खर्च प्रर्णाली सुधार

कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनको गति सुधार हुन सकेको छैन । चालु आर्थिक वर्ष २०७९÷०८० को सात महिनामा जम्मा १६ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । माघ मसान्तसम्म चालु र पुँजीगत गरी १६ दशमलव ३३ प्रतिशत बजेट खर्च भएको हो । पुस मसान्तसम्म १३ दशमलव चार प्रतिशत बजेट खर्च गरेकोमा त्यसयताको एक महिनामा झन्डै तीन प्रतिशत मात्रै खर्च बढेको छ । चालु आर्थिक वर्षका लागि कर्णाली सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार रूपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । जसमध्ये साउनदेखि माघ मसान्तसम्म पाँच अर्ब ३२ करोड ५८ लाख ४६ हजार दुुई सय ९१ रूपैयाँ खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ २२ दशमलव २५ प्रतिशत र पुँजीगतमा १२ दशमलव ३२ प्रतिशत बजेट कार्यान्वयन गरिएको हो ।

सात महिनाको अवधिमा विकास बजेट खर्चको अवस्था झनै निराशाजनक छ । विकास बजेट सधैँ न्यून खर्च हुँदै आएको कर्णालीमा चालु आर्थिक वर्षमा पनि खर्च प्रणालीमा सुधार नभएको संकेत देखिएको हो । सबैभन्दा कम बजेट खर्च गर्नेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रहेको छ । प्रदेशमा सबैभन्दा धेरै विकास बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले सात महिनाको अवधिमा विनियोजित बजेटको ११ प्रतिशत पनि खर्च गरेको छैन । मन्त्रालयले चालु र पुँजीगत गरी जम्मा १० दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको हो । विकासे अड्डाका रूपमा हेरिने यो मन्त्रालयको खर्च प्रगतिले नै कर्णालीको पुँजीगत खर्चको अवस्था कमजोर रहेको प्रष्टै देखिएको छ । मन्त्रालयले चालुुगततर्फ ३५ दशमलव ७२ प्रतिशत र पुुँजीगततर्फ १० दशमलव २३ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । हाल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय गाभिएर भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाइएको छ । तर, चालु आर्थिक वर्षको बजेट भने साविककै मन्त्रालयअनुसार छुट्टाछुट्टै कार्यान्वयन भइरहेको छ ।

प्रदेश सरकारले विगतका आर्थिक वर्षहरूमा पनि लक्ष्यअनुसार बजेट कार्यान्वयन गर्न सकेको थिएन । यो वर्षसमेत बजेट कार्यान्वयनको अवस्था निकै सुस्त देखिएको छ । यसरी बर्सेनि बजेट खर्चमा सुस्त हुँदा कर्णालीको आर्थिक समृद्धिको सपना पनि अधुरै रहेको छ । संघीयता कार्यान्वयनको सुरुवाती पाँच वर्षले पर्याप्त उपलब्धि हासिल गर्न सकेको देखिँदैन । यसमा सुधारका लागि प्रदेश सरकारले खर्च प्रर्णालीमा सुधार गर्न जरुरी छ ।

प्रकाशित मितिः   १२ फाल्गुन २०७९, शुक्रबार ०५:०१