नमुना संसद्को अभ्यास
सुर्खेत: कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले शासकीय स्वरूप र त्यसको अभ्यासबारे नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नु आवश्यक रहेको बताएकी छन् । बिहीवार नमुना संसद् अभ्यास प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरूलाई नमुना संसद्को अभ्यास गराउनु सराहनीय काम भएको जनाइन् । सभामुख गुरुङले युवा लक्षित यस्ता गतिविधिले नेतृत्व विकास र शासकीय प्रणाली बुझ्न सहज हुने विश्वास व्यक्त गरिन् । ‘संसदीय क्रियाकलापलगायत राज्य सञ्चालनका महŒवपूर्ण विषयको ज्ञान र सीपबारे नागरिकहरू पनि सुसूचित हुनुपर्छ,’ उनले भनिन्, ‘युवा पुस्तालाई सैद्धान्तिक ज्ञानसँगै नमुना अभ्यासका माध्यमबाट व्यावहारिक पक्षको अनुभव प्राप्त गर्ने अवसर सिर्जना गर्नु प्रशंसनीय कार्य हो ।’ सभामुख गुरुङले यस्ता क्रियाकलाप तथा सिकाइले नयाँ पुस्तालाई दिशा निर्देश गर्नेसमेत बताइन् । भविष्यमा मुलुक सञ्चालनको जिम्मेवारी र नीति निर्माणको तहमा पुग्ने आजका किशोर–किशोरी तथा युवाहरूलाई संसदीय प्रणालीबारे जानकारी हुनुपर्ने उनको भनाइ थियो ।
नमुना संसद् अभ्यास प्रशिक्षक प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगर–१४ गढीमा पाँच दिनसम्म सञ्चालन गरिएको थियो । दलित महिला संघ, राष्ट्रिय युवा परिषद् र प्लान इन्टरनेसनलको सहकार्यमा सञ्चालन गरिएको उक्त प्रशिक्षणमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका गरी झन्डै २० जना युवाहरू सहभागी थिए । प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन सत्र दलित महिला संघ सुर्खेतका अध्यक्ष चम्पा विकको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मितिः १२ फाल्गुन २०७९, शुक्रबार ०५:०१
साझा बिसौनी ।