राजनीतिक अस्थिरता

गत पुस १० गते बनेको सातदलको गठबन्धन दुई महिनामै भत्किएको छ । गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) पनि सोमवार सरकारबाट बाहिरिएको छ । एमालेले पुष्पकमलदाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन पनिफिर्ता लिने निर्णय गरेसँगै पुस १० गते बनेको गठबन्धन भताभुङ्गभएको छ । एमालेले प्रधानमन्त्री प्रचण्डले मुलुकको हित र स्थिरताविपरीत कार्य गरेको आरोप लगाएको छ । एमालेबाटमन्त्री बनेका नेताहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमले माओवादी केन्द्र र एमालेको सत्ता सहयात्रा दुई महिनामै टुँगिएको हो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० को सहमति कायम रहेकाले फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवारलाई मतदिने दाबी गर्दै आएका थिए । आइतवार प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणमा अन्तिम समयमा रोकिदिएपछि आक्रोशित भएको एमालेले २४ घण्टा नबित्दै सरकार छोड्ने निर्णय गरेको हो । एमाले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी थियो । उक्त दलले अर्थ, परराष्ट्रलगायतका मन्त्रालय लिएर सरकारमा गएको थियो ।

१२ फागुनमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) लगायत आठ दलको नयाँ गठबन्धन बनेको छ । नयाँ गठबन्धन बनेपछि पुरानो सत्ता समीकरण भत्किएको छ । अब प्रचण्ड सरकारमा दुई दल मात्र बाँकी छन् भने मन्त्रिपरिषद् सात सदस्यीयमा खुम्चिएको छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएपछि सरकार बनाउन साथ दिएका सांसदको संख्या ७७ मा झरेको छ । राष्ट्रपति चुनावले गठबन्धनमा फेरबदल भएपछि प्रचण्ड सरकार संकटमा परेको छ । पुस ११ गते गठन भएको सरकारलाई प्रचण्डले माघ ३ गते पूर्णता दिएका थिए । नागरिकता विवादमा सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरी दिएपछि गृह मन्त्रालय लामो समयदेखि खाली छ । त्यसको केही दिनपछि माघ २३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कामन्त्रीहरूले राजीनामा दिएका थिए । पुस १० गते बालुवाटारमा भएको सहमति विपरीत माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि फागुन १३ गते राप्रपाले सरकार छाडेको थियो । त्यसको दुई दिनपछि फागुन १५ मा एमालले पनि सरकार छोडेको हो ।

प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेका हुन् । एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको हो । पुस १० गते तीन स्वतन्त्रसहित सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । सत्ता साझेदारले आफूलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ ।

प्रकाशित मितिः   १७ फाल्गुन २०७९, बुधबार ०५:०३