‘विचार मिल्नेसँग एकता गर्छौं’

सुर्खेत: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचार मिल्नेहरूसँग पार्टी एकता गर्न सकिने बताएका छन् । सोमवार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले विचार, सिद्धान्त र मन मिल्नेहरूसँग एकता गरेर जान तयार रहेको बताएका हुन् ।

अहिले आफूहरू आठ दलीय गठबन्धन बनाएर अघि बढेको बताउँदै उनले पार्टी एकताको सन्दर्भमा विचारको आधारमा सहकार्य गर्ने सोच एकीकृत समाजवादीको रहेको बताए । ‘त्यसमा पनि अझै विचार, सिद्धान्त, कार्यशैली मिल्छ भने हामी पार्टी एकताको पक्षमा छौँ,’ नेपालले भने, ‘यदि त्यसो नभएको खण्डमा हामी एकीकृत समाजवादीलाई देशको निर्णायक शक्तिको रूपमा स्थापित गर्न लागिरहेका छौँ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले अहिलेको गठबन्धनले कुन मोड लिने हो अहिले नै यसै भन्न नसकिने तर्क गरे । ‘हामीले अथक प्रयासबाट कांग्रेस नेता रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिको उम्मेदवार खडा गरेका छौँ, हामीले अघि सारेका उम्मेदवार पौडेल नै विजयी हुनुहुन्छ भन्ने आशा छ,’ नेपालले भने । एमाले अध्यक्ष केपी ओलीसँगको वार्ताका विषयमा बोल्दै उनले सुरुमा उनी सकरात्मक देखिए पनि अन्तिममा कुरा नमिलेको बताए । उनले भने, ‘केपीजीले हामीसँग वार्ता गरेपछि २०७५ को दिशामा फर्काउन सकिन्छ कि भनेर पहल थालेका थियौँ तर हुन सकेन ।’ नेपाल सोमवार पार्टी प्रशिक्षणका लागि सुर्खेत आइपुगेका हुन् । उनीसँगै नेता घनश्याम भुषाल पनि आएका छन् ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७९, मंगलवार ०५:०२