्काेको भावनाअनुसार काम गर्ने गर्छाैं त्यसैले हाम्रो अहिलेसम्म झगडा भएको छैन ।’ उनीहरू जसरी एकअर्काेको भावना बुझेर काम गर्छन् एक अर्काेलाई मान सम्मान गर्छन् त्यसरी नै एकअर्कोको बानीको प्रशंसा पनि खुलेर नै गर्छन् । सापकोटालाई लक्ष्मीको प्रायः सबै बानी मनपर्ने गर्छ । लक्ष्मीले अहिलेसम्म सापकोटालाई यसो भएन, त्यसो भएन भनेर भनेकी छैनन् । उनी आफैमा पनि एउटा शिक्षिका भएका कारण बिहान बेलुका घरको काममा र दिउँसोको समयमा विद्यालयमा अध्यापन गराउँदैमा दिन जाने गर्छ । लक्ष्मीलाई पनि सापकोटाको हरेक बानी मनपर्ने गर्छ ।
एउटा कुरा त मान्छे जति धेरै व्यस्त हुन्छ उसलाई कसैको बारेमा आलोचना र टिप्पणी गर्ने फुसर्द हुँदैन । सापकोटा पनि आफै काममा व्यस्त हुने र लक्ष्मी पनि आफ्नै काममा व्यस्त हुने भएकाले पनि उनीहरू बीचमा समझदारी र विश्वास कायम नै छ । उनीहरू भन्छन्, ‘हामी एकअर्काेकालाई सम्मान गर्छाै, त्यसैले पनि हामी बीचमा विश्वास र समझदारी कायम छ ।’ उनीहरूका अनुसार दाम्पत्य जीवन सफल बनाउनको लागि सबैभन्दा पहिला एकअर्काेमा समझदारी र विश्वास कायम गर्न जरुरी छ । एकअर्काेको भावना बुझेर व्यवहार गर्न सकियो भने पनि सम्बन्धलाई दिगोपना दिन सकिन्छ । सापकोटाको अनुसार जीवनसाथी त्यस्तो साथी हो, जुन साथी मृत्युको अन्तिम साससम्म साथ दिन्छिन् । जीवनसाथी एकअर्काेको भरोसा र जीवनको अगाडि बढ्न सक्ने एउटा आधार पनि हो । सुख–दुःखमा साथ दिने, रुँदा र हाँस्दासँगै हुने साथी नै जीवनसाथी हुन् ।
उनीहरूको विचारमा प्रेम र विवाहबीच केही फरक रहेको छ । उनीहरू भन्छन्, ‘प्रेम विवाहको सिँढी होइन ।’ प्रेम भन्ने कुरा जसले जसलाई पनि गर्ने सकिने चिज हो जुन दिगो पनि हुनसक्छ क्षणिक पनि हुनसक्छ । तर विवाह भनेको एउटा सामाजिक बन्धन हो यसलाई हामीले सहजै स्वीकार गरेका हुन्छौं यो नाता मृत्यपयन्तसम्म रहीरहन्छ । उनीहरू थप्छन्, ‘प्रेम एकछिनको लागि पनि गरिन सक्छ यसको कुनै निश्चित सीमा हुँदैन, त्यसैले प्रेम विवाहको सिँढी होइन ।’ उनीहरू नवदम्पत्ती जोडीलाई सम्बन्ध दिगो र स्थापित गराउने उपाय भनेकै विश्वास रहेको बताउँछन् । जब एकअर्काेमा शंका र उपशंका उत्पन्न हुन्छ तब सम्बन्धमा टकराव आउन थाल्छ । त्यसैले एकअर्काेको भावना बुझ्न जरुरी छ ।
प्रकाशित मितिः   ८ फाल्गुन २०७२, शनिबार १०:४३