बालबालिकाको संरक्षणमा जोड

सुर्खेत: बालअधिकारका सवालमा सरोकारवालाहरू ऐक्यवद्ध भएर लाग्नुुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । शनिवार वीरेन्द्रनगरमा आयोजित बालअधिकारसम्बन्धी विद्यमान कानुन र त्यसको कार्यान्वयमा देखिएका कमजोरी विषयक प्रादेशिक कार्यशाला गोष्ठीका सहभागीले यस्तो बताएका हुन् । कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता नरबहादुर खड्काले अधिकांश बालबालिका अहिले पनि शिक्षाबाट वञ्चित हुनुुपरिरहेको भन्दै उनीहरूको अधिकार संरक्षणमा गम्भीर बन्नुपर्ने जनाए । बालबालिकाका सवालमा राज्यले बनाएको नीतिलाई प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने खड्काले बताए । उनले भने, ‘थप आवश्यक देखिएका ऐनहरू निर्माण गरेर बेसहारा बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षाजस्ता सवालमा काम गर्नपर्ने जरुरी छ ।’ बालअधिकार सम्बन्धी थुप्रै कानुन बनेपनि त्यसको परिपालना भने अपेक्षित रूपमा हुन नसकेको उनको भनाइ छ ।

गोष्ठीमा आफ्नो धारणा राख्दै बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशका संयोजक टीकाराम आचार्यले बालबालिकाका समस्या समाधान गर्न हातेमालो आवश्यक रहेको औंल्याए । प्रदेशमा अझै पनि बालविवाह ब्याप्त रहेको तथा बालबालिकाहरू अनेक कारणले असुरक्षित बन्ने गरेको पाइएको भन्दै उनले उनीहरूका सवालमा सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बताए । आचार्यले प्रदेश सरकारले बालबालिकाको संरक्षणमा कमै चासो दिएको समेत बताए । राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश प्रमुुख मानबहादुुर कार्कीले बालबालिकाका सवाललाई मानवअधिकार आयोगले प्राथमिकताका साथ हेरिरहेको दाबी गरे । ‘बालबालिकाका समस्या धेरै छन्,’ उनले भने, ‘सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्न आवश्यक छ ।’ कार्यशाला गोष्ठी पश्चात कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्मालाई सरोकारवालाहरूले बालबालिकाका सवाल समेटेर १४ बुँदे ध्यानाकर्षण–पत्र समेत बुझाएका छन् ।

प्रकाशित मितिः   १४ फाल्गुन २०७९, आईतवार ०५:०३