क्यानको साधारणसभा

सुर्खेत: नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारणसभा सुर्खेतमा सञ्चालन भएको छ । पहिलो पटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमा क्यानको साधारणसभा आयोजना गरिएको जनाइएको छ ।

आइतवार सुरु भएको साधारणसभालाई कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका हुन् । उक्त समारोहमा बोल्दै मुख्यमन्त्री शर्माले खेलकुद क्षेत्रका विकासका लागि सबैको अपनत्व हुनेगरी नीति निर्माण र कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले आगामी योजना निर्माणका क्रममा खेलकुद र क्रिकेट क्षेत्रका लागि प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुँदैछ । यसको पूर्वतयारीका लागि आवश्यक कामकारबाही गरिरहेको मुख्यमन्त्री शर्माले जानकारी दिए । राजनीतिक नेतृत्व परिवर्तनका कारण विकासमा प्रभाव परिरहेको उनको जिकीर थियो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले कर्णालीमा खेल क्षेत्रको पूर्वाधार विकासका लागि दवाव सिर्जना गर्न समेत सुर्खेतमा साधारणसभा राखिएको बताए । कर्णालीको सुर्खेतमा क्रिकेटको ठूलै रंगशाला नभएपनि मैदान मात्रै भएपनि निर्माण गरिदिन मुख्यमन्त्री समक्ष माग प्रस्तुत गरे । उनले आगामी प्रत्येक वर्ष कर्णालीमा क्रिकेटसम्बन्धी राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता जनाए । क्रिकेट खेलमा कर्णाली अझैपनि पछाडि परेको महशुस गर्दै यो साधारणसभाले कर्णालीमा क्रिकेट विकासका लागि पहल गर्न ध्यानकेन्द्रित गराएको उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले बताए ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७९, सोमबार ०५:०२