पर्यटक तान्दै तातोपानी

जुम्ला: कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने जर्मीगाउँ छेउमा कलकल तिला नदी बगिरहेको छ । नदी किनारमा तातोपानी धारा छ । बिहानको चिसो सिरेठोमा धाराहरूबाट बाफ उडिहेको हुन्छ । एकाबिहानैबाट समसाँझसम्म तातोपानीमा चहलपहल बाक्लै हुन्छ । सुविधा सम्पन्न होटल र लजहरूमा मौसम अनुकूलको पानीले स्नान गर्नेहरूलाई प्राकृतिक रूपमै तातोपानी बगिरहनु नौलो र आश्यर्चको कुरा हो । तर जर्मी गाउँका स्थानीयका लागि यो सामान्य कुरा हो, बरु तातोपानी धाराकै कारण यहाँका स्थानीयले अनेकौं प्रकृतिका मानिससँग भेट्न र धाराको विषयमा प्रकट गर्ने प्रशंसा र गाथा सुन्न पाइरहेका छन् ।

धारामा नुहाउनेहरूको भिडले जर्मीगाउँलाई निकै व्यस्त देखाइरहेको छ । जुम्ला तातोपानी धारा, जहाँ प्राकृतिक तातोपानी अनवरत बगिरहन्छ । यतिबेला तातोपानीमा आन्तरिक र बाह्य पर्यटकको घुँइचो छ । बाथरोग, रागन तथा नसासम्बन्धी रोग सञ्चो हुने विश्वासका साथ दैनिक एक सय जना सम्म पर्यटक पुगिरहेका छन् ।

मंसिरबाट चैतसम्मको कठ्याङ्ग्रिदो जाडोमा तातोपानी धारा पर्यटकले भरिभराउ हुन्छ । बाहिरको माइनस तापमानमा तातोपानीले भने जीउ पोलिरहेको हुन्छ । अहिले दुई वटा धारा र पोखरी विस्तार गरिएको छ । पाँच वटा धारामध्ये तीन धारा महिला र दुई धारा पुरुषका लागि छुट्याइएको छ । फराकिलो प्राङ्गण समेत निर्माण गरिएपछि सहज भएको गुठिचौर–४ का लक्ष्मण सुनारले बताए । तातोपानीले रागन तथा नसासम्बन्धीका रोग सञ्चो हुने विश्वासका साथ कर्णालीका विभिन्न जिल्लाबाट स्थानीयहरू जुम्ला पुग्छन् । कर्णालीको रारा र फोक्सुण्डो पछिको प्रमुख पर्यटकीय गन्तव्यभित्र तातोपानी पनि पर्छ । तातोपानी समुद्र सतहदेखि दुई हजार ६ सय मिटर उचाइमा अवस्थित छ । तातोपानी जुम्ला सदरमुकाम खलङ्गाबाट झन्डै आठ कोष पश्चिममा पर्छ ।

तातोपानीमा राखेपछि चाँदि कालो हुन्छ भने सुन पहेँलो हुन्छ, यो तातोपानीको अर्को विशेषता हो । तातोपानी धाराबाट वार्षिक १४ लाखसम्म आम्दानी हुन्छ । आन्तरिक पर्यटकलाई २० रूपैयाँ, बाह्यलाई ३० र विदेशी पर्यटकलाई एक सय शुल्क लिने गरिएको धारा व्यवश्थापक लालचन्द्र चनराले जानकारी दिए । तातोपानी पुग्ने पर्यटकले यहाँको कला संस्कृती, रहनसहन र जनजीविकाका सवालमा समेत चासो राख्छन् । रारा ताल हुँदै तातोपानी पुग्ने मध्य कोहि गाउँ पुगेर ठाडिभाका र देउडा सुन्छन्, कोहि आफ्नो बाटो लाग्छन् । ‘जुम्ला सडक सञ्जालमा जोडिएपछि तातोपानी धारामा पर्यटक बढिरहेका छन्, धाराकै कारण गाउँमै बसेर आम्दानी भइरहेको छ, होटल राम्रो चलिरहेको, एक दशक अघिसम्म कालापहाड पुग्नुपर्ने बाध्यता थियो, अहिले हाइसुख छ’ स्थानीय सिंह बुढाले भने ।

तातोपानी धारा नजिकै लाछु ज्यूलो छ । बाबा चन्दननाथले यहि ज्यूलोमा परीक्षण गरेर जुम्लामा मार्सीधान खेती विस्तार गरेको इतिहास छ । तातोपानीको लाछु ज्यूलो, तातोपानी धारा, गिडिदह लगाएतका पर्यटकीय स्थलको प्रर्वद्धन गरि रोजगारका अवशर सिर्जना गर्न जोड दिइने तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौंलागाईले बताए ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७९, सोमबार ०५:०१